बालबालिकालाई बन्दाबन्दीको असरबाट कसरी जोगाउने ?
बन्दाबन्दी अघि बालबालिकाले स्कूल र घरमा समय बिताउँथे । ठाउँ परिवर्तन हुँदा फरक वातावरणको अनुभूति हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । यसले बालबालिकामा परेको असरबाट जोगाउँदै उनीहरूलाई सिर्जनशील बनाउनु तत्कालकाे चुनाैती हाे ।
कोरोना महामारीबाट बच्न गरिएको बन्दाबन्दी (लकडाउन) ले स्कूल, कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालयहरू प्रायः सबै बन्द भएका छन् । यसले अभिभावक मात्र होइन बालबालिका पनि घरमै बस्न बाध्य भए । दुवैले एकअर्कासँग घुलमिल हुने र समय बिताउने अवसर पाएका छन् । अझ बालबालिकाले त पूरै समय आफ्ना अभिभावकको न्यानो काख पाएका छन् ।
बालबालिकाको सन्तुलित विकासका लागि अभिभावक सधैं सँगै भएर मात्र पुग्दैन । बाल मनोवैज्ञानिकहरूका अनुसार ६ वर्ष मुनिका बालबालिका १० मिनेटभन्दा बढी समय एकै ठाउँमा बसिरहन र एउटै क्रियाकलापमा अभ्यस्त भइरहन सक्दैनन् ।
जति कम उमेरका बालबालिका हुन्छन्, सोही अनुसार उनीहरूमा धैर्य पनि कम हुन्छ । सधैं एकै खालका क्रियाकलाप गर्ने र घरकै वातावरणमा बसिरहने गर्दा बालबालिका दिक्दार भइरहेका हुनसक्छन् ।
सामान्य अवस्थामा बालबालिकाले स्कूल र घरमा समय बिताउँथे । यसले वातावरण परिवर्तन भइरहेको हुन्थ्यो तर हिजोआज परिस्थिति ठीक विपरीत छ । यो अवस्थाले बालबालिकामा असर परिरहेको छ । यसबाट बच्न बालबालिकालाई सिर्जनशील बनाउने र व्यस्त राख्नुपर्ने हुन्छ ।
स्कूल जानुपर्ने उमेरका बालबालिका स्कूल जान नपाउँदा समयमा उठ्ने, खाने, खेल्ने लगायतका सम्पूर्ण क्रियाकलाप प्रभावित भएका छन् । यसले प्रायः धेरै पक्षमा नकारात्मक असर परेको छ ।
मन्टेसरी शिक्षण प्रणाली अवलम्बन गरिएका विद्यालयमा प्रत्येक कक्षा–समय (पिरियड)मा फरक–फरक कक्षा कोठामा लगिन्छ । मन्टेसरी ल्याब रुम, टेबल गेम रुम, क्रियटिभ कर्नर, कम्प्युटर रुम, भिडियो क्लास रुम, भान्सा कोठा, खेल मैदान सहितका ठाउँमा बालबालिकालाई लगिन्छ ।
मन्टेसरीमा गरिने यस किसिमका अभ्यासबाट बालबालिका हरेक पिरियड पढ्ने–लेख्ने वेलामा फ्रेस भइरहने हुँदा पढाइ प्रभावकारी हुन्छ । एउटै कक्षा कोठामा पठाउँदा पनि विभिन्न कर्नरबाट सिकाइन्छ ।
बालबालिकाको सिकाइ क्षमता विकास गर्न रिडिङ, राइटिङ, किचन र ब्लक्स कर्नरहरू बनाइएका हुन्छन् । भिन्न–भिन्न कर्नरबाट विद्यार्थीको ग्रुप बनाएर पालैपालो सबै कर्नरमा पठाउँदै सिकाउँदै पढाइन्छ ।
यस्तो सिकाइका लागि राइटिङ कर्नरमा दिइएको विषय एक जनाले १० मिनेटमा लेखेर सक्यो भने त्यो विद्यार्थी खेल कर्नरमा जान पाउँछ ।
याे पनि हेर्नुहाेस्– बन्दाबन्दीमा बालबालिका: के मा व्यस्त राख्ने ? कसरी सिकाउने ?
