ज्ञानेन्द्रले वीरेन्द्रलाई भनेथे, “के फूर्ति गर्छौ, तिमीभन्दा अगाडि म राजा भएको”
बाबुरामहरुले राजा राख्दिन भनेर चुनाव लडे जित्न सक्दैनन्। राजाको छत्रछायाँमा चुनाव हुनुपर्छ भनेर मैले बाबुरामलाई धरापमा पारेको त्यसैमा त हो नि। राजाले चुनाव नगराइकन ऊ लड्दै । चुनाव लडेर माओवादी मेजरेटी पार्टी बन्छ । देउवा कुरै बुझ्दैन। जे पनि भनिदिन्छ । माओवादीको मागअनुसार संविधानसभा गठन हुन्छ र नयाँ संविधान बन्छ । त्यहीअनुसार चुनाव हुन्छ । देशको नयाँ परिस्थिति र राजदरबार हत्याकाण्डका बीच केही सम्बन्ध छैन।
महेन्द्रले मलाई साह्रै दुःख दिएनन् । उनीसँग मेरो रिलेशन राम्रो थियो । बीचबीचमा उनी जोक गर्थे । सुवर्णशमशेरकी रानीलाई रानी साहेब र मेरी पत्नीलाई मिसेस शाह भन्थे । महेन्द्रको बोली छुच्चो थियो । आफ्नी सासूलाई हरिशमशेरकी स्वास्नी भन्थे । त्यसैले रत्न सधैं रुने गर्थिन् । हरिशमशेरले छापा मार्ने भने, छापा मार्ने भनेको गुरिल्ला लगेर आक्रमण गर्ने हो ।
बीपीले एकपटक मृगेन्द्र शमशेरसँग भेट्ने भनेपछि मैले लिएर गएँ । बीपीलाई किन लिएर गएको भनेर मसँग सुवर्णशमशेर रिसाए । नातामा दुवै कजन पर्छन् । मृगेन्द्रको घरमा जाँदा मृगेन्द्रका श्रीमतीहरु जप गरेर हरेराम गाइरहेका थिए । मातृका त्यतिवेला प्रधानमन्त्री थिए र उनले मृगेन्द्रशमशेरलाई थुनेका थिए । चन्द्रशमशेरका नाति मृगेन्द्रशमशेर कहिल्यै जेल गएका थिएनन् । बीपीले हामीले सकेको गर्छौं भनेर ढाडस दिए ।
टङ्कप्रसादले मसँग तिम्रो साथी यदुनाथ खनाललाई मेरो सेक्रेटरी भइदिन भनिदेऊ न भने । यदुनाथ उनको पर्सनल सेक्रेटरी भएपछि नै लाइटमा आएका हुन् । त्यहींबाट उनको करिअर शुरु भयो । चूडाप्रसादले यदुनाथ खनाललाई इन्डियन एजेन्ट हो भने किनभने यदुनाथले भारतीय राजदूत भगवान सहायका छोरालाई अंग्रेजी पढाउँथे । मेरो पनि अन्त्यमा भगवान सहायसँग झगडा भयो । उनले के भने भने महेन्द्रलाई तिमीले बीपीलाई छोड्दे भन्नु नपर्ने । यो सत्र सालतिरको कुरा हो । मैले मेरो राजालाई किन भन्न नहुने भनें । उनी रिसाए ।
सत्र सालको घटना हुनुभन्दा अघि म अमेरिकाबाट फर्किसकेको थिएँ । बनारसी गुण्डाहरुलाई दिन्न भनेर महेन्द्रले भनेपछि म उहाँकै पछि लागें ।
राजाले नयाँ संविधान चाहियो भने । मैले त्यो बनाएँ । सबैभन्दा लामो समयसम्म चलेको संविधान नै त्यही हो । त्यसमा के लेखेको छ भने राजामा सबै पावर हुन्छ । सात दिनमा संविधान बनाएर दिएँ । मलाई तक्मा दिए । गोर्खा दक्षिणबाहु सेकेन्ड क्लास दिए मैले लाउँदै लाइनँ । म अमेरिकामा राजदूत भएर गएपछि महेन्द्र अमेरिका आउँदा गोर्खा दक्षिणबाहु प्रथम लगाइदिए । मैले त्यो तक्मा पैसाको खाँचो परेको वेलामा बेचिदिएँ ।
