आठ महीनामा ५५९ किमी सडक कालोपत्रे, यो वर्ष पुल निर्माण पाँच वर्षयताकै उच्च
संघीय सरकारले चालु आर्थिक वर्षको आठ महीना (फागुनसम्म) मा ५ सय ५९ किमी सडकमा कालोपत्रे गरेको छ । अर्थ मन्त्रालयले मंगलबार प्रकाशित गरेको आर्थिक सर्वेक्षण २०७६/७७ का अनुसार, यो गत आर्थिक वर्षको यही अवधिका तुलनामा धेरै हो । गत आर्थिक वर्षको यही अवधिमा कालोपत्रे गरिएको सडकको लम्बाइ ३ सय ९५ किमी मात्र थियो।
आर्थिक सर्वेक्षणका अनुसार, चालु आर्थिक वर्षको फागुनसम्ममा ६ सय ५७ किमी खण्डास्मित र २ सय ५२ किमी कच्ची सडक निर्माण भएको छ । त्यस्तै, १५७ किमी सडकमो आवधिक मर्मत भएको छ । आर्थिक सर्वेक्षणले सडक र पुल निर्माणमा अघिल्लो वर्षभन्दा यो वर्ष प्रगति भएको तथ्यांक देखाएको छ । यद्यपि, नयाँ सडक निर्माण भने गत वर्षको तुलनामा ८ किमी घटेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्ममा १ सय २९ वटा पुल निर्माण सम्पन्न भएका छन्, जुन अघिल्लो वर्षको यही अवधिमा ८७ वटा मात्रै निर्माण सम्पन्न भएको थियो। आर्थिक सर्वेक्षणले यो वर्ष पुल निर्माण पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै पुल निर्माण भएको देखाएको छ।
आर्थिक सर्वेक्षणका अनुसार, देशभरिमा रणनीतिक र स्थानीय सडक गरी कालोपत्रे सडकको लम्बाइ १४ हजार १०२ किमी, खण्डास्मित सडकको लम्बाइ ७ हजार ८८१ किमी र कच्ची सडक ९ हजार ४१० किमी पुगेको छ ।