भोकै बच्चा बोकेर बम्बैबाट सीमासम्म, तस्वीरमा मुग्लानबाट घर फर्किनेका पीडा
उन्नती चौधरी, कैलाली
दुई–तीन दिन लगाएर भारतका बिभिन्न शहरबाट सीमा नाकासम्म आईपुग्दा आफूले ठाउँठाउँमा बिस्कुट खाए पनि साना बच्चाहरुले खान नमानेर भोकै परेको पीडा पोख्छन्, गौरीफन्टाबाट भित्रिने आमाहरू।
कञ्चनपुरको महेन्द्रनगरकी मनिषा चुनारा दिल्लीबाट दुई दिन लगाएर गौरीफन्टा नाकाहुँदै शनिवार नेपाल आइपुगिन्। कोरोना भाईरस महामारीले रोजगारी र बासस्थानको अनिश्चता बढ्दै गर्दा आफ्नै मुलुक आइपुगेकी मनिषाको मन घर आइपुग्नै लाग्दा खुसीले भरिएको छ ।
परदेश छोडेर आफ्नै भूमि आइपुगेकी मनिषाको मन सीमा कट्दै गर्दा जति खुसी थियो दुई दिनदेखिका भोका बालबच्चाको हालत देखेर भने उती नै चिन्तित पनि ।
बाटोमा कतै खाने बस्ने सुविधा थिएन । जस्तो खाना पाए पनि खानुपर्ने बाध्यताले उनीहरूलाई स्वाद खोज्न दिएन । तर स-साना बालबालिकाले त त्यो कसरी बुझ्छन् र ? उनीहरू दुई दिनसम्म भोकभोकै दिल्लीबाट कैलाली पुगे । "बाटोमा श्रीमान र मैले त खिचडी भात खायौं तर, बच्चाले खानै मानेन हिँडेदेखि भोकै छन्", मनिषाले सुनाइन् ।
यसरी रोजगारीका लागि भारत गएर फर्किदा दु:ख पाउने मनिषाको परिवार एक्लो होइन । मनिषाका जस्तै दैनिक तीनदेखि पाँज हजारसम्मको संख्यामा नेपालीहरु ७ जेठदेखि गौरीफन्टा नाका खुलेपछि मुलुक प्रवेश गरिरहेका छन् ।
महामारीका बेला चौतर्फी बजार बन्द भएपछि र अभावका कारण खाना नपाएर साना बालबच्चाको बिजोग भएको छ ।
बच्चाहरुको भोक, बिस्कुटको भर
भारतका विभिन्न ठाउँबाट २/३ दिन लगाएर गाडीमा आएका बच्चाका आमा आफूहरुले ठाउँठाउँमा बिस्कुट खाए पनि साना बच्चाहरुले खान नमानेर भोकै परेको पीडा पोखे ।
भारतको मुम्बईबाट तीन दिनको कष्टपुर्ण यात्रा गरेर सीमा नाका पुगेकी अछामकी कमला साँउदको यात्रा भोगाई झनै पीडादायी छ । बच्चा बोकेर एक्लै आएकी उनले न त आफ्नो पेट भर्न सकिन न भोको पेटले १० महिनाको बच्चालाई पुग्ने दुधै पुर्याउन सकिन् । "काखमा १० महिनाको बच्चा छ, बाँडेर खाएको खिचडी भातले मेरै पेट भरिएन, बच्चालाई पुग्ने दुध पनि आएन । अरु खुवाउने कुरा पनि केही थिएन", उनले बताईन् ।
अछामको बान्नीगढी नगरपालिका हो, कमलाको गन्तव्य । गाडीमा गइन् भने घर पुग्न अझै २४ घण्टा लाग्नेछ । तर, न आफू र बच्चाका लागि खाने खाना छ, न त छ पैसा नै ।
"घर पुगिन्छ कि पुगिँदैन थाहा छैन । अरु बेला तीनहजार रूपैँया भाडा तिरे घर पुगिन्थ्यो, अहिले आठ हजार तिर्नुपरेको छ", कमला अनिश्चितता व्यक्त गर्दैछिन् ।
कमलासंगै नाकामा भेटिएकी राधा साउँदको पनि काखमा डेढ वर्षको बच्चा छ । लामो समयदेखि श्रीमानसँगै भारतमा बसिरहेका उनीहरू कोरोनाभाईरस महामारीकै कारण परिवारै घर फर्किएका हुन् ।
“बाटोमा खिचडी भात पिरो भएर बच्चाले खाएन, बिस्कुट र पानी खुवाएँ ” राधाले सुनाइन् । खेतीपातीको काम सकिएपछि श्रीमानश्रीमती नै कमाउन भारत गएका उनीहरू तीनदिन लामो गाडीको यात्राबाट नाकामा आइपुगेका हुन् ।
भारतबाट यसरी आइपुगेका एक दुई जना भोका बच्चा भएका आमाहरूको लाइन गौरीफन्टा नाकामा दिनदिनै थपिइरहेको छ । दुई तीन दिनको गाडीको यात्रा, भीडभाड, कोरोनाको त्राससँगै चर्को गर्मीले थकित र कतिपय बिरामी भइसकेका छन् ।
गौरीफन्टा नाका खुलेको १० दिनमा दैनिक तीनदेखि पाँच हजार जना नेपालीहरू भारतबाट यो नाका भएर भित्रिरहेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले ठ्याक्कै तथ्यांक नरहे पनि भारतबाट नेपाल प्रवेश गर्नेहरुमा करिब ३० प्रतिशत महिलाहरू रहेको बताए ।
उनीहरु कतिपय श्रीमान् र बच्चासँगै हुन्छन् भने केही सानो बच्चा बोकेर एक्लै समेत आइरहेका छन् । नेपाल आउनेहरू अधिकांश सुदूरपश्चिम प्रदेशका छन् भने केही कर्णाली र अन्य प्रदेशका पनि छन् ।
कोरोनाभाईरसबाट बच्नको लागि मुलुकमा बन्दाबन्दी भएपछि सीमानाका बन्द गरिएको थियो । बन्दाबन्दीका कारण भारतमा नेपालीको विजोग भएपछि पछिल्लो पटक ७ जेठदेखि नियमित रुपले गौरीफन्टा नाका खुल्ला गरिएको छ ।
नाकामा आइपुगेकालाई कैलालीका उद्योगी व्यवसायीहरूले निःशुल्क खाना खुवाउने गरेका छन् ।
तस्वीरमा गौरीफन्टा नाका भएर घर फर्किरहेकाहरू: