अब के गर्लान् साना र मध्यम पर्यटन व्यवसायी ?
ठमेलका साना व्यवसायीले घरभाडा बापत मात्रै लाखौं रुपैयाँ तिर्नुपर्छ । कर्मचारी पाल्ने चिन्ता त छँदैछ। तर, बन्दाबन्दीपछि आम्दानी शून्य। यस्तो अवस्थामा कतिपय त वैकल्पिक व्यवसायमा लागिसकेका छन्।
धादिङका ज्योति अधिकारी ठमेलमा होटल, ट्रेकिङ तथा एक्सपीडिशन व्यवसायमा संलग्न छन् । उनी पर्यटन व्यवसायमा लागेको दुई दशकभन्दा बढी भयो । तर, अहिले जस्तो व्यवसाय धान्नै गाह्रो हुने समय कहिल्यै आएको थिएन । उनलाई घरभाडा तिर्ने र ६५ कर्मचारी पाल्ने चिन्ताले सताएको छ ।
ठमेलमा ११३ कोठाको ‘होली हिमालय’ होटल सञ्चालन गर्ने अधिकारीले त्यसको भाडा मात्रै मासिक रु.२० लाख तिर्नुपर्छ । कर्मचारीको मासिक तलब, भत्ता, पानी, बत्ती र अन्य खर्चसहित मासिक करीब रु.६० लाख लाग्छ । कोरोनाभाइरस संक्रमणको प्रभावले विश्वभरि पर्यटन आवागमन ठप्प हुँदा उनलाई होटलको खर्च धान्न मुश्किल परेको छ ।
होटललाई सञ्चालनयोग्य बनाइराख्ने गरी खर्च कटौती गर्दा पनि मासिक रु.३० लाख लाग्ने अधिकारी बताउँछन् । उनी भन्छन्, “आम्दानी नभएको अवस्थामा भाडा महँगो हुने पर्यटकीय क्षेत्रका मध्यम र साना व्यवसायीलाई यही पेशामा टिकिराख्न गाह्रो छ । अब के गर्ने भन्ने अनिश्चितता छ ।”
ठमेलमा साना व्यवसाय सञ्चालन गर्ने र त्यहींबाट कमाएर घरभाडा तिर्ने र व्यवहार चलाउनुपर्ने थुप्रै व्यवसायी अहिले समस्यामा परेका छन् । व्यवसाय शुरू हुने कहिले र पुनः स्थापित हुने कहिले भन्ने चिन्ताले ठमेल क्षेत्रदेखि समग्र पर्यटन क्षेत्रलाई नै पिरोलिरहेको छ ।
घरभाडा र तलब खुवाउने पिरलो
ठमेल क्षेत्रका चार हजार व्यवसायीका सटर बन्द छन् । यो क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ, गार्मेन्ट, कुरियरसहितका व्यवसाय सबैजसो भाडाकै घरमा छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार रामशरण थपलिया मुश्किलले १५ प्रतिशत घरधनी मात्रै ठमेलमा व्यवसाय गरेर बसेको बताउँछन् ।
परिषद्मा ठमेलका घरधनी र व्यवसायी दुवैको प्रतिनिधित्व रहेकोले आपसी छलफलबाट बन्दाबन्दीमा ५० प्रतिशत घरभाडा छुट गराउनुपर्ने बताउँछन् । उनी भन्छन्, “व्यवसायी र घरधनी दुवैको समस्या दृष्टिगत गरी परिषद्मार्फत उचित निर्णय गरेर व्यवसाय टिकाइराख्न ठमेलबाट नयाँ सन्देश दिनुपर्छ ।”
ठमेलमा होटल, ट्राभल तथा ट्रेकिङ रेस्टुरेन्ट र धादिङमा र्याफ्टिङसहितको पर्यटन व्यवसाय गर्दै आएका राजन सिंखडा पनि अहिले कर्मचारीको खर्च र घरभाडाकै चिन्तामा छन् । १३२ कर्मचारीलाई रोजगार दिइरहेका उनको ठमेलमा ‘इको रिसोर्ट’ नामक ४२ कोठे होटल छ । होटलमा ४३ जना कर्मचारी छन् ।
होटलमा उनको रु.७ करोड लगानी छ । मासिक भाडा रु.८ लाख तिर्छन् । उनी भन्छन्, ‘‘अहिलेसम्म ऋण धन गरेर लगानी गरेको होटलले लाभ दिने समयमा बन्द गर्नुपरेको छ । कहिले सामान्य हुन्छ भन्न पनि नसकिने अवस्थामा न होटल छोड्न सकिन्छ, न चलाउन नै ।”
