प्रमका स्वकीय सचिव, अधिकृत, नेताका भान्जा-यसपटक डीएसपीको आवरणमा थिए यी ठग
प्रधानमन्त्री, मन्त्री, नेता, सरकारी अधिकारी र सुरक्षाकर्मीका नाममा ६ वर्षदेखि एउटै व्यक्तिबाट २३ जना ठगिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालादेखि नेकपा नेता वामदेव गौतमको नाम र तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सरकारी निवास समेत ठगले प्रयोग गरे।
महानगरीय अपराध महाशाखाले बिहीबार नियन्त्रणमा लिएका राजकुमार चापागाईं यसपटक सशस्त्र प्रहरीका डीएसपीको भूमिकामा थिए । साथमा थियो, रामबहादुर थापा नामको नक्कली सशस्त्र प्रहरी परिचयपत्र ।
बन्दाबन्दी शुरु हुनु केही दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडाैंले उनलाई कारागार प्रशासन, प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारीहरूलाई फोन गरेको आरोपमा पक्राउ गरेको थियो ।
बन्दाबन्दी शुरु भएपछि प्रहरीले उनलाई सार्वजनिक अपराधको मुद्दामा जिल्ला प्रशासन कार्यालयको आदेशले छाडेको थियो ।
उनै राजकुमार त्यसको दुई महीनापछि तीनजना महिलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परे ।
उनले मन्त्रालयमा आफ्नो पहुँच भएको भन्दै जागिर लागइदिने र सेनाको विद्यालयमा बच्चा भर्ना गरिदिने आश्वासनमा सजना बस्नेत, मुना पाण्डे र सम्झना केसी भट्टराईलाई ठगी गरेको जाहेरी महाशाखामा परेको थियो ।
२०७१ फागुन १० गृह मन्त्रालयको अधिकृत बनेर सातजनाबाट ३२ लाख ६२ हजार ठगी, ४ लाख धरौटीमा रिहा । २०७२ असार २४ जनाबाट ५ लाख ८६ हजार ठगी, ४ लाख धरौटीमा रिहा । २०७२ असोज २८ प्रधानमन्त्रीको स्वकीय सचिव बनेर प्रहरी अधिकारी सहित १० जनाबाट ४२ लाख ठगी, ४ वर्ष नख्खु कारागारमा सजाय भुक्तान । २०७७ जेठ ८ सशस्त्र प्रहरीको डीएसपी बनेर तीन महिलालाई ठगी । अनुसन्धान जारी ।
उनले सजना र मुनाको स्वास्थ्य सेवा विभागमा राजपत्रअनंकित दोस्रो श्रेणीको जागिर सोमबारदेखि शुरु भएको परिचयपत्र समेत बनाएका थिए । जसमा मन्त्रालयका प्रवक्ता विकास देवकाेटाकाे हस्ताक्षर छ। यसका लागि उनले यसबीच रु. १ लाख ८५ हजार लिइसकेका थिए ।
महाशाखा प्रमुख एसएसपी दीपक थापा ठगिएकाहरुको संख्या अझै बढ्न सक्ने बताउँछन् । उनका अनुसार जागिरका लागि रकम मागेपछि तीनमध्ये एकजना महिलाले शंका लागेर महाशाखाको हटलाइनमा फोन गरेकी थिइन् । प्रहरीले फोन गर्ने व्यक्तिका विषयमा अनुसन्धान गर्दा उनी पटके ठग भएको पत्ता लागेको थियो ।
“पटके प्रतिवादी भएको पत्ता लाग्ना साथै टोलीले उनलाई पीडितको सहयोगमा रंगेहात पक्राउ गरेको हो” एसएसपी थापाले भने, “हामी यसको विस्तृत अनुसन्धान गरिरहेका छौं ।”
अहिले सशस्त्रको नक्कली डीएसपी बनेर ठगीमा संलग्न चापागाईं यसअघि प्रधानमन्त्रीको स्वकीय सचिव, नेकपाका नेता वामदेव गौतमको भान्जा, गृह मन्त्रालयको प्रशासकीय अधिकृत र प्रहरी अधिकारी बनेर २१ जनाबाट ७५ लाख ठगीमा पक्राउ परेर जेल सजाय पाएका थिए । एसएसपी थापाका अनुसार गत वर्ष मात्र सजाय भुक्तान गरेर रिहा भएका चापागाईं उस्तै अपराध शैलीमा फर्किएका हुन् ।
प्रधानमन्त्रीको स्वकीय सचिवदेखि वामदेवको भान्जासम्म बनेर ठगी
महानगरीय प्रहरी परिसर ललितपुरले २८ असोज २०७२ मा पक्राउ गरेका चापागाईले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिव बसन्त गौतम र नेकपा नेता वामदेव गौतमको भान्जा देव थापा बनेर ललितपुरका १० जनाबाट ४२ लाख भन्दा बढी रकम ठगी गरेका थिए ।
