प्रधानमन्त्री चढेको जहाज ‘होल्ड’ भएकोमा छानबिन गरिने
प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज ‘होल्ड’ भएको विषयमा छानबिन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानून मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उडड्यन प्राधिकरणका नवीना कर्माचार्य सदस्य छन् ।
विशिष्ठ व्यक्तिको उडान ‘होल्ड’ भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
२१ फागुनमा झापाको चन्द्रगढीबाट काठमाडौं अवतरण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको जहाजले काठमाडौंको आकाशमा तीन फन्का लगाएको थियो ।
लापरवाही र बेवास्ताका कारण जहाज होल्ड भएको पाइए एअर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सम्बन्धित एयरलाइन्सले अतिविशिष्ठ व्यक्तिको उडानबारे विमानस्थललाई जानकारी नगराएका कारण प्रधानमन्त्री चढेको जहाज होल्डमा परेको जनाएका छन् ।