थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १५ सय नाघ्यो
नेपालमा कोरोनाभाइरसका थप १६६ जना नयाँ संक्रमित भेटिएका छन्। आइतबार यी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ।
कुल संक्रमितमध्ये पुरुषको संख्या १ हजार ४५० छ भने महिला ११७ जना छन्। पछिल्लो पटक थपिएका संक्रमितमा १६२ पुरुष र ४ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८/१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५/५ जना, झापाका ४ जना, कैलाली र बाजुराका ३/३ जना, स्याङ्जाका २ जना, तनहुँ र मोरङका एक/एक जना तथा सुर्खेतकी चार महीने एक बालिकामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिङमा जानकारी दिए।
हालसम्म उपचारपछि डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ।
अब १ हजार ३३९ जना संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत छन्। जसमध्ये प्रदेश १ मा १३५ जना, प्रदेश २ मा ५१९ जना, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जनाको उपचार भइरहेको छ।