महामारीले खलबल्याएको जीवन-दर्शन फर्काउने चिन्ता
नेपालका प्रायः जातीय समुदायको जीवन–दर्शन ‘अतिथि देवो भवः’ मा आधारित छ तर कोरोनाको महामारीले यो जीवन–दर्शनलाई गल्र्याम्मै ढालिदिएको छ।
जीवन–दर्शनको रूपमा पनि लिइने ‘हिप्पी’ संस्कृति दोेस्रो विश्वयुद्धको प्रभाव मानिन्छ। विश्वयुद्धको सन्त्रासपछि अनेकौं जीवन–दर्शन देखा परेका थिए त्यसैगरी कोरोनाभाईरस (कोभिड–१९) महामारीपछि विश्वमा कस्तो जीवन–दर्शन विकास होला भन्ने चासो पनि धेरैमा छ । जीवन र जगतप्रतिको धारणा यस्तै विपत्तिहरूबाट प्रभावित हुने गर्छन्।
चीनको वुहान क्षेत्रमा कोभिडको महामारी शुरू हुँदा यो त्यहींको मात्र समस्या हो भन्ने ठानिएको थियो । विस्तारै इटली, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशहरूमा फैलियो तर कतिपयलाई नेपालमा पनि यो महामारी प्रवेश गर्ला भन्ने विश्वास थिएन।
देवी–देवताको शक्ति भएको नेपालमा यस्तो विपत्ति आउँदैन भन्ने विश्वास धेरैलाई थियो। यही वेला इसाई मिशनरीहरू धर्मप्रचार तथा धर्मान्तरणको अभियानमा सक्रिय भएको पनि पाइयो। भारतका कतिपय ठाउँमा कसैले ‘कोरोना देवी’ त कसैले ‘कोरोनेश्वर’ नाम दिई भाइरसलाई दैवीकरण गरेर भजन–कीर्तन गरेको पनि थाहा भयो । पूजाआजा तथा भावभक्तिका अनेक रूप भारतबाहेक अन्यत्र पनि देखिए तर यो कोरोना महामारीले कसैलाई कुनै प्रकारको भेदभाव गरेन।
विश्वमा रहेका विभिन्न धार्मिक आस्थाको इतिहास हेर्दा मानव समाजले वेला–वेलामा सामना गरेका अग्निप्रकोप, बाढीपहिरो, चट्याङ, रोगव्याधि लगायतका प्राकृतिक विपत्तिहरूको आधारमा कतिपय देवी–देवताको अस्तित्व कायम गरेको पाइन्छ।
नेपालमै पनि राजा रणबहादुर शाहको शासनकालमा बिफरको महामारी फैलिंदा काठमाडौंको नेवार समाजमा पछिल्लो समय ‘सितला माजु’ देवीको कल्पना गरियो । बौद्ध स्तूपहरूसँगै रहने हारतीलाई स–साना बालबच्चाको रक्षकका रूपमा लिइने बौद्ध परम्परा छ
नेपालमै पनि राजा रणबहादुर शाहको शासनकालमा बिफरको महामारी फैलिंदा काठमाडौंको नेवार समाजमा पछिल्लो समय ‘सितला माजु’ देवीको कल्पना गरियो । बौद्ध स्तूपहरूसँगै रहने हारतीलाई स–साना बालबच्चाको रक्षकका रूपमा लिइने बौद्ध परम्परा छ । यही कारणले ती ‘सितला माजु’ लाई हारतीसँग आत्मसात् गरेर पूजा गर्न थालियो।
विपत्तिहरूबाट छुटकारा पाउन हरेक कुरालाई दैवीकरण गर्ने प्रवृत्ति अहिले पनि छँदैछ । यसैले कोरोना महामारीपछि जीवन–दर्शनमा परिवर्तन आयो भने त्यसलाई स्वाभाविक नै मान्नुपर्छ।
आणविक हातहतियारले सुसम्पन्न तथा विज्ञान र प्रविधिको उच्चतम विकासले कल्पनातीत वस्तु समेत निर्माण गरिसकेका शक्तिसम्पन्न मुलुकहरूलाई पनि कोरोनाभाइरसले ‘लकडाउन’ भन्दै लुक्न बाध्य पार्दा मानव जातिले देखेको आफ्नो हैसियत आफैंलाई किंकर्तव्यविमूढ पार्ने खालको छ।
कार्यालयको काम घरबाटै गर्ने होउन् वा कार्यस्थलमै काम गरिरहेकाहरू किन नहुन्, सबैलाई कोरोनाभाइरसले झट्का दिएको छ । मृत्यु सबैका लागि अवश्यंभावी छ त्यसैले मानिसलाई यसले अनेकौं आयामबाट सोच्न बाध्य पार्दैछ । यो सोचले कुन धार पक्रन्छ र कसरी अगाडि बढ्छ भन्ने कुराले मूर्तरूप तत्कालै नलिए पनि केही वर्ष वा दशकपछि लिने नै छ।