राजा महेन्द्रको शासनकालमा म प्रधानमन्त्री बाहेक सबै भएँ । महेन्द्रले मलाई तिमी पल्टनमा मात्र भएनौ भने । विश्वबन्धु छुल्याहा के भन्छ भने “सरकार यो पल्टनमा भए त कू गरिहाल्थ्यो नि ।”
चौध वर्षको उमेरमा म दार्जीलिङबाट फर्किसकेको थिएँ । जुद्ध शमशेरलाई कसैले मैले आर्टस् पढेको हो भनिदिएछ । जुद्धशमशेरले भने, “साइन्स पढेको भए पो आउँथ्यो ।” मैले भनें, “म उल्लू थिएँ । महाराज, निगाहा हुन्छ भने म देहरादून जान्छु मिलिटरी एकेडेमीमा ।”
चौध वर्षको उमेरमा म दार्जीलिङबाट फर्किसकेको थिएँ । जुद्ध शमशेरलाई कसैले मैले आर्टस् पढेको हो भनिदिएछ । जुद्धशमशेरले भने, “साइन्स पढेको भए पो आउँथ्यो ।” मैले भनें, “म उल्लू थिएँ । महाराज, निगाहा हुन्छ भने म देहरादून जान्छु मिलिटरी एकेडेमीमा ।”
इन्द्रबहादुर कर्णेल हजुरिया थिए । उनले मेरो बारेमा सबै कुरा भनिदिएका रहेछन् । जुद्धशमशेरले इन्द्रबहादुर मार्फत मृगेन्द्रशमशेरलाई भनेर मलाई पठाइदिने व्यवस्था मिलाइदिन भने । किन पठाउँथे मृगेन्द्रले, जुद्धशमशेरले छोडेर गइहाले । म गइनँ, बरु मेरो नाताका थीरबम मल्लले देहरादून पढे ।
मलाई रानी रत्नले भन्नुभएको वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर झन्डै मारेका थिए रे ! “के फूर्ति गर्छौ, तिमीभन्दा अगाडि म राजा भएको” भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ ।
सुरजित सिंह मजेठियालाई भारतको राजदूत बनाएर यहाँ पठाइएको थियो । उसैसँग साँठगाँठ गरिकन र उसैको मोटरमा त्रिभुवन भागेका हुन् । अंग्रेजले यो कुरा थाहै पाएनन् । अहिलेको शीतल निवासमा मजेठिया बस्थ्यो । अंग्रेजहरुले यस्तो कुरा चाहेका थिएनन् ।
राणाको समयमा मेरो एउटा कजन बबरशमशेरको चाकडी गर्थे । ट्रान्जिष्टर रेडियोमा त्रिभुवन भागेको कुरा सुनेर उनले बबरशमशेरलाई भनेका रहेछन् ।
विश्वेश्वर र मातृकामा, मातृका कन्जरभेटिभ हो । विश्वेश्वर फर्वार्ड लुकिङ भएको मान्छे । त्रिभुवनलाई त विश्वेश्वरप्रसाद मन पर्नुपर्ने हो । भारतीयहरुले खासगरी चन्द्रेश्वरप्रसाद सिन्हाले बडो दुष्टयाइँपूर्ण रोल खेल्यो । त्रिभुवन र मोहनशमशेरसँग पनि त्यसले पैसा खान्थ्यो । “छोटे कोइराला ऐसा है, बडे कोइराला ऐसा है” भनेर दुवैलाई लडाउने गथ्र्यो ।
