ताइवानको उदाहरणः बन्दाबन्दी नगरी कोभिड–१९ नियन्त्रणमा यसरी बन्यो सफल
कोभिड-१९ संक्रमणको उद्गम मुलुक चीनसँग जोडिएको ताइवान सार्वजनिक जीवन र आन्तरिक आवागमनमा बन्देज नलगाई भाइरस नियन्त्रणमा सफल र उदाहरणीय देखिएको छ।
कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि अधिकांश मुलुक संघर्षरत छन्। संक्रमणका हिसाबले नयाँ–नयाँ हटस्पट देखिने गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, चीनसँग जोडिएको ताइवानले भने भाइरस नियन्त्रणमा सफलता पाइरहेको छ।
१२ जेठसम्ममा ताइवानमा जम्मा चार सय ४१ कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये ४ सय १५ जना निको भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ। बाँकी १९ जनाको उपचार चलिरहेको छ।
झण्डै ताइवानको जति नै जनसंख्या रहेको अष्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या सात हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ सय २ पुगिसकेको छ। अष्ट्रेलियाको जनसंख्या करीब २ करोड ५० लाख छ भने ताइवानको २ करोड ३० लाख।
यो तुलनात्मक तथ्यले कोभिड–१९ फैलिन नदिन ताइवानको सफलता उदाहरणीय देखिन्छ। भाइरस नियन्त्रणमा ऊ कसरी सफल भयो त ?
गएको जनवरीदेखि जब चीनको वुहान शहरमा भाइरस संक्रमण फैलिन थाल्यो, त्यसपछि ६ फेब्रुअरीमा ताइवानले चीनबाट हुने आवागमनलाई प्रतिबन्ध लगाएको थियो। साथै, समुद्री मार्गबाट अत्यावश्यक बाहेकका जहाज आउन पनि रोक लगाइयो। गएको मार्चदेखि त्यहाँ सर्जिकल मास्कको उत्पादन बढाइएको थियो।
जसबाट लोकतान्त्रिक मुलुक भएर पनि महामारीजन्य रोग नियन्त्रण गर्न सकिन्छ भन्ने बलियो उदाहरण उसले प्रस्तुत गर्यो।
विगतको महामारीलाई सिकाइको रूपमा लिएकाले पनि ताइवान यस पटक बलियो रूपमा उभिन सक्षम भयो।
सन् २००३ मा सार्स रोगको प्रकोप फैलिंदा त्यहाँ ३ सय ४६ जना प्रभावित भएका थिए भने ७३ जनाको ज्यान गएको थियो। त्यस वेलादेखि नै ताइवान भविष्यमा हुनसक्ने महामारीजन्य रोग नियन्त्रणका लागि पूर्वतयारी अवस्थामा रहने गरेको अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थकी संक्रमणजन्य रोग विशेषज्ञ क्रिस्टिन चियोले द डिम्लोम्याट पत्रिकाको लेखमा उल्लेख गरेकी छन्।
चीनको वुहानमा शुरूका दिनमा रहस्यमयी निमोनियाका बिरामी भेटिन थाले लगत्तै ताइवान चनाखो भएको थियो। २० जनवरीमै ताइवानले सेन्ट्रल इपिडेमिक कमान्ड सेन्टर (सीईसीसी) बनायो, जसमा चिकित्सा विज्ञान र जनस्वास्थ्य विषयका विज्ञहरूलाई राखियो।
ताइवानले त्यस वेलादेखि नै संक्रमण रोकथामका लागि निगरानी, जाँच, क्वारेन्टिन र आइसोलेसनको काम शुरू गरेको थियो। सीईसीसीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारी निकायहरूबीच समन्वय मिलाउँदै आएको छ।
पूर्वतयारी राम्रै गरेका कारण त्यहाँ महामारीका बीच पनि लकडाउन (बन्दाबन्दी) गरिएन। यातायात पूर्ववत् चलिरह्यो, तर सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउने व्यवस्था अनिवार्य गरिएको छ।
यस्तै, विद्यालय, डिपार्टमेन्ट स्टोर, सिनेमाघर, नाट्यशाला पनि बन्द गरिएको छैन। तर, त्यहाँको सरकारले ठूलो समूहमा भेला हुने कार्यलाई निरुत्साहित गरेको छ। एक मिटरको दूरी कायम गरेर सार्वजनिक स्थलमा हिंडडुल लगायत गतिविधि गर्न पाइन्छ।
ताइवानमा शुरूका दिनमा भाइरस संक्रमित भएकाहरूमध्ये अधिकांश युरोप र उत्तरी अमेरिकाबाट फर्किएकाहरू थिए। विदेशबाट फर्किएकाहरूलाई क्वारेन्टिनमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएका कारण संक्रमण अन्यत्र फैलिन नपाएको हो।
