दुर्गम क्षेत्रमा उडान भर्ने महत्वाकांक्षी योजना बनाउँदै बुद्ध एअर
बन्दाबन्दीपछिको वर्ष दिनभित्रै आन्तरिक र बाह्य पर्यटन बढ्ने विश्वास लिएको बुद्ध एअरले तीन वर्षभित्र अहिले विमान सेवा नपुगेका दुर्गम भेगमा उडान भर्ने महत्वाकांक्षी योजना बनाइरहेको छ ।
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एअरले दुर्गम क्षेत्रका विमानस्थलमा सेवा दिन नयाँ जहाज ल्याउने भएको छ ।
विश्वभर कोभिड—१९ महामारी संक्रमण फैलिएर पर्यटन क्षेत्र थलिए पनि बुद्ध एअरले भने अहिले बन्दाबन्दीकै समयमा आगामी तीन वर्षको अवस्था दृष्टिगत गर्दै आवश्यक रणनीति बनाइरहेको छ । बुद्ध एअरले करीब रु.४ अर्ब लगानीमा पहाडी क्षेत्रका विमानस्थलमा सेवा दिने गरी तीन वटा जहाज थप गर्ने योजना अगाडि सारेको छ।
बुद्धले हाल १३ वटा जहाजमार्फत शहरी क्षेत्रका विमानस्थलमा मात्रै उडान गरिरहेको छ । “कोरोनाको त्रास सधैं रहिरहँदैन । त्यसैले हामी तीन वर्षपछिको बजारलाई दृष्टिगत गरेर जहाज थप गर्ने र दुर्गम क्षेत्रमा उडान भर्ने तयारीमा छौं”, बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन्।
बुद्धले पहाडी क्षेत्रका लुक्ला, जोमसोम, जुम्ला, दाङ, ताप्लेजुङ, बैतडी र सिमकोटमा सेवा दिने खालका जहाज ल्याउने तयारी गरिरहेको छ । यसका लागि अमेरिकी कम्पनी टेक्स्ट्रन एभिएसन इंकको सेस्ना स्काईकुरियर नामक १८ सिट क्षमताको जहाज ल्याउने विषयमा आवश्यक गृहकार्यमा एअरलाइन्स जुटिसकेको छ । बुद्धले पहाडी क्षेत्रका विमानस्थलमा यात्रु तथा कार्गो उडानका लागि यो जहाज उपयोगी हुने विश्वास लिएको छ।
यो जहाज भर्खरै निर्माण भएर परीक्षण भएको हुँदा व्यावसायिक बिक्री गर्न केही समय लाग्ने भएकोले नेपालमा तीन वर्षपछि मात्रै आइपुग्ने बस्नेत बताउँछन् । उनका अनुसार, यो जहाजलाई सन् २०२० को अन्त्यसम्ममा मात्रै अमेरिकी संस्था फेडरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए)ले प्रमाणीकरण गर्नेछ ।
“सेस्नाले लुक्ला विमानस्थल उडान गर्न सक्यो भने नेपालका सबै दुर्गम क्षेत्रका विमानस्थलको लागि उपयुक्त हुन्छ । यदि यसो भयो भने पहिलो चरणमा नै सेस्ना ल्याएर पहाडी क्षेत्रमा उडान भर्ने योजना छ”, बस्नेत भन्छन्। लुक्ला विमानस्थलमा उडान परीक्षण प्रमाणित भएपछि बुद्धले सन् २०२१ को तेस्रो त्रैमाससम्ममा तीन वटा स्काई कुरियरहरूको जहाज ल्याउने पनि बस्नेतले जानकारी दिए ।
नेपाली सेनाले उडानमा प्रयोग गरिरहेको स्काई ट्रक क्षमताकै यो सेस्ना जहाजको कार्गो क्षमता मात्रै ६ हजार केजी छ । बिचक्राफ्ट कम्पनी खरीद गरेको सेस्नाले नयाँ प्रविधि प्रयोग गरेर नयाँ जहाज बनाइरहेको छ । यो जहाज रात्रिको समयमा पनि उडान अनुकूल मानिन्छ ।
बुद्ध एअरले दुर्गम क्षेत्रको उडानका लागि २२ असोज २०७६ मा सफल परीक्षण भएको युरोपेली कम्पनीको एटीआर ४२—६०० एस नामक स्टल जहाज खरीदबारे पनि योजना बनाइरहेको छ । एकैपटक धेरै यात्रु बोकेर दुर्गम क्षेत्रका विमानस्थलमा जान सक्ने एटीआरको ४८ सिट क्षमताको यो जहाज ल्याउन कम्पनी इच्छुक छ । छोटो दूरीको उडान तथा अवतरण (स्टल) जहाज भए पनि नेपाली बजारमा आउन चार वर्ष लाग्ने भएकाले त्यतिवेलासम्म नेपालका केही विमानस्थलको क्षमता विस्तार गर्ने हो भने एटीआर ४२—६०० जहाज पनि विकल्प बन्न सक्ने बस्नेतको तर्क छ ।
