बालबालिकालाई अनलाइन शिक्षाको बोझ
बच्चालाई स्वस्थ भएर बाँच्नको लागि प्रेरित गर्ने वेलामा हामी साना नानीलाई केही निजी विद्यालयको लोभको शिकार बनाउँदैछौं । मानसिक र शारीरिक स्वस्थ नभए विद्यालयमा जति सिके पनि जीवनको के अर्थ?
“मुमा म त तपाईंसँगै पढ्छु, यो अनलाइन–सनलाइन पढ्दिनँ, के भन्छ–भन्छ बुझ्दा त बुझ्दिनँ ।” घर नजिकैको एउटा निजी विद्यालयमा ४ कक्षामा अध्ययनरत १० वर्षीय बालकको अनलाइन कक्षाको पहिलो दिनको अनुभव हो, यो । बच्चाले ‘अनलाइनमा पढ्न मलाई गाह्रो भयो’ भन्न सकेन । ‘बुझ्दिनँ’ मात्र भन्यो।
कर गरेपछि अनलाइन कक्षामा बल्लतल्ल पढ्न त थाल्यो तर शुरूको दिनमा ४५ मिनेटको एउटै कक्षाबाट थाक्यो । बिहान ९ः३० बजेदेखि १२ः१५ सम्म चारवटा विषयको अनलाइन कक्षामा घरका सदस्यले समय मिलाएर बच्चासँग बसे पनि उसलाई सहज भइरहेको थिएन।
अहिले केही निजी विद्यालयले २ र ३ कक्षाका लागि बिहान ९ देखि ११ः५० सम्म र ६ कक्षामाथिका लागि दिउँसो १२ः३० देखि ३ बजेसम्म अनलाइन कक्षा शुरू गरेका छन्। शिक्षाविद् र वैज्ञानिकहरूले साना नानीलाई धेरैबेर स्क्रिनमा हेर्दा समस्या पर्ने बताइरहेका छन्। हामीचाहिं अनलाइनको रटान लगाएर बालबालिकालाई अस्वस्थ बनाउँदैछौं।
शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयले पनि माथिल्लो कक्षाका विद्यार्थीका लागि अनलाइन कक्षा शुरू गरेका छन् । विराटनगरस्थित श्री सत्यनारायण उच्च माविमा ९ कक्षामा अध्ययनरत विवेक लामा केही दिनदेखि अनलाइन कक्षाबाटै पढिरहेका छन् । उक्त विद्यालयले प्रावि तहका विद्यार्थीलाई भने समेट्न सकेको छैन ।
के कर्णाली, सर्लाही, सप्तरी वा अछामका विद्यार्थीले त्यसरी नै पढ्न पाउँछन् ? विद्यार्थीका लागि अनलाइन कक्षा ‘नहुनुभन्दा काम चलाउन ठीक’ जस्तो देखिए पनि यसको प्रभावकारिता र दूरगामी परिणाम राम्रो नहुन सक्छ । सञ्चारका सुविधा पुगेको र हुनेखाने वर्गका विद्यार्थीको अनलाइन कक्षामा पहुँच छ । तर बहुसंख्यक अभिभावकका लागि अनलाइन कक्षा ‘आकाशको फल आँखा तरी मर’ भएको छ।
याे पनि हेर्नुहाेस्– अनलाइन शिक्षामा रोक : क्रान्तिकारी सरकारको थोत्रो बुद्धि
बन्दाबन्दी शुरू भएको डेढ महीनापछि विराटनगर महानगरपालिकाका कतिपय निजी विद्यालयले अनलाइन कक्षा शुरू गरे । तिनले २५ प्रतिशत विद्यार्थी मात्र समेट्न सकेका छन् । अब बहुसंख्यक विद्यार्थीले के गर्ने?
