कोरोनाभाइरस संक्रमितः दुई महीनामा २४९, पछिल्लो १० दिनमा ३५४
नेपालमा पहिलो संक्रमण भेटिएको दुई महीनामा २४९ जना संक्रमित भेटिएका थिए । तर, पछिल्लो १० दिनमा नै ३५४ नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो १० दिनमा संक्रमण दर बढेको छ । आइतबार (११ जेठ) सम्ममा संक्रमितको संख्या ६०३ पुगिसकेको छ । अघिल्लो आइतबार (४ जेठ) मा जम्मा संक्रमित २९५ जना थिए । २ जेठमा भने २४९ जना संक्रमित थिए ।
गएको बुधबारदेखि शनिबारसम्म नयाँ संक्रमित भेटिने दर प्रत्येक दिन बढेको थियो । बुधबारदेखि शनिबारसम्म क्रमश:, २५, ३०, ५९ र ६८ जना संक्रमित भेटिए ।
आइतबार भने यो दरमा कमी आएको छ । आइतबार जम्मा १९ संक्रमित भेटिएका छन् ।
सर्वाधिक संक्रमित भने ३० वैशाखमा भेटिएका थिए । उक्त दिन ८३ नयाँ संक्रमित थपिएका थिए । त्यसको अघिल्लो दिनसम्म नेपालमा १३४ संक्रमित थिए । ठूलो संख्यामा संक्रमित फेला परेकै दिन २०० को आँकडा पार भएको थियो ।
नेपालमा सर्वप्रथम ३ फागुनमा पहिलो संक्रमित फेला परेका थिए । त्यसको एक महीना सात दिनसम्म नयाँ संक्रमित फेला परेका थिएनन् । त्यसपछि १० चैतमा दोस्रो र १२ चैतमा तेस्रो संक्रमित फेला परेका थिए ।
२२ चैतमा एकै दिन तीन जना संक्रमित फेला परेका थिए । एकै दिन एकभन्दा बढी संक्रमित फेला परेको यो नै पहिलो पटक थियो।