नयाँ एटीआर ल्याउँदा एकैपटकमा धेरै यात्रु बोक्न सक्ने भएकाले सस्तोमा सेवा दिन सकिने र कम्पनी पनि धान्न सकिने बस्नेतको बुझाइ छ । नयाँ एटीआरका लागि पनि बुद्धले जोमसोम, जुम्ला, दाङ र ताप्लेजुङका विमानस्थलकोे स्थलगत अध्ययन गरिसकेको छ । यी बाहेक बैतडी र सिमकोट पनि उपयुक्त हुने देखिएको छ । तर, यसका लागि सरकारले ४०० मिटरसम्मको धावनमार्ग विस्तार गर्नुपर्ने, विमानस्थलको क्षमता वृद्धि गर्नुपर्ने कम्पनीको सुझाव छ।
सहयोगका लागि सरकार तयार: मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निजी क्षेत्रका वायुसेवाले सुविधा दिने हो भने सरकार सबैखाले वातावरण बनाउन तयार रहेको बताउँछन् ।
मन्त्री भट्टराई विमानस्थल विस्तार गरेर, क्षमता बढाएर वा अन्य सेवा–सुविधा दिएर निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने सरकारको नीति नै भएको बताउँछन् । बजेटमा पनि विमानस्थललाई प्राथमिकता दिंदै सरकार अगाडि बढेको उनको दाबी छ।
“दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सरकारको प्राथमिकतामा छ । यसलाई प्रवद्र्धन गर्न सरकार विमानस्थल गुरुयोजनासहित नै अघि बढेको छ । आवश्यकता अनुसार थप कार्ययोजना अघि सार्नेछ”, मन्त्री भट्टराई भन्छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल पनि देशैभरका विमानस्थललाई आवश्यकताका आधारमा विस्तार गर्दै जाने सरकारको योजना रहेको बताउँछन् । एटीआर ४२—६०० नामको जहाज स्टलमा चलाउन सकिने विषयमा निजी वायुसेवाले चासो देखाएकाले विमानस्थलको धावनमार्ग लम्ब्याउने र आवश्यकता अनुसार क्षमता विस्तार गर्दै जाने पोखरेलको भनाइ छ।
जोमसोम, जुम्ला, सिमकोटसहितका विमानस्थलको अध्ययन गरेर आवश्यकता अनुसार धावनमार्ग बढाउन सकिने विषयमा प्राधिकरण आफैंले पनि गृहकार्य गरिरहेको छ । यसका साथै तराईमा रहेका विमानस्थललाई विस्तार गर्ने र विमानस्थलका लागि तोकिएका सबै मापदण्ड पूरा गर्ने जस्ता विषय प्राधिकरणको गुरुयोजनामा परेका छन् । कोरोना नियन्त्रणपछि गुरुयोजना अनुसार नै विमानस्थलको विस्तार गरिने प्राधिकरणको कार्यतालिका छ।
यतिवेला सबै प्रदेशमा सुविधासम्पन्न र स्तरीय विमानस्थल बनाउने योजनामा प्राधिकरण लागेको छ । हवाई यात्रुको दर बढिरहेको, हवाई सेवा सुरक्षित, सस्तो र सहज भइरहेको अवस्थामा विमानस्थल लगायतका सेवा स्तरीय बनाउनेमा ध्यान दिएको प्राधिकरणको दाबी छ ।
अहिले अन्तर्राष्ट्रियमा पोखरा र भैरहवा विमानस्थल निर्माणसम्पन्न हुने क्रममा छन् । अब विस्तार गर्नुुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो र नयाँ निर्माण गर्नुपर्ने निजगढ विमानस्थल।
इन्धनमा सहुलियत दिए उडान सस्तो हुने
हवाई इन्धनको मूल्य अधिक महँगो भएकोले सरकारले शुल्क घटाउनुपर्ने माग आन्तरिक वायुसेवा सञ्चालकहरूले गर्दै आएका छन् ।
इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटिरहे पनि नेपालमा भने महँगो हुँदा जहाज भाडा पनि बढी भएको वायुसेवा सञ्चालक संघको भनाइ छ । संघका अनुसार, वायुसेवाको कुल खर्चमा ३५ देखि ४० प्रतिशत त इन्धनमै सकिन्छ ।
गएको ३ जेठ २०७७ बाट लागू भएको हवाई इन्धनको मूल्य भारतको नयाँदिल्लीमा प्रतिलिटर भारु.२१, कलकत्तामा २६, मुम्बईमा २० र चेन्नाइमा २२ छ भने नेपालमा चाहिँ रु.७५ छ ।
बन्दाबन्दी लगत्तै शुरू हुने आन्तरिक वायुसेवाका लागि इन्धन शुल्क घटाउने हो भने यात्रुलाई राहत पुग्ने र कम्पनीलाई पनि सहज हुने व्यवसायीको भनाइ छ ।