हत्या आरोपी वडाध्यक्षद्वारा आत्मसमर्पण
हत्याको आरोप लागेका मोरङका तीन वडाध्यक्षमध्ये एकले १४ जेठमा प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
विराटनगर–१८ का अध्यक्ष सञ्जय साहले इलाका प्रहरी कार्यालय रानीमा आत्मसमर्पण गरेका हुन् । उनलाई जिल्ला अदालतमा पेश गरिएको इप्रका रानीले जनाएको छ ।
यसअघि गत २४ माघमा अदालतमा हाजिर भएका जहदा गाउँपालिका–१ का अध्यक्ष प्रदीपचन्द्र यादवलाई अदालतले पुर्पक्षका लागि मोरङ कारागार पठाएको थियो ।
एउटै घटनाका आरोपी तीन वडाध्यक्षमध्ये विराटनगर–१४ का अध्यक्ष बालदेव यादव भने फरार छन् ।
विराटनगर–१४ जतुवाका समानन्द यादवको हत्यामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिकाका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षलाई मुद्दा चलाइएपछि उनीहरु फरार थिए । फरार रहेका यादवले पनि केही दिनभित्रै प्रहरीमा आत्मसमर्पण गर्न सक्ने बताइएको छ ।
“सीमापारि भारतमा लुकेर बसेका दुई अध्यक्ष खर्च अभावमा नेपाल आउन बाध्य भएको बुझिएको छ”, एक प्रहरी अधिकृतले भने–“अर्का पनि प्रहरी समक्ष आउन बाध्य हुनेछन् ।”
तीनैजना भारतमा लुकेर बसेकोमा मृतकपक्ष र अदालतमा मिलेमतो गर्न सकिने आशामा गत माघमा प्रदीपचन्द्र आएका थिए । उनलाई पुर्पक्षमा पठाइएकाले अरु दुई जना भने यतिका दिनसम्म भारतमै बसेका थिए ।
गत वर्ष ३२ जेठमा भएको पञ्चेतीमा समानन्दलाई स्थानीयले कुटपिट गर्दा विराटनगर–१४ का वडाध्यक्ष बालदेव यादव, १८ का वडाध्यक्ष सञ्जय साह र जहदा–१ का वडाध्यक्ष यादव उपस्थित थिए ।
समानन्दको उपचारका क्रममा २६ असारमा मृत्यु भएपछि तीन वडाध्यक्षसहित ९ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा चलाएको थियो ।
तीनै जना वडाध्यक्ष समाजवादी पार्टीका स्थानीय नेता हुन् । यादवको अवस्था चिन्ताजनक रहेकै अवस्थामा प्रहरीले उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएपनि पक्राउ भने गरेको थिएन । यादवको मृत्युपछि मात्रै प्रहरीले उनीहरुको खोजी गरेको थियो ।