सिकाइ के हो ?
सिकाइ जीवन जिउने तालिम, ज्ञान र परिपक्वता हो । सिकाइ खोजी र चिन्तन; व्यवहारमा आउने सकारात्मक परिवर्तन पनि हो । कलाको अभिवृद्धि र अनुभव पनि सिकाइ नै हो । सम्पूर्ण पक्षको समान र सन्तुलित विकास नै सिकाइ हो ।
सिकाइमा निरन्तर अभ्यास र सक्रियता हुन्छ । यसलाई विकासको आधार पनि मानिन्छ । सिकाइ सम्बन्धमा विद्वत्जनले औंल्याएका यी विभिन्न भनाइबाट बालबालिका शून्य सक्रियतामा रहँदा बाल विकासमा नकारात्मक असर परिरहेको हुन्छ भन्ने बुझिन्छ ।
अझ स्कूल जानुपर्ने उमेरका बालबालिका स्कूल जान नपाउँदा समयमा उठ्ने, खाने, खेल्ने लगायतका सम्पूर्ण क्रियाकलाप प्रभावित भएका छन् । यसले प्रायः धेरै पक्षमा नकारात्मक असर परेको छ ।
बन्दाबन्दीका कारण निष्क्रिय भइरहँदा बन्दाबन्दी खुलेपछि पनि पहिलेको बानीका कारण तुरुन्तै क्रियाशील हुन समय लाग्न सक्छ । पढाइ–लेखाइ लगायतका क्रियाकलापमा भाग लिने आदतमा परिवर्तन ल्याउन समय लाग्छ । बालबालिकामा रिसाउने, झगडा गर्ने, स्कूल जान नमान्ने जस्ता बानी पनि देखा पर्न सक्छन् ।
अभिभावकको भूमिका ?
बाल्यावस्था अध्ययन गर्ने उमेर भएको हुँदा यसलाई निरन्तरता दिनु प्राथमिक कार्य हो । यसका निम्ति आफ्ना नानीबाबुको उमेर अनुसारको ज्ञान दिने, व्यस्त बनाइरहन उनीहरूसँग छलफल गर्ने, सम्भव भएसम्म पाठ्यपुस्तक किनेर ल्याइदिने वा यूट्यूवबाट बाल उपयोगी सामग्री खोजेर प्रश्न खोध्ने र उत्तर लेख्न लगाउने गर्नुपर्छ ।
भान्सामा काम गर्दा सँगै राखेर सानोतिनो काम गर्न अनुमति दिनुपर्छ । अभिभावक सँगै बसेर तरकारी केलाउन, काट्न, पखाल्न, रोटी बेल्न सिकाउन सकिन्छ । जुत्ताको लेस बाँध्न, कुचो लगाउन, सटको टाँक लगाउन, टेबुल पुछ्न, आफ्नो शरीरको सरसफाइ गर्न सिकाउने जस्ता काम पनि अभिभावकले आफैं लागेर सिकाउन सक्छन् ।
उमेर अनुसारको सीप विकास गर्ने क्रियाकलापमा सहभागी गराउन सकिन्छ । यसका लागि पानी राखेको जगबाट धेरैवटा गिलासमा नपोखी बराबर पानी खन्याउन दिने । रुमाल वा साना लुगा–कपडा धुन दिने । यसले गर्दा कति साबुन लगाउने, कसरी दल्ने, कसरी मिच्ने र कति पटक पखाल्ने भनेर सिक्छन् । त्यसपछि आफैं गर्न सक्छन्। यसले भविष्यमा आफ्नो लुगा आफैं धुन सक्ने बनाउँछ ।
