चीनबाट काठमाडौंका लागि रेलवे-सडक कार्गो सेवा शुरु
चीनबाट काठमाडौंका लागि कार्गो रेल सेवा शुरु गरिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । सिन्ह्वाले शाङ्सीको सिआन शहरबाट शुक्रबार काठमाडौंका लागि रेलवे–सडक कार्गो सेवा शुरु भएको जनाएको छ ।
तिब्बतको सिगात्सेसम्म आउने रेलमा पाइप, कपडा, जुत्ता लगायत सामग्री रहेको जनाइएको छ । त्यहाँबाट केरुङ र तातोपानी सडकमार्ग भएर काठमाडौंसम्म उक्त सामग्री ल्याइनेछ । शुक्रबार छुटेको रेलमा ३९० टन सामग्री रहेको छ ।
यी सामग्री आठ दिनमा काठमाडौं आइपुग्ने पनि सिन्ह्वाले जनाएको छ । उक्त रेल सेवालाई चिनियाँ सञ्चार माध्यमहरुले काठमाडौं हुँदै दक्षिण एसिया जोड्ने पहिलो सेवा भएको उल्लेख गरेका छन् ।
भारतको एकतर्फी निर्भरता तोड्नेगरी सरकारले चिनियाँ बन्दरगाह भएर सामग्री ल्याउनेगरी सम्झौता गरिसकेको छ । २०७२ को संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएपछि नेपालले उत्तरी छिमेक चीनसँग हिमालपार कनेक्सन सम्झौता गरेको छ।