बौद्ध धर्मको इतिहासमा श्रीलंकाको नाम विशिष्ट रूपमा लिइन्छ किनभने इस्वीको प्रथम शताब्दीतिर त्यहाँका राजा वट्टगामिनी अभय (इ.पू. २९– इ.सं. १७) ले सम्पूर्ण बुद्ध वचनहरू ताडपत्रमा लिपिबद्ध गराएर सुरक्षित राखेका थिए । श्रीलंकाली वंशावली ‘दीपवंश’ मा त्यसवेला श्रीलंकामा दुर्भिक्ष (खाद्य सङ्कट) भएकाले खान नपाएर २४ हजार बौद्ध भिक्षुहरूको मृत्यु भएको उल्लेख गरिएको छ।
भिक्षुहरूको अकाल मृत्यु र पलायनले श्रुति–परम्परामा रहेको बुद्ध वचन नाशिने चिन्ताले लिपिबद्ध गराइएको थियो । दुर्भिक्षअघि कुनै महामारी पनि फैलिएको हुनसक्छ । महामारी वा दुर्भिक्षको संकटमा राज्यले बुद्ध वचन ताडपत्रमा लिपिबद्ध गर्न गरेको दूरगामी लगानी आजको सन्दर्भमा चर्चायोग्य छ।
महामारीले चीन, इटाली, फ्रान्स, बेलायत, अमेरिका, स्पेन, भारतमा जस्तो भयावह क्षति नपुर्याई यत्तिकै सकियो भने पनि अन्यत्र देखापर्ने जीवन–दर्शनको प्रभाव नेपालमा पनि पर्ने नै छ तर यस सम्बन्धमा नेपालमा खासै तयारी भएको पाइँदैन।
कोरोनाको महामारीपछि विश्वमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायत अन्य क्षेत्रमा के कस्तो प्रभाव पर्छ भन्ने बारेमा विश्वव्यापी बहस हुन थालेको छ । नेपालमा पनि विभिन्न क्षेत्रलाई लिएर बहस हुन थालिसकेको छ तर जीवन–दर्शनका सम्बन्धमा भने खासै चर्चा हुनसकेको छैन।
महामारीले चीन, इटाली, फ्रान्स, बेलायत, अमेरिका, स्पेन, भारतमा जस्तो भयावह क्षति नपुर्याई यत्तिकै सकियो भने पनि अन्यत्र देखापर्ने जीवन–दर्शनको प्रभाव नेपालमा पनि पर्ने नै छ तर यस सम्बन्धमा नेपालमा खासै तयारी भएको पाइँदैन।
कोरोनाको कहरले नभेटोस् भनेर धार्मिक गतिविधिहरू आयोजना गर्न कुनै पनि धार्मिक सम्प्रदाय पछि परेका छैनन् तर यो कहरले अन्यत्र मात्रै नभएर आफ्नै गाउँठाउँ र आफन्तजनलाई लपेट्दा ती सबैका आस्थामाथि धक्का परेको छ । आस्था तथा विश्वासमाथि प्रश्न राख्दै कटाक्ष गर्ने वर्गले थप प्रश्न राख्ने पक्ष वेग्लै छ।
एक क्षेत्रको व्यक्ति अर्को क्षेत्रमा निष्फिक्री हिंडडुल गर्ने र सद्भाव राख्ने परम्परामा पनि आँच आएको छ । स्थानीय र बाहिरबाट आएका मानिस भन्ने भेदभावले पनि ठाउँ पाएको छ । यसबाट परेको प्रभावको आकार कति हुने र कसरी सुल्झाउने भन्ने प्रश्न अबका दिनका लागि चुनौतीपूर्ण छ।
संक्रमण हुन नपाओस् भनेर ‘ह्यान्डसेक’ (हात मिलाउने) र ‘हग’ (अंकमाल) गर्नुभन्दा ‘नमस्कार’ गर्न प्रोत्साहित गरेको छ तर ‘हग’ गर्ने चलन रामायण र महाभारतमा पनि पाइन्छ । भाइरसको संक्रमणबाट टाढा राख्न रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानपानको संस्कृतिलाई प्रवर्द्धन गर्नु नितान्त आवश्यक छ।
आस्था र विश्वास भत्कने वेला परम्परा तथा चालचलनप्रति पनि नकारात्मक दृष्टिकोण राख्ने खतरा भएकाले यी कुराहरूलाई सूक्ष्म ढंगले केलाउने र बुझाउने गर्नुपर्छ। श्रीलंकाका राजा वट्टगामिनी अभयले बौद्ध दर्शनमा लगानी गरे जस्तै कतिपय कुराहरूमा लगानी गर्ने र प्राथमिकतामा राख्नुपर्ने पनि हुनसक्छ।