विश्वेश्वरप्रसाद गृहमन्त्री हुँदा म र टङ्कप्रसाद गोलघरमा थुनिएका थियौं । हामीलाई विश्वेश्वरले थुनेको । त्यही वेला हो टङ्कप्रसादको खल्तीमा त्रिभुवनले कम्पनी ५० हजार हालिदिएको तिम्रो त एउटा कोटसम्म पनि रहेनछ भनेर ।
बेनीबहादुर कार्कीले भरतशमशेरकी कान्छी स्वास्नी (हाडनाता पर्ने) लाई भगाएको हो, त्यहीभरमा भरतशमशेरले अलिअलि पैसा दिएर राखेको । पछि त ठूलो मान्छे भएर भरतशमशेरलाई कसले टेर्छ भन्छ । अस्ति भर्खर इन्डियन एम्बेसीमा जसको अन्न खाइस् त्यसलाई यसो भन्छस् भनिदिएँ ।
दामोदरशमशेरहरुले केशरजंगहरुलाई भारतबाट बोलाएर फोहरा दरबारमा कम्युनिष्ट पार्टीको अधिवेशन गराए । त्यति वेला काठमाडौंमा सीआईएको रकी स्टेन भन्ने बहिरो मान्छे थियो । उसले सबैले बोलेको कुरा टेपमा रेकर्ड गर्यो । त्यही वेलादेखि नै कम्युनिष्टहरुलाई दरबारले हात लिएको सबै कुरा बाहिर आए । हिक्मतसिंह भण्डारी र तुलसीलाल अमात्य मात्र बचे । यिनीहरु बहिर गएर पार्टीलाई अलिअलि सहयोग गर्न खोजे ।
डा. केशरजंग रायमाझीले पार्टीलाई राजा महेन्द्रकहाँ लगेर बुझाएका हुन् । राजाले सत्र साल पुस १ गते जुन टेकओभर गरे त्योभन्दा प्रोग्रेसिभ कुनै अर्को स्टेप छैन समेत भन्न भ्याए रायमाझीले ।
ज्ञानेन्द्र सरकार र मेरो छोरा साथी हुन् । ज्ञानेन्द्र मेरो छोराभन्दा दुई वर्ष जेठो, दुवैको ग्रह पनि मिल्छ । मेरो छोरा श्रीप्रकाश शाहले ज्ञानेन्द्रको पकेटखर्च जोगाइदिन्थ्यो । ज्ञानेन्द्रले पाउने मासिक दुई सय पहिलो तारिखमै स्वाहा हुने । यो दार्जीलिङको नर्थ प्वाइन्ट स्कूलमा पढ्दाताकाको कुरा हो । मलाई ज्ञानेन्द्र पहिलेदेखि नै मनपथ्र्यो ।
चीलले कुखुरालाई छोपेझैं दिल्ली सम्झौता भएको हो । विश्वेश्वरले विजयशमशेरसँग कुरा गर्न जाऊँ भन्दा मातृकाले विजयशमशेरसँग किन कुरा गर्न जाने भने । जो कुरा नेहरुले भने त्यही अनुसार भयो । अन्तरिम सरकारको खटनपटन उतैबाट मिलाइएको थियो । सीपी सिन्हाले “छोटे कोइराला लडाकू है बडे कोइराला ठीक है” भने ।
विजयशमशेर नेहरुको हजुरिया भएका थिए । विजयशमशेर बिजुलीको करेन्ट लिक भएको पानी तताउने बाथटबमा परेर दिल्लीमै मरे । विजयशमशेरको आफ्नै बहिनीसँग लसपस थियो । मोहनशमशेरले एउटा नेवार ठिटोलाई वाच गर्न राखेका थिए । उसले त्यो कहाँ कतिबेरसम्म बस्यो सबै कुरा मोहनशमशेरलाई भन्ने ।
संविधानसभाको चुनाव गराउन त्रिभुवन त चाहन्थे तर कुनै पार्टीले पनि त्यसबारे गम्भीर चासो देखाएनन् । बँदेलको मासु खाँदा त्रिभुवन यो हृषीकेशको मासु हो भनेर खान्थे । म भरतशमशेरसँग लागें भनेर त्रिभुवन मसँग रिसाएका थिए ।