भाडामा व्यवसाय सञ्चालन गर्नुपर्ने र विदेशी पर्यटकमा मात्रै भर पर्नुपर्ने भएका कारण धेरै पर्यटन व्यवसायी समस्यामा छन् । बन्दाबन्दीका कारण ऋणबाट उठ्नै नसक्ने गरी थलिने समस्या देखिएको सिंखडा बताउँछन् ।
पर्यटनमा साना, मझौला, मध्यम र ठूला व्यवसायी छन् । त्यसमध्ये ५५ प्रतिशत सानादेखि मध्यम र बाँकी ४५ प्रतिशत ठूला व्यवसायी भएको नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य तथा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा बताउँछन् । ठूला व्यवसाय सञ्चालकमध्ये करीब २० प्रतिशतको मात्रै आफ्नै व्यापारिक भवन भएको र ८० प्रतिशतले भाडामा लिएर लगानी गरेको उनी बताउँछन् । उनी भन्छन्, “साना व्यवसायी करको दायरामा कम मात्रै आउने र थोरै रकम योगदान गरेको देखिने भए पनि ठूलो जनशक्तिको संलग्नता सानादेखि मझौला व्यवसायमै छ ।”
बजेटमार्फत राहत दिन सुझाव
नेपाल पर्यटन बोर्डले सरकारलाई पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्कालै रु.२० अर्बको राहत प्याकेज बजेटमार्फत घोषणा गर्नुपर्ने सुझाव दिइसकेको छ । पर्यटन व्यवसाय पुनरुत्थानका लागि गर्नुपर्ने नीतिगत सुधारबारे पनि सरकारले आगामी बजेटबाटै सम्बोधन गर्नुपर्ने सुझाव पनि बोर्डले दिएको छ ।
पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी एवं पर्यटन श्रमिकको पेशागत सुरक्षाका लागि मात्रै रु.२० अर्बको प्याकेज ल्याउनुपर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी बताउँछन् । पर्यटन क्षेत्रमा कार्यरत रहेको प्रमाणपत्र, कर्मचारीको पछिल्लो तीन महीनाको तलब ब्याङ्कमा जम्मा गरेको कागजात, स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र, आयकर तिरेको रसिद वा सामाजिक सुरक्षा कोषको पुष्टीकरणमध्ये कुनै पनि प्रमाण मागेर राहत दिन बोर्डले सिफारिश गरेको छ ।
पुस २०७६ सम्मको तथ्यांक अनुसार पर्यटन विभागमा दर्ता भएका ट्राभल एजेन्सी ३ हजार ६८०, ट्रेकिङ कम्पनी २ हजार ७६४, पर्यटक यातायात कम्पनी ८३, ¥याफ्टिङ एजेन्सी ८६ वटा छन् । विभागको तथ्यांक अनुसार टुरिष्ट गाइड ४ हजार २००, ट्रेकिङ गाइड १७ हजार ५२५ र रिभर गाइड २८६ जना छन् । विभागका निर्देशक सुरेन्द्र थापाका अनुसार माघ २०७६ देखि सबै पर्यटन व्यवसाय प्रदेश मातहत छन् । त्यसैले विभागमा दर्ता भएका भन्दा बढी संस्था र जनशक्ति संलग्न हुनसक्छ ।
सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो नेपाल) का पूर्व अध्यक्ष तथा एरोलिना ट्राभल एण्ड टूर्सका प्रबन्ध निर्देशक यमबहादुर खड्का सरकारले कृषिमा सहुलियत दरमा ऋण दिए जस्तै अब पर्यटनलाई प्राथमिकता दिएर सहुलियत ऋण तथा राहत दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘‘यस पटकको बजेटमा व्यवसायीले राज्यको तर्फबाट केही न केही अपेक्षा गरेका छन्, व्यवसाय बचाउन पनि अगामी बजेटमा केही न केही कार्यक्रम ल्याउनुपर्छ ।”
