बन्दाबन्दीका कारण औषधिको माग ५० प्रतिशतले घट्यो
मुलुकमा कोरोनाभाइरसको संक्रमणपछि सरकारले बन्दाबन्दी गर्ने निर्णय गरेपछि औषधिको माग ५० प्रतिशतले घटेको छ । नेपाली औषधि उत्पादकहरूले औषधिको माग ५० प्रतिशतले घटेको बताएका हुन्।
हिमालखबरसँग कुरा गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा औषधि व्यवसायी दीपकप्रसाद दाहालले बन्दाबन्दीका कारण घरभित्रै बस्ने परिपाटी र यातायातका साधन नचलेका कारण औषधि सेवन गर्ने क्रम घटेको बताए।
औषधि व्यवसायी दाहालले बाहिरी वातावरणमा जान नपरेका कारण, प्रदूषण घटेका कारण र रोग नलागेका कारण पनि औषधि सेवन गर्नुपर्ने बाध्यता नभएकाले पनि माग घटेको हुन सक्ने बताए।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल अस्पतालको बहिरंग सेवा बन्द भएका कारण औषधी माग कम भएको हुन सक्ने आंकलन गरे ।
नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारिका अनुुसार बन्दाबन्दीका कारण अस्पताल जाने बिरामीहरुको संख्या ७५ प्रतिशतले घटेको छ । डा. अधिकारी सेवा लिने २५ प्रतिशतमा अधिकांश स्त्री तथा प्रसुती रोग र आपत्कालिन शल्यक्रिया गर्नेहरू छन् ।
भारतमा हालसालै भएको एक अनुसन्धानले बन्दाबन्दीका कारण अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा औषधीको बिक्रि घटेको देखाएको छ ।
उक्त अनुसन्धानका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको अप्रिल महिनामा एन्टीबायोटिक औषधिको बिक्रि ३८ प्रतिशतले घटेको छ ।
स्त्री तथा प्रसूती रोगसम्बन्धी २५.५, छालासम्बन्धी रोगका २३, पेटसम्बन्धी रोगका १५.८, दुखाई कम गर्ने, २१.६ प्रतिशत औषधीको बिक्रि घटेको अनुसन्धानले देखाएको छ ।
तर नेपालमा बन्दाबन्दीपछि पहिलेको तुलनामा यो भन्दा पनि कम औषधीको बिक्रि भएको औषधी व्यावसायी दाहाल बताउँछन् । उनका अनुसार मुटु र मधुमेह जस्ता दिर्घ रोगका औषधी अरु औषधीको तुलनामा केही बढी बिक्रि भइरहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार माग कम भए पनि औषधी आयातमा भने कमी आएको देखिदैन । १ साउन २०७६ देखि गएको बैशासम्मको १० महिनाको अवधीमा विदेशबाट २३ अर्ब ९६ करोड मुल्य बराबरका औषधीजन्य पदार्थ नेपाल आएको भएको विभागको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षको १० महिनाको अवधीमा २५ अर्ब ३१ करोडको औषधी आयात भएको थियो ।
भारतीय भन्सार कार्यालयको तथ्यांक अनुसार गएको मार्च महिनामा भारतबाट ८९ करोड र अप्रिल महिनामा ७६ करोड भारतीय रुपैँयाका तयारी औषधी नोपल आयात भएको थियो ।
विदेशबाट औषधी बनाउन चाहिने कच्चा पदार्थ पर्याप्त आयातमा खासै कमी नदेखिए पनि नेपाली बजारमा माग कम भएका कारण उत्पादन घटेको छ ।
नेपाल औषधी व्यावसायी संघको तथ्यांक अनुसार लकडाउन शुरु भएपछि अन्य समयको तुलनामा २५ देखि ३० प्रतिशत औषधी मात्र उत्पादन भइरहेको छ ।