सलहलाई नेपाल पस्न मनसुनले रोक्न सक्छ
कोरोना भाइरसको महामारी विरुद्ध जुधिरहेको बेला बाली सखाप गरिदिने सलह नेपाल नजिक आइपुगेको छ । तर, चाँडै सुरु हुने मनसुनी वर्षाले यो किरालाई रोक्न सक्ने झिनो आशा रहेको विज्ञहरुले बताएका छन् ।
दक्षिण अफ्रिकाबाट फैलिएको सलह दिल्लीसम्म आइपुगेकाले सुदूरपश्चिमबाट नेपाल पस्न सक्ने संभावना छ । यो किरा हावाको गतिसँगै उड्छ । त्यसैले हावापानी प्रतिकूल भए नेपाल पस्न नसक्ने संभावना पनि छ ।
मनसुनी वर्षामा हावा पश्चिमतिर बग्ने हुँदा यसलाई रोक्न सक्ने सलहबारे अध्ययन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बनाएको समितिका संयोजक तथा प्लान क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईं बताउँछन् । नेपालमा प्रिमनसुन सुरु भइसकेको छ । अबको १० दिनमा मनसुन सुरु भइसक्छ ।
पश्चिम बंगालबाट उत्पन्न हुने वायुको प्रभावले नेपालमा मनसुनी वर्षा हुन्छ । मनसुनी वर्षाको समयमा पूर्वबाट पश्चिमतर्फ हावा बहने भएकाले हावासँगै उड्ने यो किरा नेपाल प्रवेश गर्न नसक्ने झिनो आसा भएको हुमागाईं बताउँछन् । उनी भन्छन्, “यो किरा जब्बर हुने भएकाले नेपाल आउने नआउने हावाको गतिमा भर पर्दछ, यो एकदमै झिनो आसा मात्र हो ।”
सलहको जीवनचक्रका लागि नेपालमा उपयुक्त हावपानी भने छैन । तर, यो पसिहाले बालीमा ठूलो क्षति पुर्याउन सक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसी अनुमान गर्छन् । उनी भन्छन्, “यसले हरियो वनस्पति केही बाँकी राख्दैन, सलहले गर्न सक्ने क्षतिको अनुमान नै गर्न गाह्राे छ, करोडौंको संख्यामा हुने हुनाले छिनभरमै बाली र वनस्पति सखाप पार्न सक्छन् ।”
सलहको उत्पत्तिको प्रमुख स्राेत अफ्रिका महादेशमा भए पनि यिनीहरुको संख्यामा भएको बढोत्तरीसँगै खानाको खोजीमा टाढासम्म पुग्न थालेका हुन् । यो किरा एक दिनमा ५०० किलोमिटर टाढासम्म उडेर जान सक्छ ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्याङ्क अनुसार एउटा किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलह करीब चारदेखि आठ करोड संख्यामा हुन्छन् । यो किराले ३५ हजार जनालाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् ।
हरिया वनस्पति र अन्नबाली नोक्सान गर्ने सलह किराको प्रकोप सामना गर्न सरकारले तयारी सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंको संयोजकत्वमा काठमाडौंमा उपलब्ध रहेका कृषि प्राविधिक सम्मिलित समिति बनाएको छ । मन्त्रालयका सह–सचिव केसीका अनुसार सलहले पार्न सक्ने सम्भावित जोखिम, गर्न सकिने न्यूनीकरण तथा नेपालमा सलह आउन सक्ने वा नसक्ने सम्भावनाबारे समितिले अध्ययन गर्ने छ ।
विज्ञहरुका अनुसार यो किरा प्रवेश गर्यो भने तत्काल नियन्त्रण गर्न सक्ने क्षमता नेपालसँग छैन । त्यसकारण अहिले गठित समितिले यसले क्षतिको सम्भावित आकलन मात्र गर्छ ।
समिति संयोजक हुमागाईं दक्षिण अफ्रिकाबाट इरान, साउदी अरब, पाकिस्तान, अफगानस्तान हुँदै यो किरा भारतको राजस्थान र दिल्ली आइपुगेको बताउँछन् । “दिल्लीसँग नेपाल नजिक भएकाले सूदूरपश्चिम प्रदेशबाट नेपाल प्रवेश गर्न सक्छ भन्ने हाम्रो अनुमान छ,” हुमागाईं भन्छन् “अहिले हामीले अध्ययन गरिरहेका छौं, राजस्थानमा त पहिलादेखि नै थियो तर, यस पटक दिल्लीसम्म आइपुगेकाले नेपाल आउने सम्भावना बढेको छ ।”
उनका अनुसार, यो अफ्रिका महादेशको रैथाने फट्याङग्रा जातको किरा हो । यसले अत्यधिक तापक्रम र मरुभूमि भएका ठाउँमा आफ्नो जीवनचक्र सञ्चालन गर्दछ ।
सरकारले बनाएको समितिका संयोजक हुमागाईं नेपालमा सलह प्रवेश गर्यो भने त्यसले भोकमरीको अवस्था ल्याउन सक्ने बताउँछन् । “महामारीबाट जुधिरहेको वेला सलहले अर्को समस्या थप्ने देखिन्छ, अन्नबाली सखाप भयो भने यसले भोकमरीको अवस्था नै उत्पन्न गराउँछ,” उनी भन्छन् ।
नेपालमा ६० वर्षअघि धादिङ, काठमाडौं लगायत जिल्लामा सलहको प्रकोप देखिएको थियो । त्यस यता नेपाल आइपुगेको छैन । त्यसकारण पनि यसकाे विषयमा थप अध्ययन अनुसन्धान नभएको हुमागाई बताउँछन् ।