होली हिमालयका सञ्चालक ज्योति अधिकारी राज्यले पर्यटन उद्योगलाई बचाइराख्न, पूर्वाधारलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुपर्ने बताउँछन् । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि यो क्षेत्रमा ठूलो लगानी भित्रिएको थियो । त्यसलाई टिकाउन दुई–तीन वर्षसम्म पर्यटकको आगमन अनुसार घरभाडा तय गर्नुपर्ने उनी बताउँछन् ।
सन् २०२० को लागि घोषणा भएको पर्यटन वर्षलाई संशोधन गरेर अब पर्यटन दशकमा जाने सरकारको तयारी छ । त्यसैले सरकारले समग्र पर्यटनको छवि सुधार्ने गरी अबको तीन–चार वर्ष पर्यटनमा लगानी गरेर उचित वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् ।
विकल्पमा कृषि पर्यटन
पर्यटन व्यवसायमा मात्रै निर्भर भएका र लगानी जति सबै यसैमा खन्याएका व्यवसायीलाई अब दुईदेखि तीन वर्ष धान्न निकै गाह्रो छ । अन्तर्राष्ट्रिय पर्यटनमा मात्रै भर परेका व्यवसायीले पर्यटक आवागमन शुरू नभएसम्म वैकल्पिक पेशा गर्नुपर्ने पर्यटन व्यवसायी राजन सिंखडा बताउँछन् । पर्यटनको विकल्प कृषि हुनुपर्ने उनको भनाइ छ ।
पर्यटनमा २०औं वर्षदेखि क्रियाशील सिंखडाले व्यवसायका लागि लिएको ऋण मात्रै रु.११ करोड छ । उनलाई ऋण चुक्ता गर्न १० वर्ष लाग्थ्यो । तर, अब १५ वर्षमा मात्र सकिने उनी बताउँछन् । तर, यसका लागि आम्दानीको नयाँ विकल्प खोज्नुपर्ने उनी बताउँछन् । उनले अब कृषि पर्यटनलाई जोड दिएर काम गर्ने गरी योजना बनाइरहेका छन् ।
कृषि पर्यटनलाई जोड दिन थालेको पर्यटन व्यवसायी ज्योति अधिकारीले कृषि फार्म शुरू गरिसकेका छन् । अहिले उनी त्यसैलाई प्रवद्र्धन गर्दैछन् । उनको कृषि फार्म काठमाडौंको गोलढुंगामा पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।
कृषि पर्यटनलाई जोड दिन थालेको पर्यटन व्यवसायी ज्योति अधिकारीले कृषि फार्म शुरू गरिसकेका छन् । अहिले उनी त्यसैलाई प्रवद्र्धन गर्दैछन् । उनको कृषि फार्म काठमाडौंको गोलढुंगामा पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । उनले धादिङको कुरिनटारमा १५ रोपनी क्षेत्रफलमा इको फार्मिङ पनि सञ्चालन गरेका छन् । अब पर्यटनबाट मात्रै बाँच्न नसकिने हुँदा कृषि पर्यटनका लागि आफूले नयाँ क्षेत्र रोजेको उनी बताउँछन् ।
हाइल्याण्डर ट्रेक्स एन्ड एक्सपीडिशनका प्रबन्ध निर्देशक हरि धरेलले २०७२ देखि नै कृषि पर्यटनको योजना बनाएका थिए । उक्त योजना पूरा गर्न उनले नुवाकोटमा ८० रोपनी जमीन लिइसकेका छन् । कृषि पर्यटनले योजना मुताविक आम्दानी दिन तीनदेखि चार वर्ष लाग्ने उनी बताउँछन् ।