कोभिड–१९ महामारीले यसरी बदल्दैछ हाम्रो खानपान
कोरोनाभाइरस महामारीले स्वास्थ्य र आहारविहारमा मानव जगत्लाई सजग बनाउँदै खानपानसँग जोडिएको जीवनशैलीमा परिवर्तन गरिरहेको अनुसन्धानहरूले देखाएका छन्।
विश्वव्यापी कोरोनाभाइरस (कोभिड–१९) महामारीले मानव जगत्लाई सरसफाइसँगै खानपानबारे बेस्सरी झकझक्याइदियो। भाइरसको संक्रमणबाट जोगिन साबुन–पानीले नियमित हात धुने अभ्यास त भइहाल्यो, मानिसहरूले शरीरमा प्रतिरोधी क्षमता बढाउने खानेकुरामा जोड दिन थालेका छन्।
खासगरी यो महामारीले खाने बानीसहित खानपानसँग जोडिएको जीवनशैली परिवर्तन गर्ने आकलन गरिएको छ। जुन महामारी अन्त्य भए पनि नयाँ जीवन–दर्शनका रूपमा गाँसिएर निरन्तरता पाउन सक्छ। टाइम म्यागेजिनले कोभिड–१९ का कारण अब मानिसहरूले पोषणयुक्त र गुणस्तरीय खानेकुरातर्फ विशेष ध्यान दिने लेखेको छ।
चिकित्सकहरूले प्रतिरोधी क्षमता बढाउन पोषिला खानेकुरा खान र धूमपान/मद्यपान नगर्न सुझाव दिंदै आएका छन्। कोभिड–१९ को संक्रमण चीनको मासु बजारबाट फैलिएको विवरण पनि आयो। यसले विश्वभर मासुको खपतमा कमी आउन सक्ने आकलन गरिएको छ।
फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा छापिएको रिपोर्टमा भनिएको छ, “मासु सेवन गर्ने विश्वभरका उपभोक्ताले यसको उपभोग गर्नुअघि पुनर्विचार गर्ने अवस्था बनेको छ।”
खाने बानीमा आइरहेको परिवर्तनले खानेकुरा खरीद गर्नेदेखि उपभोग गर्नेसम्मका व्यवहारमा परिवर्तन आउन थालेका छन्। जसले खाद्यवस्तुको उत्पादन र भण्डारणको शैलीलाई पनि बदल्न सक्ने विश्लेषण भइरहेको छ। खानपान र स्वास्थ्यलाई दिएको प्राथमिकतासँगै कतिपय देशमा आयात पनि घट्न सक्नेछ।
एल्पस कोरोनाभाइरस इम्प्याक्ट रिपोर्टले कोभिड–१९ को जोखिमका कारण कम मानिसहरूले छोएको खानेकुरातर्फ उपभोक्ताको रुचि बढेको उल्लेख गरेको छ।
ग्रोसरी स्टोरमा खुला रूपमा पाइने खानेकुराको सट्टा उद्योगबाटै प्याकिङ गरेर आएका र क्यानमा राखिएका खानेकुरा खरीद गर्ने प्रवृत्ति बढ्न थालेको हो। खुला रूपमा पाइने खानेकुराबाट भाइरस सर्ने त्रासका कारण सामान खरीद गर्ने व्यवहारमा परिवर्तन गर्दै प्याकिङ गरिएका वस्तुतर्फ झुकाव बढेको हो।
कोभिड–१९ को संक्रमणपछि अर्गानिक, शाकाहारी र स्वस्थ खानेकुरा सेवन गर्ने क्रम बढ्ने आकलन गरिएको छ। मानिसहरूले सामुदायिक रुपमा गरिएको खेती वा फार्मबाट उत्पादित खाद्यान्न खोज्न थालेको एल्पसको रिपोर्टमा उल्लेख छ। बेलायतमा त महामारीपछि प्याकिङ गरिएका अर्गानिक तरकारीको माग घरघरमा बढ्न थालेको छ।
तरकारी, फलफूल वा अन्य सामानको माध्यमबाट कोभिड–१९ सर्छ भन्ने अहिलेसम्म प्रमाणित भइसकेको छैन। यद्यपि संक्रमणबाट जोगिन मानिसहरुले खानेकुरा किन्दा र किनेर ल्याइसकेपछि सावधानी अपनाउन थालेका छन्।
कोभिड–१९ संक्रमण फैलिरहेका बेला युनिसेफले बालबालिकालाई सजिलै उपलब्ध हुने स्वस्थकर खानेकुरा सेवन गराउन सुझाव दिएको छ। बन्दाबन्दीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै युनिसेफले ताजा फलफूल, तरकारी, दही, उसिनेको अण्डा जस्ता वस्तु सेवन गराउन भनेको छ।
हरिया तरकारी, फलफूल उपलब्ध नभएको अवस्थामा गेडागुडी, क्यानमा राखिएका स्वस्थकर खानेकुरा सेवन गर्नुपर्ने युनिसेफको सुझाव छ।
पत्रु खानाबाट घरको खानातिर
कोभिड–१९ महामारीसँगै अनलाइन किनमेल बढ्ने विश्लेषण गरिएको छ। बन्दाबन्दीको वेला नेपालमा पनि अनलाइनबाट सामान अर्डर गरेर घरघरमा पुर्याउने सेवा फस्टाएको छ।
