अमेरिकामा पहिलो संक्रमितको मृत्यु भएको ८८ दिनमा मृतकको संख्या एक लाख नाघ्यो
अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट २९ फेब्रुअरीमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । त्यसको ८८ दिनपछि २६ मेमा मृतकको संख्या एक लाख नाघेको छ ।
अहिलेसम्म एक लाख ५७९ जनाको मृत्यु भएको छ । पहिलो मृत्युको चार दिनपछि ३ मार्चमा एकैपटक पाँच जनाको मृत्यु भएको थियो । पहिलो मृत्युको १५ दिनमा ५८ जनाको मृत्यु भयो । तर, एक महीना पुग्दा २९ मार्चमा तीन हजार २५१ जनाको मृत्यु भयो ।
अप्रिलदेखि मत्युदर उच्च गतिमा बढ्यो । ३१ मार्चसम्ममा पाँच हजार १५१ जनाको मृत्यु भएको थियो । अप्रिलभरि एक महीनामा ५८ हजार ७०५ जनाको मृत्यु भयो ।
मे महीनामा भने मृत्युदर घटेको छ । अहिलेसम्म ३६ हजार ७२३ जनाको मृत्यु भएको छ । तीन दिनदेखि त्यहाँ दैनिक मृत्युदर हजारभन्दा कम छ ।
मृत्यु भएकामध्ये झण्डै एकतीहाइ न्यूयोर्कका छन् । न्यूयोर्कमा २९ हजार ४५१ को मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा ११ हजार १९७, म्यासेचुसेटस्मा ६ हजार ४७३, पेन्सिल्भानियामा पाँच हजार १९४, मिचिगनमा पाँच हजार २२६ र इलियोनिसमा चार हजार ९२३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार १९२ जना संक्रमित भएका छन् । तीमध्ये चार लाख ७८ हजार ४०७ जना निको भएका छन् ।