चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै ‘डिजिटल विरोध’
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको सामूहिक आक्रमण र मानवीय क्षतिका दोषी विरुद्ध कारबाहीको माग गर्दै विरोध भएको छ ।
घटना जातीय विभेदका कारण भएको भन्दै विभिन्न पेशा र क्षेत्रमा आवद्ध व्यक्तिहरूले सामाजिक सञ्जालबाट डिजिटल विरोध शुरु गरेका छन् ।
चौरजहारीको सोतीगाउँका स्थानीयले जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित गएका १९ जना युवाहरूको समूहलाई आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् ।
प्रेममा रहेका भनिएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकले रुकुमको चौरजहारी गाउँपालिका सोतीकी युवतीलाई विवाहका लागि लिन जाँदा स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा तथा रुकुमको चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव फेला परेको छ । भेरी नगरपालिकाकै सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी बेपत्ता छन् ।
घटना जातीय विभेदका कारण भएकाले र दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै डिजिटल विरोध शुरु गरेको दलित युवा जागरण मञ्चका अभियन्ता जीवन चैतन्यले जानकारी दिए । “रुकुम जातीय छुवाछूतमुक्त जिल्ला हो । तर, दलित समुदायले भने अझै मानव हुनुको अस्तित्व खोज्नुपर्ने बाध्यता छ । हामीले कहिलेसम्म यो भोग्नुपर्ने हो भनेर राज्यलाई प्रश्न गरेका छौं” उनले भने ।
जातीय विभेदकै कारण हत्या गर्नुमा गाउँले र स्थानीय जनप्रतिनिधिको संलग्नता रहेको देखिने भन्दै उनीले दतिलको मुद्दा भनेर पन्छाउनका लागि गरिएको षड्यन्त्रको विरोधमा आफू उभिएको बताए ।
कोरोनाभाइरसको महामारीका कारण बन्दाबन्दीको समयमा विरोध प्रदर्शनको लागि भेला र सभा सम्मेलन गर्न नमिल्ने भएकाले सामाजिक सञ्जाललाई प्रयोग गरेको उनले बताए । “कोरोनाभाइरसको कहरले देश बन्दाबन्दीमा भए पनि हाम्रो खबरदारी जागै छ” उनले भने । उनले युवती भगाउन आएको भन्ने थाहा भए प्रकृयामा नगएर कानुनलाई आफ्नो हातमा लिनुलाई जति भत्सर्ना गरे पनि नपुग्ने बताए ।
मान्छे मार्नेजस्तो अपराधबाट कोही पनि उम्किन नपाउन र पीडितले न्याय पाउन भन्नका लागि ११ जेठ आइतबार साँझबाट डिजिटल अभियान शुरु गरिएको उनले जानकारी दिए । “सारा गाउँले मिली कानुनलाई हातमा लिएर मानवअधिकार हनन् गर्दा पनि सम्बन्धित निकायको मौनताले नेपाली शासकहरूको वास्तविकता उदाङ्गो भएको छ” उनले भने ।
एसएमएससहित डिजिटल विरोध
दलित युवाजागरण मञ्चले सामाजिक सञ्जालमार्फत विरोध जनाउन दलित विभेद विरोधी ‘अन्तरजातीय प्रेम सम्बन्धका कारण दलितको मृत्यु कहिलेसम्म’ भन्ने नारा लेखेर ‘स्टपकिलिङ् दलित’ ह्यासट्याग चलाएका छन् । साथै, स्टप डिस्क्रिमिनेसन, स्पिक अप जस्ता नारा लेखेका पम्प्लेट बोकेको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने अभियान व्यापक बनेको छ ।
साथै, उक्त घटनाका दोषीलाई कानुनबमबोजिम हदैसम्मको कारबाहीको माग गर्दै गृहमन्त्रीलाई एसएमएसमार्फत दबाब अभियान पनि शुरु भएको छ ।
दलितका मुद्दालाई राजनीतिकरण गरेर दबाउन सक्ने भएकाले खबरदारी गर्न उक्त अभियान सुरु गरिएको युवा नेता, अभियन्ता प्रदीप परियारले जानकारी दिए ।