अमेरिकी राष्ट्रपति ट्रम्पले सिफारिस गरेको औषधि कोरोना संक्रमितलाई खुवाउन डब्लुएचओको रोक
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्विन र क्लोरेक्विनलाई कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग गर्न रोक लगाएको छ । धेरै देशले प्रयोग गरिरहेको यो औषधिको व्यापक विश्लेषण गरिने पनि डब्लुएचओले उल्लेख गरेको छ ।
डब्लुएचओ महानिर्देशक डा. ट्रेन्डस अधनान घेब्रिएससले यो औषधिबारे थप अनुसन्धान आवश्यक रहेको जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोनाभाइरस संक्रमितलाई खुवाउनु पर्ने बताउँदै आएका थिए ।
मलेरियाविरुद्धको यो औषधिको जथाभावी सेवनले मुटुको समस्या हुनसक्ने चिकित्सकहरुको चेतावनीलाई पनि उनले सुनेका थिएनन् । उनी आफूले पनि कोरोनाभाइरसबाट जोगिन यही औषधि सेवन गरिरहेको पनि दाबी गरेका थिए ।
तर, यो औषधिले संक्रमितको मृत्यु हुने संभावनामा वृद्धि गरेको एक अध्ययन प्रतिवेदन आए लगत्तै डब्लुएचओले सेवनमा अस्थायी रोक लगाउने निर्णय गरेको हो । गत साता ‘द लन्सेट’ नामको मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्विनले कोरोनाभाइरस संक्रमितलाई कुनै फाइदा नपुग्ने बरु मृतकको संख्या बढाउने उल्लेख थियो ।
लन्सेटले ९६ हजार कोरानोभाइरस संक्रमितमा अध्ययन गरेको र तीमध्ये १५ हजारलाई यो औषधि मात्रै वा एन्टिबाइटिकसहित दिइएको जनाइएको छ । यो औषधि दिइएका बिरामीको मुटुको गतिमा जटिलता भएर मृत्युको संभावना बढेको थियो ।
अध्ययनका क्रममा हाइड्रोक्सीक्लोरोक्विन दिइएकाको मृत्युदर १८ प्रतिशत र क्लोरिक्विन दिइएकाको मृत्युदर १६.४ प्रतिशत थियो । यी दुवै औषधिसँग एन्टिबायटिक पनि दिइएका संक्रमितको मृत्युदर अझ बढी थियो । तर, यी औषधि मेलेरियाका बिरामीलाई भने प्रयोग गर्न सकिन जनाइएको छ ।
-बीबीसीबाट