कोरोना संक्रमित र भारतबाट आउनेहरुको संख्या अप्रत्याशित रुपमा बढेपछि कपिलवस्तु जिल्लाका स्थानीय पालिकाले आफै स्वाब संकलन गर्न शुरु गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतका अनुसार पालिकाले आफ्नै लागतमा भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किनेर स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि राट्रिय जनस्वास्थ्य प्रशोगशाला काठमाडौं, कोरोना परीक्षण प्रयोगशाला भैरहवा र दाङ पठाउने गरेका छन्।
प्रदेश नम्बर ५ का बाँके, दाङ र रुपन्देही गरी तीन ठाउँमा प्रयोगशाला स्थापना गरिएका छन् । प्रदेश नम्बर ५ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीका अनुसार भीटीएम भनेको भाइरस संकलन गर्ने भाँडो हो र यसले भाइरसलाई ‘प्रोटेक्ट’ गर्ने काम गर्दछ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले दुई हजार, शिवराज नगरपालिकाले एक हजार, यशोधरा गाउँपालिकाले एक हजार भीटीएम खरीद गरेर स्वाब संकलन शुरु गरेका छन् । अन्य पालिकाले पनि भीटीएम खरीद गरेको भगतले बताए।
कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाह कोरोनाभाइरसको संक्रमण वृद्धि भएपछि नगरपालिकाले आफ्नै प्रयासमा भीटीएम खरीद गरेर स्वाब संकलनको काम शुरु गरिएको बताए।
शिवराज नपाका नगरप्रमुख नेत्रप्रसाद अधिकारी केन्द्र र प्रदेश सरकारको बाटो हेर्दा ढिलाइ हुने देखिएकाले नगरपालिकाले आफ्नै खर्चमा भीटीएम खरीद गरेर स्वाब संकलनको काम अघि बढाएको बताउँछन्।
“प्रदेश र केन्द्रको बाटो हेर्दा त स्वाब संकलन मै ढिलाइ हुने देखियो, त्यसैले आफ्नै लगानीमा स्थानीय तहले उपकरण खरीद गरी काम शुरु गरेका हौं,” अधिकारी भन्छन् “हामीले यहाँबाट स्वाब संकलन गरेर प्रयोगशालामा पठाउँछौं, प्रयोगशालमा चाप धेरै भएर अहिले पठाउन रोकिएको छ ।”
जिल्ला स्वास्थ्य प्रमुख भगतका अनुसार कपिलवस्तुबाट पठाइएका ३ सय भन्दा बढी स्वाबको नतिजा प्राप्त हुन बाँकी रहेको छ । प्रदेश नम्बर ५ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा राजेन्द्र गिरीका अनुसार, प्रदेशमा सञ्चालित एक प्रयोगशालाबाट एक दिनमा अधिकतम २ सय जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले संकलित स्वाबको चापको वृद्धिले रिपोर्ट आउँदा तीन दिन कुर्नुपर्दछ।
प्रदेश नम्बर ५ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा राजेन्द्र गिरी स्थानीय तहले आफ्नै किसिमले उपकरण खरीद गरेर राम्रो गरेको बताउँछन्।
“हामीले त थेग्नै नसक्ने अवस्था आयो, कन्ट्र्याक ट्रेसिङ्गमा एक जनाको पछाडि एक सय जनाको स्वाब संकलन गर्नुपर्ने अवस्था आयो,” उनी भन्छन् “स्थानीयले उपकरण खरीद गरी आफै स्वाब संकलन गर्नु सकारात्मक पक्ष हो।”