कोरोनाभाइरसबाट सर्वाधिक संक्रमित १०औं देश भयो भारत
भारत कोरोनाभाइरसबाट सर्वाधिक संक्रमित १० औं देश भएको छ । अहिलेसम्म १२ देशमा एक लाखभन्दा बढी संक्रमित छन् । भारतपछि इरान र पेरु छन् ।
भारतमा कूल संक्रमितको संख्या एक लाख ३८ हजार ५३८ पुगेको छ । त्यहाँ अहिलेसम्म चार हजार २४ जनाको मृत्यु भएको छ भने ५७ हजार ६९२ जना निको भएका छन् ।
भारतमा आइतबार पहिलोपटक एकैदिन सात हजारभन्दा बढी संक्रमित भएका छन् । आइतबार मात्र सात हजार ११३ जना संक्रमित फेला परेका छन् । विभिन्न प्रान्तमा फसेका मजदुरहरु घर जान निस्कने क्रम नरोकिंदा त्यहाँ संक्रमण अनियन्त्रित हुन थालेको छ।
आइतबार कोरोनाभाइरस संक्रमणबाट १५६ जनाको मृत्यु भयो । दैनिक मृत्युदर अझै बढ्न सक्ने चिकित्सकहरुले चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।