संविधानसभाको चुनाव गराउन त्रिभुवन त चाहन्थे तर कुनै पार्टीले पनि त्यसबारे गम्भीर चासो देखाएनन् । बँदेलको मासु खाँदा त्रिभुवन यो हृषीकेशको मासु हो भनेर खान्थे । म भरतशमशेरसँग लागें भनेर त्रिभुवन मसँग रिसाएका थिए ।
पद्मशमशेरले मलाई जागिर दिए । मृगेन्द्रशमशेरले खेदे । त्रिभुवनले महावीरशमशेर र मातृकालाई स्वीट्जरल्यान्डमा बोलाउनु भयो । हामीले त्यो रोक्यौं । भगवान सहाय भर्खर आएका थिए । मैले जान दिनु हुँदैन भने । नेहरुलाई भनेर यिनीहरुलाई रोकेर शेरबहादुर मल्ललाई पठाउन लगाएँ । त्रिभुवनलाई नेहरुले ठूलो गुन लगाएकोले नेहरुले भनेको जे पनि मान्थे । महवीर र मातृका गएको भए पूरा इन्डियाको हातमा परिन्थ्यो ।
महेन्द्रले निर्वाचित सरकारलाई जसरी लिए त्यो लिने आँट बुद्धि, क्षमता उनी आफैलाई आएको हो । हामी पनि थियौं पछाडि । टङ्कप्रसाद आचार्य पनि थियो । महेन्द्रको सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउने इरादा थियो । सुवर्ण असल मान्छे हुन् तर आँटी होइनन् ।
महात्मा गान्धीले गरेको ‘भद्र नागरिक अवज्ञा आन्दोलन’ को अवधारणाको सिको गरेर २०१४ सालमा यहाँ पनि त्यस्तै आन्दोलन चलाइएको हो । डिल्लीरमण, केदारमान व्यथित सबभन्दा बढ्ता कराउने । वासु पासा भरतशमशेरलाई कुटेर फेमस भएको । राणाहरुलाई कमजोर पार्न र उनीहरुसँग पावर लिन त्यो आन्दोलन चलाइएको थियो । यद्यपि आन्दोलन २००७ साल पछि भएको थियो ।
२०१५ सालमा महेन्द्रले मलाई चुनाव नलड बरु एकेडेमीको हेड होऊ भने । म अमेरिकाबाट फर्किएर आएपछि चुनाव लडें । पछि त लगेर थुनिहाले ।
बाबुरामहरुले राजा राख्दिन भनेर चुनाव लडे जित्न सक्दैनन् । राजाको छत्रछायाँमा चुनाव हुनुपर्छ भनेर मैले बाबुरामलाई धरापमा पारेको त्यसैमा त हो नि । राजाले चुनाव नगराइकन ऊ लड्दैन । चुनाव लडेर माओवादी मेजरेटी पार्टी बन्छ । देउवा कुरै बुझ्दैन । जे पनि भनिदिन्छ । माओवादीको मागअनुसार संविधानसभा गठन हुन्छ र नयाँ संविधान बन्छ । त्यहीअनुसार चुनाव हुन्छ । देशको नयाँ परिस्थिति र राजदरबार हत्याकाण्डका बीच केही सम्बन्ध छैन ।
सात सालको क्रान्ति क्रान्ति होइन भ्रान्ति थियो । बाहिर अरुलाई देखाउन क्रान्ति भनियो । संविधानसभाको चुनाव हुनुपर्ने त्यत्तिकै टारे । त्रिभुवनले दिएकै संविधानसभा हो । राणा–कांग्रेस संयुक्त सरकारको पतनपछि प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाले पनि संविधानसभाको चुनाव गराउन चाहेनन् । संविधानसभाको चुनाव नहुनुमा भारतको कुनै भूमिका छैन ।
