भारतबाट फर्किएकाहरुको परीक्षणमा किट अभावले ढिलाइ, संक्रमण फैलिने जोखिम
प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका नाका हुँदै भारतबाट फर्कने नेपालीहरुको संख्या दिनदिनै बढिरहेको छ। उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा १४ दिनसम्म राख्ने र कोरोनाभाइरसको परीक्षण गर्ने गरेका छन्।
तर, जाँच्ने किट पर्याप्त नहुँदा परीक्षण गर्न नसकिएको अधिकारीहरुले बताएका छन्। भारतबाट फर्केका नागरिकहरुको परीक्षण हुन नसक्दा संक्रमणको त्रास फैलिएको सूदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले बताए। उनका अनुसार, २ जेठदेखि १३ गतेसम्म प्रदेशमा २३ हजार ८ सय १० जना भित्रिएका छन्। "तर किटको अभाव भएकाले उनीहरुको परीक्षण गर्न सकिएको छैन", उनले भने।
त्यहाँ २०७६ फागुनदेखि १ जेठ सम्ममा विभिन्न नाका भएर करीब दुई लाख जना नेपाल भित्रिएको प्रदेश सरकारको अनुमान छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशले ३० हजार र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) किट र २ हजार ६ सय रियल टाइम पीसीआर किट खरीदको प्रक्रिया अगाडि बढाएको छ।
उता, प्रदेश-५ का विभिन्न नाकाबाट नेपाल भित्रिनेको संख्या पनि बढिरहेको छ। सुनौली, कृष्णनगर र जमुनाह नाका हुँदै पछिल्लो १५ दिनमा मात्रै करीब ४० हजार जना नेपाल भित्रिएका छन्।
भारतमा रेल सेवा सञ्चालनमा आएपछि नेपालीहरु फर्कने क्रम बढेको हो। यसअघि सीमावर्ती भारतीय जिल्लाका क्वारेन्टिनमा १४ दिनको अवधि पूरा गरेका नेपालीहरुलाई ल्याउने गरे पनि पछिल्लो समय भने संख्या अत्यधिक भएर व्यवस्थापनमा समस्या भएपछि सीधै नेपाल ल्याउने गरिएको छ।
तर, क्वारेन्टिनमा रहेकाहरुको १४ दिनसम्म राख्दा पनि परीक्षण हुन नसकेको कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए। भारतबाट आएकाहरुमा नै संक्रमण देखिएकाले त्रास बढेको उनको भनाइ छ।
केही स्थानीय तहले परीक्षणको दायरा बढाउन स्वाब संकलन गर्ने भाइरस ट्रान्सफर मिडिया (भीटीएम) खरीद गरेर स्वाब संकलनको काम शुरु गरे पनि ल्याब क्षमताको अभावले प्रभावकारी हुन सकेको छैन। कपिलवस्तुका गाउँपालिकाले आफैं भीटीएम खरीद गरेर स्वाव संकलनको काम अघि बढाएका थिए।
वेलैमा परीक्षण नहुँदा क्वारेन्टिन खर्च चर्को
क्वारेन्टिनमा राखिएकाहरुको समयमै परीक्षण हुन नसक्दा स्थानीय तहको खर्च बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ जेठसम्म देशभरका क्वारेन्टिनमा ७० हजार ३०५ जना छन्। एक जनाको दैनिक रु. ३२० का दरले खर्च जोड्दा रु. २ करोड २४ लाख ९७ हजार ६ सय खर्च भएको छ।
मन्त्रालयका अनुसार, प्रदेश-१ मा १ हजार ८६८, प्रदेश-२ मा १२ हजार १८३, बागमतीमा १ हजार ३९८, गण्डकी प्रदेशमा १ हजार ९३०, प्रदेश-५ मा २६ हजार ७२९, कर्णाली प्रदेशमा ९ हजार ६०९, सदूरपश्चिम प्रदेशमा १६ हजार ९ सय ८८ जना क्वारेन्टिनमा छन्।