बालबालिकालाई नैतिक शिक्षा दिने, कथा सुनाउने, सँगै बसेर बालगीत गाउने, चित्र कोर्न र रङ भर्न लगाउने, अनुशासन सिकाउने गर्न सकिन्छ । सीपमूलक, जीवनोपयोगी अभ्यास गराउन पनि सकिन्छ ।
भान्सामा काम गर्दा सँगै राखेर सानोतिनो काम गर्न अनुमति दिनुपर्छ । अभिभावक सँगै बसेर तरकारी केलाउन, काट्न, पखाल्न, रोटी बेल्न सिकाउन सकिन्छ । जुत्ताको लेस बाँध्न, कुचो लगाउन, सटको टाँक लगाउन, टेबुल पुछ्न, आफ्नो शरीरको सरसफाइ गर्न सिकाउने जस्ता काम पनि अभिभावकले आफैं लागेर सिकाउन सक्छन् ।
फुर्सदको यो समयमा बालबालिकासँग नजिकमा बसेर उनीहरूमा भएका प्रतिभा पत्ता लगाई त्यसलाई उजागर गर्नु वा अझ बढाउन हौसला प्रदान गर्न सकिन्छ । सँगै बसेर सिकाउँदा बालबालिकामा कुनै नराम्रो आदत बसेको छ भने त्यसलाई पनि नियालेर विस्तारै त्यसको बेफाइदाको बारेमा सिकाएर हटाउन सकिन्छ ।
मन्टेसरी तथा आधुनिक शिक्षा प्रणाली अन्तर्गत ल्याबमा लगेर यी माथिका कुरालाई दैनिक रुटिनमा राखेर वा ‘लाइफ स्किल’ अन्तर्गत हप्तामा एकपटक भए पनि यस्ता व्यावहारिक सीपमूलक अभ्यास गराइरहेका हुन्छन् । जसले गर्दा बालबालिकाको क्षमता विकास, नयाँ कुरा सिक्ने तथा हात बस्ने जस्ता बानीको विकास हुन्छ । अभिभावकले पनि यो फुर्सदको समयलाई घरमै बसेर यस्ता धेरै कुरा सिकाउन सक्छन् । शैक्षिक कोर्ष छुट्यो भनेर चिन्ता गरिरहनु जरूरी छैन ।
फुर्सदको यो समयमा बालबालिकासँग नजिकमा बसेर उनीहरूमा भएका प्रतिभा पत्ता लगाई त्यसलाई उजागर गर्नु वा अझ बढाउन हौसला प्रदान गर्न सकिन्छ । सँगै बसेर सिकाउँदा बालबालिकामा कुनै नराम्रो आदत बसेको छ भने त्यसलाई पनि नियालेर विस्तारै त्यसको बेफाइदाको बारेमा सिकाएर हटाउन सकिन्छ ।
यसरी लामो समय नानीबाबुको साथमा बस्ने वातावरण मिल्दा उनीहरूलाई साथी बनाउन सकिन्छ । छोराछोरीले अभिभावकलाई नजिकको साथी ठाने भने खुलस्त ढंगले आफ्ना अनुभूति बाँड्छन् । यसो गर्दा बालबालिकाले के राम्रो, के नराम्रो भन्ने जानकारी अभिभावकबाट पाउन सक्छन् । अभिभावकले पनि बालबालिका खराब संगतमा पर्न लागेको भए सजिलै थाहा पाउन सक्छन् । समस्या थाहा भए समाधान गर्न अनेक उपाय निकाल्न सकिन्छ र यसले बालबालिकामा पनि आत्मबल बढ्छ ।
(लेखिका मन्टेसरी तालिम प्रशिक्षक तथा सिटी मन्टेसरीकी प्रिन्सिपल हुन् ।)
याे पनि हेर्नुहाेस् – महामारीपछि पनि 'अनलाइन शिक्षा'