त्रिभुवन विश्वविद्यालयले अनलाइनबाटै भाइभा लिने
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि शोधपत्रको मौखिक परीक्षा (भाइभा) अनलाइनबाटै लिने निर्णय गरेको छ ।
यो निर्णय तत्काल लागू हुने त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुषालले जानकारी दिए । परिषदले सबै संकाय तथा अध्ययन संस्थाको डिन कार्यालय, विभागहरूमा परिपत्र गरेको छ ।
शिक्षाध्यक्ष भुषालले कोभिड–१९ का कारण जारी बन्दाबन्दीले विद्यार्थी उपस्थित हुन नसक्ने भएकाले भर्चुअल भाइभा लिन सक्ने निर्णय गरेको बताए ।
उक्त परिपत्रमा “लकडाउन अवधिमा त्रिवि अन्तर्गतका क्याम्पस, कलेज, केन्द्रीय विभाग तथा डिन कार्यालयहरू अन्तर्गत संचालनमा रहेका स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहको थेसिस लेखन कार्यको मौखिक परीक्षा (भाइभाभोस) अनलाइनबाट संचालन गर्ने निर्णय भएको छ,” उल्लेख गरिएको छ “स्नातक, स्नातकोत्तर, एमफिल तहको थेसिस लेखनका लागि गर्नुपर्ने पूर्व कार्यहरू प्रपोजल डिफेन्स, प्रि–भाइभाभोस डिफेन्स, सेमिनार गर्न र आवश्यक विभागीय प्रक्रिया पूरा भएको अवस्थामा अन्तिम मौखिक परीक्षा अनलाइनबाट संचालन गर्न स्वीकृति दिने ।”
त्यसैगरी विद्यावारिधि उपाधिका निम्ति केही फरक प्रक्रिया अपनाइने जनाइएको छ । “पीएचडी तहको थेसिसको फाइनल डिफेन्स बाहेक थेसिस लेखनका लागि पूरा गर्नुपर्ने पूर्व कार्यहरू प्रपोजल डिफेन्स, प्रि–भाइभाभोस डिफेन्स तथा सेमिनार आदि कार्य अनलाइनबाट संचालन गर्न अनुमति दिने,” आवश्यक कार्यार्थ पठाइएको परिपत्रमा जनाइएको छ।
शोधार्थीले सम्बन्धित विषयको विभागमा शोध प्रस्ताव पेश गरेसँगै शोध निर्देशक, विभागीय प्रमुख तहतमा रहेर चरणबद्ध लेखन, डिफेन्स भएर अन्तिम भाइभाका निम्ति बुझाएका शोधपत्रलाई यो व्यवस्था गरिएको शिक्षाध्यक्ष भुसालले बताए।
सम्बन्धित विभागले प्राप्त शोधपत्रलाई लिएर बाह्य निरीक्षक नियुक्ति गर्दछ । विश्वविद्यालयले तय गरेको अनलाइन भाइभा प्रक्रियामा शोधार्थी उपस्थित हुनुपर्नेछ । साथसाथै शोध निर्देशक, विभागीय प्रमुख, मुख्यनिर्देशक, आन्तरिक निर्देशक र बाह्य निर्देशक गरी विद्यार्थीसहित बढीमा पाँचजना बीच शोधपत्रको अन्तिम मूल्यांकन (भाइभा)हुनेछ ।
सेमेस्टर प्रणालीअनुसार अन्तिम सेमेस्टरको परीक्षा सकिएको ९० दिनभित्र परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरिसक्नु पर्दछ ।
त्यसैअनुसार विद्यार्थीले हासिल गरेको जीपीएको मूल्यांकन भई प्रतिस्पर्धा योग्य हुनेछ । जीपीए ३ प्राप्त विद्यार्थीले त्रिवि सेवा प्रवेश गर्न पाउनेछन् । यसरी समय सीमाभित्र शैक्षिक योग्यता हासिल विद्यार्थीको विश्वविद्यालयले व्यवस्था गरेको विषयगत मेडलका निम्ति प्रतिस्पर्धा योग्य हुने जनाइएको छ।