मोबाइलमा सबै अभिभावकले इन्टरनेट जोड्न सक्दैनन् । काम पर्दा डाटा किनेर काम चलाउनेहरूले छोराछोरीलाई अनलाइन कक्षामा सहभागी गराउन मुश्किल छ । त्यसैले अनलाइन कक्षा जरूरी र फाइदा पनि छैन।
बन्दाबन्दी शुरू भएको डेढ महीनापछि विराटनगर महानगरपालिकाका कतिपय निजी विद्यालयले अनलाइन कक्षा शुरू गरे । तिनले २५ प्रतिशत विद्यार्थी मात्र समेट्न सकेका छन् । अब बहुसंख्यक विद्यार्थीले के गर्ने ? सरकारी विद्यालयमा पढ्ने कतिपय विद्यार्थीका अभिभावकलाई त अनलाइनमार्फत दिइने शिक्षाबारे थाहै छैन।
निजी विद्यालयका विद्यार्थीका लागि अनलाइन कक्षा शुरूमा त रमाइलो होला । तर, पछि हाउगुजी बन्ने निश्चित छ । अनि अनलाइन कक्षामा विद्यार्थीको सहभागिता कम हुँदै जान्छ । यसले सामाजिक क्षति बढाउँछ । बालबालिकालाई पनि बिरामी गराउँछ।
एकोहोरो मोबाइल र टिभी हेर्दा आँखामा मात्र हैन समग्र स्वास्थ्यमै नकारात्मक प्रभाव पर्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । बन्दाबन्दीमा दिनमा एक–दुई घन्टा टिभी हेरेर समय बिताउने धेरैजसो विद्यार्थीले अनलाइन कक्षामा समेत गरी दैनिक चारदेखि पाँच घन्टा मोबाइल वा टिभी हेर्दा स्वास्थ्यमा समस्या पर्न सक्नेबारे किन कसैले सोच्दैन ? आइतबारदेखि शुक्रबारसम्म दैनिक लगातार अढाइदेखि तीन घन्टाको अनलाइन कक्षा विद्यालयका विद्यार्थीका लागि वैज्ञानिक होइन।
नौलो प्रविधिमार्फत शुरू भएको वैकल्पिक शिक्षाको यो अवधारणा विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई भने ठीक होला । तर, निजी विद्यालय, केही ठूला र सामुदायिक विद्यालयका लागि व्ययभार मात्र बढ्छ । विद्यार्थी भने अलमलमा पर्छन् । सबै विद्यार्थीको समान पहँुच नहुने भन्दै पोखरा महानगरपालिकाले त अनलाइन कक्षा बन्द गराएको छ ।
यूरोप र अमेरिकाको ‘अनलाइन’ को नक्कल गर्नेले नेपालको यथार्थ बिर्सेका छन् । गाउँघरमा खेतबारीमा काम गर्नुपर्ने अभिभावक र विद्यार्थीले कहिले, कसरी अनलाइन, टिभीबाट सिक्ने ? त्यसैले त यो नौलो प्रविधि निजी स्कूलको लागि पैसा दोहन गर्ने उपाय मात्र भएको धेरैको बुझाइ छ।
केही शैक्षिक संस्थासँग समन्वय र सहकार्य गरी स्थानीय मकालु टेलिभिजनमार्फत माथिल्लो कक्षाका लागि दिउँसो ११ बजेदेखि साढे एक बजेसम्म कक्षा सञ्चालन गरेको थियो । अहिले त्यो पनि बन्द छ । त्यो पनि वैज्ञानिक उपाय होइन । टिभी र बत्ती नभएका विद्यार्थीलाई त्यसले पनि समेट्दैन।
यूरोप र अमेरिकाको ‘अनलाइन’ को नक्कल गर्नेले नेपालको यथार्थ बिर्सेका छन् । गाउँघरमा खेतबारीमा काम गर्नुपर्ने अभिभावक र विद्यार्थीले कहिले, कसरी अनलाइन, टिभीबाट सिक्ने ? त्यसैले त यो नौलो प्रविधि निजी स्कूलको लागि पैसा दोहन गर्ने उपाय मात्र भएको धेरैको बुझाइ छ।
भारतमा अनलाइन कक्षाको नकारात्मक पक्षबारे अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूबीच बृहत् रूपमा बहस भएको छ । हामीकहाँ चाहिं बहस नभएर नक्कलकै लागि आधारभूत तहका विद्यार्थीलाई पनि अनलाइनतर्फ धकेलिरहेका छौं । यो यथार्थ बिर्सिएर कतिपय निजी र केही सामुदायिक विद्यालय समेत ‘जसरी भए पनि अनलाइन पढाउने’ प्रयास गर्दैछन्।
शिक्षा भनेको केवल किताबमा मात्र हुँदैन । खेत–कान्ला, रूख–बिरुवा, सूर्य–चन्द्र, वातावरण आदि बारे जान्नु पनि शिक्षा हो । यो विषय अनलाइन शिक्षाको रटान लगाइरहेकाहरूले बुझ्नुपर्छ । स्वस्थकर खाना कसरी पकाउने, खाना कसरी सुरक्षित राख्ने, दूधबाट दही कसरी बनाउने, टुसा उमारेका क्वाँटी कसरी बनाउने आदि विषय व्यावहारिक र जीवनोपयोगी शिक्षा हुन् । यस्तो शिक्षाले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छन् । जीवन रहे र स्वस्थ भइरहे विद्यालयको औपचारिक शिक्षा नै भइहाल्छ नि!
याे पनि हेर्नुहाेस्– अनलाइन कक्षामा त्रिविकाे नियम: अनिवार्य हाजिर र औपचारिक पोशाक !