मुसिकोट नगरपालिकाले भारतमा अलपत्र साढे चार सय जनालाई ल्याउँदै, स्वास्थ्यका जनशक्तिको अभाव
गुल्मीको मुसिकोट नगरपालिकाले भारतमा अलपत्र आफ्ना नागरिकलाई उद्धार गरेर ल्याउने तयारी गरिरहेको छ।
घर फर्किन चाहेर नाम टिपाएका साढे चार सय जनालाई उद्धार गरेर ल्याउने निर्णय गरिएको मेयर सोमनाथ सापकोटाले बताए। उनले भने, "आउन रोक लगाइएको अवस्थामा लुकिछिपी आउने प्रवृत्तिले समुदायमा जोखिम बढ्छ, त्यसैले उद्धार गरेर क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ।"
नगरपालिकाले ९ र १० जेठमा भारतबाट सुनौली नाका हुँदै भित्रिएका १५ जनालाई क्वारेन्टिनमा राखेको छ। हालसम्म क्वारेन्टिनमा १६ जना बसिरहेको र उनीहरुमा अहिलेसम्म कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको नगरपालिकाले जनाएको छ। "उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेपछि स्वाब संकलन गरी कोरोनाभाइरस परीक्षण गरिनेछ", मेयर सापकोटाले भने।
उनका अनुसार, नगरपालिकाभित्र ७१ स्थानमा क्वारेन्टिन बनाइएको छ, तीमध्ये १० वटा क्वारेन्टिन स्थलमा १ सय ९० बेड राखिएको छ।
जनशक्ति अभाव
मुसिकोट नगरपालिकाले वडा नम्बर ७ मा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा १६ बेडको आइसोलेसन वार्ड बनाइएको नगरपालिकाले जनाएको छ। आइसोलेसन वार्डमा संक्रमित उपचार गर्न पाँच जना स्वास्थ्यकर्मी छुट्याइएको छ।
मेयर सापकोटा आइसोलेसन वार्ड बनाउन आवश्यक पूर्वाधार र जनशक्तिको अभाव रहेको बताउँछन्। यस्तै, स्वाब परीक्षणका लागि सामग्री र जनशक्ति पनि नभएको उनले बताए। स्वास्थ्य चौकीका एक जना ल्याब टेक्निसियनलाई जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत स्वाब संकलन गर्नेबारे तालिम दिइएको छ।
मेयर सापकोटा विदेशबाट फर्किएकाहरुको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन गर्न प्रदेश सरकारले थप स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने बताउँछन्। “कसैमा कोरोना संक्रमण भेटियो भने आइसोलेसन वार्डमा उपचार गर्ने एमबीबीएस तहसम्मका चिकित्सक पनि छैनन्”, उनी भन्छन्, “त्यसैले प्रदेश सरकारले चिकित्सकको व्यवस्था गरिदिनुपर्छ।”
विगतमा प्रदेशमा प्रयोगशाला नहुँदा १ चैतदेखि १५ गतेसम्म विभिन्न मुलुकबाट फर्किएका नागरिकहरुलाई क्वारेन्टिनमा नराखी घर पठाउनुपरेको थियो। खाडी, मलेशिया, भारत लगायत मुलुकबाट मुसिकोट नगरपालिकामा भित्रिएका ४ सय ८ जनाको कोरोना भाइरस परीक्षण नगरी घर पठाउनुपरेको मेयर सापकोटाले बताए।
तीमध्ये ३ सय ७५ जना भारतबाट र ३३ जना खाडी लगायतका तेस्रो मुलुकबाट फर्किएका थिए। जबकि, त्यसवेला नै स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले निर्देशिकामा विदेशबाट आएकाहरुलाई १४ दिनसम्म राखेर निगरानीमा राख्नुपर्छ भनेको थियो।
मन्त्रालयले १४ वैशाखमा निर्देशिका परिमार्जन गर्दै विदेशबाट आएको तीन महीना पुगेको छैन भने र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) मार्फत स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका एक विज्ञ चिकित्सक भन्छन्, “उक्त नगरपालिकाले तत्कालै ती सबै जनाको आरडीटी मार्फत स्वास्थ्य परीक्षण गर्नुपर्छ।”
आरडीटी किटले शरीरमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडी बने/नबनेको मापन गर्छ।
मुसिकोट नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि रु.१ करोड बजेट छुट्याएको छ। प्रदेश-५ सरकारबाट नगरपालिकाले रु.१५ लाख बजेट पाएको छ।