सुचारु हुने भए प्रिमियर लिग र सिरि ए
कोरोनाभाइरस संक्रमणका कारण रोकिएका इङ्लिस प्रिमियर लिग र इटालियन सिरि ए क्रमशः जुन दोस्रो र तेस्रो साताबाट सुचारु हुने भएका छन् । यसअघि नै जर्मनीको बुन्डेस लिगा सुचारु भइसकेको छ ।
दुवै लिग दर्शकन नराखी खाली रंगशालामा खेलाइने छ । बुन्डेस लिगा पनि अहिले खाली रंगशालामा नै खेलाइरहिएको छ । खेल सुचारु गर्ने निर्णय बेलायतको सरकारले भने अनुमोदन गर्न बाँकी छ ।
बेलायतको इङ्लिस प्रिमियर लिग १७ जुनदेखि सुचारु हुनेछ । उक्त दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ।
लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। लिगको शीर्ष स्थानमा लिभरपुल छ ।
इटालियन सिरि ए भने २० जुनदेखि सुचारू हुने त्यहाँका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले घोषणा गरेका छन् । सिरि ए गत ९ मार्चदेखि अनिश्चिकतकालका लागि रोकिएको थियो।
लिग २० अगष्टसम्ममा सक्ने तयारी छ । लिगमा अझै १२ राउन्डका खेल बाँकी छन्। यो सिजन युभेन्ट्सले अग्रता लिइरहेको छ।