कार्यकाल लम्ब्याउने पक्षमा नभएकाे देउवाकाे दाबी
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुनेमा शंका नगर्न आग्रह पनि गरे ।
अर्को एक विषयमा देउवाले केन्द्रीय सदस्यहरुले आफ्नो चरित्रहत्या गरेको भन्दैं रोष प्रकट गरे ।
केन्द्रीय सदस्य डा. शेखर कोइरालाप्रति लक्षित गर्दै देउवाले पार्टी नेतृत्वबारे जथाभावी नबोल्न उनलाई सचेत गराएको पनि बताए । यसबारे कोइरालालाई आफूले बोलाएरै सोधेको उनको भनाइ थियो ।
तर, बोलेकै भरमा कारवाही हुँदैन, किनभने यो कांग्रेस हो”, देउवाले भने । पार्टी महाधिवेशनमा आफ्नो चरित्रहत्या गर्नेले जवाफ दिनु पर्ने बताउँदै देउवाले हारजितको कुरा चुनावबाटै थाहा हुने पनि बताए ।
महासमितिको निर्णय सभापतिले नमानेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवा महासमितिले केन्द्रीय समितिले निर्णय गरोस् भनेको दाबी गरे । विशेष महाधिवेशन गर्नुपर्ने माग लिखित रुपमा नआएको उनको भनाइ थियो ।
वाइडवडी प्रकरणमा भने प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएकाले अहिले केही नबोल्ने देउवाले बताए ।