नेरुले त्रिभुवनलाई पक्का संविधान बनाइदिएका थिए । संविधानसभा भनेर, त्यो लागू नै भएन । सबैभन्दा बढी बिगार्नेमा नेपाली र भारतीय ब्यूरोक्र्याट्स नै भए । गोविन्दनारायण त्रिभुवनको पर्सनल सेक्रेटरी र एडभाइजर थिए नेहरुले बनाएर पठाएको ।
लियो ई. रोजलाई सीआईएको एजेन्ट भनेर टङ्कप्रसादले राजा महेन्द्रकहाँ जाहेर गरिकन देशबाट निकाल्ने कुरा गरे । मैले भने यसरी निकाल्ने कुरा ठीक हुँदैन भनें । सीआईएको एजेन्ट हो भने आफ्नो बुद्धिले जान्छ । कीर्तिनिधि विष्ट पनि कुरो बुझ्दैन । हो हो निकाल्नै पर्छ भन्छ ।
नेपालको ठूलो नेता भनेको विश्वेश्वरप्रसाद कोइराला हो । बाहुनको चित्त माखाको पित्त भन्ने नेपाली उखान छ तर उनको चित्त यति ठूलो थियो कि हामीहरु सबै त्यसमा अटायौं । बोलाइकन मलाई पार्टीको जेनरल सेक्रेटरी बनाए, अरु कसैले त्यसरी बोलाएर जिम्मेवारी देलान् त ? अटोबायोग्राफी हेर्नुस् न मेरोबारेमा बडो राम्रो लेखेका छन् ।
नेपालको ठूलो नेता भनेको विश्वेश्वरप्रसाद कोइराला हो । बाहुनको चित्त माखाको पित्त भन्ने नेपाली उखान छ तर उनको चित्त यति ठूलो थियो कि हामीहरु सबै त्यसमा अटायौं । बोलाइकन मलाई पार्टीको जेनरल सेक्रेटरी बनाए, अरु कसैले त्यसरी बोलाएर जिम्मेवारी देलान् त ? अटोबायोग्राफी हेर्नुस् न मेरोबारेमा बडो राम्रो लेखेका छन् ।
तर मैले यो सब भनेको मेरो बारेमा राम्रो लेख्यो भनेर होइन । बीपी कोइराला नेपालका प्रभावशाली नेता हुन् । तैपनि मेरो हिरोज एन्ड बिल्डर्स किताबमा उनलाई राखिनँ। म कन्जरभेटिभ राजभक्त भएर हो कि ?
नेपालीहरुको चेतना र इकोनोमिक स्ट्याण्डर्ड बढ्नुपर्छ । मैले हरेस खाएको छैन । उत्तर र दक्षिणमा साम्राज्य उदाए, अस्ताए तैपनि सदियौंदेखि हामीले आफ्नो स्वतन्त्र अस्तित्व जोगाएर राखेका छौं।
अहिलेलाई बाबुराम जत्तिको अर्को व्यक्ति मैले भेट्टाएको छैन । भारतको रिभ्योल्युसन टोटल नभईकन नेपालमा सामाजिक क्रान्ति हुनै सक्दैन भनेर बाबुरामले भन्दा कुनै पनि इन्डियनले त्यसको जवाफ दिएनन् । बाबुरामले त्यसो भनेको सभामा भारतका मुचुकुन्द दुबे, अनिरुद्र गुप्ता जस्ता दिग्गज उपस्थित थिए ।
(सन् २०१४ मा हिमाल किताबद्वारा प्रकाशित हृषीकेश शाहको आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’मा समावेश आलेख ‘केही व्यक्ति केही प्रसङ्ग’को अंश। पूर्व कूटनीतिज्ञ एवं अर्थमन्त्रीसमेत भएका चर्चित व्यक्तित्व शाहको २०५९ सालमा निधन भयो ।)