अहिले ताइवानमा ८० हजार व्यक्तिलाई आइसोलेसनमा राखिएको छ। उनीहरूलाई मोबाइल फोनको जीपीएस डेटा मार्फत ट्र्याक गरेर दैनिक निगरानी गर्ने र भाइरसको लक्षण जाँच्ने गरिएको छ।
महामारीको विकासक्रम अनुसार रणनीति
ताइवानले गएको जनवरीदेखि नै कोभिड–१९ को परीक्षण रियल टाइम पीसीआर मेशिन मार्फत गर्ने व्यवस्था मिलाएको थियो। शुरूका दिनहरूमा संक्रमण फैलिएको देशबाट आएका वा लक्षणसहित फर्किएकाहरूको मात्र परीक्षण गर्ने गरिएको थियो। तर, पछि फ्लुको लक्षण देखिएका बिरामीको पनि कोभिड–१९ परीक्षण गर्न थाल्यो।
त्यहाँ कोरोनाभाइरसका पहिलो संक्रमित विदेशबाट आएका नभई स्थानीय क्याब चालक देखिएका थिए। उनले चीन लगायत अन्य देशबाट फर्केका यात्रुहरूलाई आफ्नो गाडीमा चढाएको पाइएको थियो।
त्यसपछि सीईसीसीले निगरानी र परीक्षणसम्बन्धी निर्देशिका परिमार्जन गर्दै महामारीको विकासक्रम अनुसार काम गर्ने निर्णय लियो।
ताइवान सरकारले कोभिड–१९ का मुख्य लक्षण ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेलाई मात्र होइन, गन्ध र स्वाद थाहा नपाउने व्यक्तिहरूको पनि अनिवार्य परीक्षण गर्ने नियम बनाएको छ।
त्यहाँ कोरोनाभाइरसको उपचारमा प्रयोग हुने थेराप्युटिक्स औषधि र भ्याक्सिन विकास गर्न अनुसन्धानको काम पनि अगाडि बढाइएको छ।
उपयोगी हुनसक्छ अनुभव
सीएनएनका अनुसार, ताइवानले कोभिड–१९ नियन्त्रणमा गरिरहेको काम र उसको अनुभवलाई स्वास्थ्यसम्बन्धी विश्वव्यापी छलफलमा राख्ने तयारी भइरहेको छ।
अमेरिका, जापान, न्यूजिल्याण्डले ताइवानको अनुभवलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सदस्य राष्ट्रहरूको वार्षिक बैठक ‘वल्र्ड हेल्थ असेम्ब्ली’ मा राख्न आवाज उठाइरहेका छन्।
ताइवान अहिलेसम्म डब्लूएचओको सदस्य राष्ट्र बनेको छैन। बरु डब्लूएचओका सदस्य राष्ट्रहरूको वार्षिक बैठकमा अवलोकनकर्ताको रूपमा सन् २००९ देखि २०१६ सम्म काम गरेको थियो। जुन वेला ताइवानको सरकार क्योमिनट्याङ दलले चलाएको थियो।
सन् २०१६ देखि डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले सत्ता सञ्चालन गर्न थालेपछि भने त्यो क्रम पनि टुट्यो। यद्यपि ताइवानकी राष्ट्रपति साइ इङ वेनले १४ मे मा ट्वीटरमा ट्वीट गर्दै विश्वव्यापी स्वास्थ्य सञ्जालसँग ताइवानको राम्रो सम्बन्ध रहेको बताएकी छन्। उनले लेखेकी छन्, “डब्लूएचओसँग सम्पर्क गरी कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाइँमा सहयोग गर्न ताइवान तयार छ।”
कोभिड–१९ संक्रमणले ताइवानलाई आफ्नो देशको प्रोफाइल अन्तर्राष्ट्रिय समुदायसम्म फैलाउने अवसर दिएको छ। लोकतान्त्रिक मुलुकले पनि निश्चित नीति–नियममा बाँधेर यो महामारी नियन्त्रण गर्न सकेको विषयलाई अन्तर्राष्ट्रिय समुदायले उदाहरणीय मानिरहेका छन्।
महामारी नियन्त्रण गर्न सफल भइरहेको प्रचार गरिरहेको चीनसहितका कैयौं मुलुकले कोभिड–१९ नियन्त्रण गर्न बन्दाबन्दी गरे पनि ताइवानले भने यस्तो कदम चालेन। त्यति हुँदाहुँदै पनि भाइरस नियन्त्रणमा उसको सफलता अझ प्रशंसित बनेको छ।
ताइवानले कोभिड–१९ विरुद्ध लड्न विभिन्न मुलुकसँग सहयोग आदानप्रदान गर्न अग्रसर देखिएको छ। गएको मार्चमा उसले अमेरिकासँग संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षण गर्ने किट, भ्याक्सिन, औषधि र आवश्यक प्रविधिको विकास गर्न सघाउने बताएको थियो।
ताइवानले अन्य मुलुकहरुलाई कोभिड–१९ नियन्त्रण गर्न आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
याे पनि पढ्नुहाेस् – अवैज्ञानिक आरडीटीमै जोड, चीनबाट खरीद गरिंदै थप एक लाख थान किट