‘जुम एप’ बाटै कौसी खेती तालिम, फल्न थाले तरकारी
गैरसरकारी संस्था गुठीको फेसबुक पेजमा 'जुम एप' मार्फत काैसी खेतीकाे तालिम दिन थालेपछि धेरैले बन्दाबन्दीकाे समयकाे सदुपयाेग गर्न थालेका छन् । सरकारले पनि आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रममा कौसी खेती प्रवर्द्धनलाई समेत समेटेको छ । काठमाडौंलाई हरियाली बनाउन कौसी खेतीले मद्दत गर्ने विज्ञहरु बताउँछन्।
धापासीकी मैयाँ बज्रचार्यले बन्दाबन्दीको समयलाई छतमा बोटबिरुवा स्यहार्न सदुपयोग गरेकी छिन्। शिक्षण पेशामा आवद्ध उनले यसअघि कौसी खेतीका लागि समय दिन पाएकी थिइनन्।
बन्दाबन्दीअघि उनले कौसीमा फूलका केही विरुवा लगाउँथिन् । तर, अहिले तरकारी रोप्ने र त्यसका लागि आफैँले कम्पोष्ट मल तयार गर्छिन् । भान्छाबाट निस्कने फोहोर छुट्टयाएर, कुहिनेलाई मल बनाउँछिन्।
गैरसरकारी संस्था गुठीको फेसबुक पेजमा जोडिएपछि उनले कौसी खेती गर्ने तरिका जानेकी हुन् । आफूले किताबमा पढेको विषय व्यवहारमा उतार्दा धेरै फरक महसुस भएको उनी बताउँछिन् । “विज्ञान विषय अध्यापन गराए पनि आफैँले कृषि र वातावरणसम्बन्धि काम गरेको थिइनँ, अहिले व्यवहारिक कुरा पनि सिक्न पाएँ”, उनी भन्छिन्।
गुठीले कौसी खेती गर्न सिकाउन ‘जुम एप’ मार्फत भर्चुअल तालिम पनि दिन्छ । बन्दाबन्दीमा चारवटा भर्चुअल अन्तक्रिया कार्यक्रम गरेको गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । गुठीको फेसबुक पेजबाट अनलाइन तालिमको आह्वान गरिएको थियो।
कम्पोस्ट मल सम्बन्धि जिज्ञासा र जवाफ, कौसी खेती सम्बन्धि अनलाइन तालिम, कौसी पुष्प बगैँचा लगायतका विषयमा तालिम भइसकेको छ । बन्दाबन्दीमा सफाइ मजदुर नियमित आउन नसक्ने भएकाले भान्छाबाट निस्कने ४० प्रतिशत फोहोर व्यवस्थापन गर्न सकिने अमात्य बताउँछन्।
शेषनारायण महर्जन कौसी खेती प्रशिक्षक हुन् । उनका अनुसार काठमाडौंका अधिकांश घरको कौसीमै तरकारी फलाउन सके ७५ प्रतिशत तरकारी बाहिरबाट आयात गर्नु पर्दैन।
उनले विगत १२ वर्षदेखि कौसी खेती गर्दै आएका छन् । पुतलीसडककी रेणुका वैद्यले एक वर्षदेखि कौसी खेती गरिरहेकी छिन् । एक निजी संस्थामा कार्यरत उनले बन्दाबन्दीको समयलाई कौशी खेतीको थप व्यवस्थापनमा सदुपयोग गरेको बताइन् । बिहान र साँझ कौसीमा बिताउँदा समय कटाउ सजिलो भएको उनको अनुभव छ ।
उनी भन्छिन्, “पहिला सुनेको र अरुले गरेको देखेर कौसी खेती गरेको थिएँ, बोटबिरुवाहरु सप्रिदैन थियो, अहिले जुम एपबाट दिइएको तालिम निकै उपयोगी रह्यो ।” बन्दाबन्दी भएकाले कौसी खेतीका लागि माटोको भने अभाव भएको उनी बताउँछिन्।
कौसी खेतीको पहिलो आवश्यकता माटोको मात्रा मिलाउन सक्नु हो । भर्चुअल तालिमबाट आफूले माटोबारे जानेको उनी बताउँछिन् । उनले अहिले सिमी, घिराैंला, टमाटार, धनिँया, साग फलाएकी छिन् । उनी भन्छिन्, “भर्चुअल अन्तरक्रियाको माध्यमबाट बिरुवामा लाग्ने रोग, माटो मिलाउने विधि, मल र पानीको मात्राबारे जान्ने मौका मिल्यो।”
ठिमीका गेहेन्द्रगोपाल गुरुवाचार्यले कौसीमा फर्सी, काँक्रो, करेला, सिमी, बोडी, राजमा, भान्टा लगायतका लहरे तरकारी लगाएका छन् । कम ठाउँमा फालाउन सहज हुने भएकाले लहरेबाली लगाएको उनी बताउँछन् । त्यसबाहेक साग, गोलभेँडा, धनिया, पुदिनाँ र लसुन पनि लगाएका छन्।
बन्दाबन्दीअघि उनी कौसी खेतीलाई धेरै समय दिन भ्याउँदैन थिए । तर, अहिले समय कटाउन सजिलो माध्यम बनेको छ । कौसी खेती गर्ने तरिका पनि फेरिएको छ ।
कुलेश्वरका विज्ञ बज्रचार्यले पनि कौसी मै तरकारी लगाउन थालेका छन् । जुम एपमा अन्तक्रिया गर्न नपाए पनि गुठीको फेसबुक लाइभमार्फत तालिम लिएर पहिलो पटक खेती गरेको उनी बताउँछन्।
भाँडा अभावमा उनले बोरामा नै कम्पोस्ट मल तयार गरेका छन् । उनी भन्छन्, “घरमा आफैले उत्पादन गरेको विषादी रहित तरकारी खान पाएका छौँ ।” कौसी खेतीले शारिरीक व्यायाम भएको र मानसिक तनाव पनि कम हुने उनको भनाइ छ।
प्रशिक्षक महर्जनले ‘जुम’ मार्फत कौसी खेती तालिम दिइरहेका छन् । उनी भन्छन्, “धेरैजसोले कौसीमा खेती गर्ने तरिका, माटो, पानी र मलको मात्रा आदिबारे जिज्ञाशा राख्नु हुन्छ । बीउ र विरुवाको जात र रोप्दा ध्यान दिनुपर्ने विषय पनि सोध्नुहुन्छ।”
कौसी खेती बन्दाबन्दीमा समय कटाउने मात्र नभइ भान्साको आवश्यकता टार्ने माध्यम पनि बनेको छ।
याे पनि हेर्नुहाेस्– बन्दाबन्दीमा वर्जित छ फूलबारी स्याहार्न !
याे पनि हेर्नुहाेस्– बन्दाबन्दीमा सहारा बन्दै वैकल्पिक व्यापार