महामारीपछि बन्दाबन्दीका कारण घरैमा खाना खाने संस्कार पनि बढेको छ। टेक्नोमिकले गरेको सर्वेक्षणले ३२ प्रतिशत किशोर तथा किशोरीले रेष्टुरेन्टमा खान नचाहेको देखाएको छ। एकातिर कोभिड–१९ र बन्दाबन्दीका कारण अधिकांश मुलुकमा रेष्टुरेन्ट र सुपरमार्केट बन्द छन्, अर्कातिर खाद्य सुरक्षाप्रतिको सजगताले पनि घरमै सामूहिक रूपमा खाना खाने प्रचलन बस्न थालेको छ।
यो महामारीअघि मानिसहरू कामका सिलसिलामा अधिकांश समय घरबाहिर रहने र घुमफिरमा निस्किनेहरूले पनि बजारकै खाना खाने गर्थे। पत्रु खानाको सेवन घटेको भन्दै यसले मानव स्वास्थ्यमा सुधार हुने र खानेकुरासँग जोडिएको मुटु रोग, उच्च रक्तचाप, मोटोपन जस्ता समस्या घट्ने बताइएको छ।
तर घर बसाइको सबै सकारात्मक पाटो मात्र छैनन्। टाइममा प्रकाशित रिपोर्टमा भनिएको छ, “भाइरसको संक्रमणका कारण घरभित्रै बस्नुपर्ने भएकाले मानसिक समस्या बढ्न सक्छ र स्वास्थ्य सेवाको पहुँचमा अवरोध हुनसक्छ।”
मानिसहरूले खानपानमा ध्यान दिने मात्र होइन, आफ्नो रोग प्रतिरोधी क्षमता बढाउन होमियोप्याथिक तथा आयुर्वेदिक औषधि सेवन गर्न थालेका छन्। भाइरसको संक्रमण रोक्न अन्य विभिन्न संक्रमणजन्य रोगमा प्रयोग हुने औषधि पनि सेवन गर्न थालिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले ट्वीट गर्दै आफूले मलेरिया विरुद्ध प्रयोग गरिने हाइड्रोक्सिक्लोरिन औषधि सेवन गरिरहेको बताएका थिए। तर, यो औषधिले कोभिड–१९ संक्रमण रोक्छ भन्ने अहिलेसम्म प्रमाणित भएको छैन।
नेपालमा पनि रोग प्रतिरोधी क्षमता बढाउन सघाउने भन्दै होमियोप्याथिक औषधि सेवन गर्न थालिएको छ। मारवाडी सेवा समितिले उक्त औषधिलाई सरकारले मान्यता दिएको भन्दै निःशुल्क वितरण गरिरहेको छ। तर, यसले पनि भाइरसको संक्रमण रोक्छ भन्ने वैज्ञानिक आधार फेला परेको छैन।
कतिपय चिकित्सकहरुले त आर्सनिक कम मिसिएको होमियोप्याथिक औषधी सेवन गर्दा स्वास्थ्यमा उल्टै असर पर्ने बताएका छन्।
प्रतिरोधी क्षमता बढाउन के खाने ?
- डा. अरुणा उप्रेती, पोषणसम्बन्धी जानकार
शरीरमा प्रतिरोधी क्षमता बढाउन हाम्रो भान्सामा हुने अधिकांश खानेकुरा उपयोगी हुन्छन्। जिरा, धनियाँ, बेसार, लसुन जस्ता खानेकुराले शरीरमा हुने संक्रमण कम गर्न र रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने अन्तर्राष्ट्रिय अध्ययनहरुले नै देखाएका छन्। त्यसैले मसलाका रूपमा खाइने यी वस्तुको सेवनमा जोड दिनु राम्रो हुन्छ।
घरमा पाक्ने दाल, भात र हरिया सागसब्जी खाए मात्रै पनि हाम्रो शरीरलाई चाहिने पोषक तत्व परिपूर्ति हुन्छ। हरिया तरकारी उपलब्ध नभए टुसा उमारेका गेडागुडी पनि खान सकिन्छ, जुन निकै पौष्टिक हुन्छ।
भिटामिन सीयुक्त खानेकुरा नियमित सेवन गर्नुपर्छ। भिटामिन सी को राम्रो स्रोत ताजा फल र त्यसमा पनि अमिलो फल हुन्। अमला, अंगुर, कागती, अम्बा, चुकन्दर, पुदिना, लट्टे, पालुङ्गो आदिमा भिटामिन सी पाइन्छ। पुदिनाले गर्मी पनि दूर गर्छ।
आइरन जस्ता तत्वको कमी हुन नदिन प्रोटिनयुक्त खानेकुरा जस्तै फलामको भाडामा माछा, मासु, दाल, भटमास, केराउ जस्ता खानेकुरा सेवन गर्न सकिन्छ। फलामको भाडामा टमाटर मिसाएर पकाएको खानेकुरा सेवन गर्दा रक्तअल्पताको समस्या कम हुन्छ।
मानसिक तनाव भयो भने पोषिला र ताजा खानेकुरा पनि पचाउन सकिंदैन। यसैले तनाव निम्तिन दिन हुँदैन।