तत्कालीन परिसर प्रमुख रहेका अवकाशप्राप्त नायब महानिरीक्षक पीताम्बर अधिकारीले त्यसबेला चापागाईंले सर्वसाधारणलाई सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा बोलाएर त्यसकै प्रभावमा ठगी गर्न सफल भएका थिए ।
उनका अनुसार पीडितहरूलाई मन्त्री र प्रहरी महानिरीक्षकको सरकारी निवासदेखि भीडभाड रहने सरकारी अड्डा र त्यहाँका अधिकारीहरूलाई चापागाईंले ठगीका लागि उपयोग गरेका थिए ।
“आफै सेवाग्राही, कार्यकर्ता र पीडित बनेर सरकारी निवास र कार्यालयमा जाने गर्थे, पीडितलाई टाढै राखेर उच्चपदस्थसँग कुरा गर्ने गर्थे,” पुरानो घटना सम्झँदै अधिकारीले भने, “मलाई, एसएसपी उत्तम कार्की र प्रमुख जिल्ला अधिकारीसम्मलाई फोन गरेर आफू प्रधानमन्त्रीको स्वकीय सचिव भएको बताएका थिए ।”
चापागाईंले सर्वसाधारणलाई आफू नेपाल सरकारको वरिष्ठ अधिकृत भएको बताउँदै अर्थ मन्त्रालय, कर सेवा कार्यालय र प्रधानन्यायाधीश कार्यालयमा आकर्षक जागिर लगाइदिने भनेर रकम ठगी गरेका थिए । त्यसबेला चापागाईंले सर्वसाधारण ठग्न नेपाल सरकारको मुख्य प्रशासनिक निकाय सिंहदरबारकै उपयोग गरेका थिए । उनले मन्त्रालयमा र मन्त्री तथा सचिवसँग पहुँच रहेको देखाउन पीडितलाई त्यहीं बोलाउने गरेको अनुसन्धानमा खुलेको थियो ।
ठगीका लागि चापागाईंले त्यतीबेला पीडित रिना महर्जन र दिपा महर्जनलाई तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पंडितसँग पुल्चोकस्थित मन्त्री निवास र सिंहदरबारमा रहेको मन्त्रालयमा भेटाएका थिए । पीडित रिनालाई लिएर मन्त्री पन्डितको सरकारी निवासमा पुगेका चापागाईंले जागिर पक्का भएको भन्दै उनीसँग सात लाख रुपैयाँ असुलेका थिए ।
यो घटनाका बेला पन्डितले हिमालखबरसँग 'जागिरका लागि भनेर आएकी रिनालाई लोकसेवा पढ्न सुझाएको' प्रतिकृया दिएका थिए । चापागाईंले पीडित रिनालाई अर्थ मन्त्रालयबाट अधिकृत तहको सरकारी परिचय पत्र र सरकारी भन्दै स्कुटर र सिमकार्ड समेत उपलब्ध गराएका थिए ।
अर्की पीडित दिपालाई उनले सामान्य प्रशासन मन्त्रालयमा लगेका थिए । त्यहाँ मन्त्री पन्डितसँग हात मिलाएका चापागाईले यही प्रभावमा दिपासँग पटकपटक गरी २५ लाख रुपैयाँ लिएका थिए । दिपा र रिनाका परिवारले चापागाईंलाई सिंहदरबारभित्र नै पटकपटक भेटेर पैसा दिएका हुन् ।
भूकम्पका कारण घर गुमाएको र जग्गा मिचेको घटनासमेत मिलाइदिने भन्दै चापागाईंले उक्त रकम लिएका थिए ।
चापागाईंसँग सञ्चालनमा रहेका विभिन्न दूर सञ्चार सेवा प्रदायक कम्पनीका १२ वटा सिमकार्ड थिए । उनले प्रायः प्रयोग गर्ने पाँचवटा नम्बर (९८५१० -१३९४५, ००२१८,५३४३२,५६६५७ र ९६९६८) हरू त्यतिबेला प्रहरीका वरिष्ठ अधिकारीको मोबाइल सेटमा तत्कालीन प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव गौतमका नाममा सेभ रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
उनले सिडिओ बनेर ललितपुरका विभिन्न जिल्लाका गाविस सचिव र नगरपालिकाका अधिकारीलाई समेत टेलिफोन गर्ने र पीडितहरूलाई आफू काठमाडौं, भक्तपुर र ललितपुरको प्रमुख जिल्ला अधिकारी भैसकेको बताउने गरेका थिए । (हे. भिडियो)
ठगिनेमा महिला बढी
यसपटक चापागाईंबाट ठगिएका तीनजना शिक्षित महिला हुन् । यसअघि ठगिएकाहरू पनि सबै शिक्षितहरू नै थिए । सरकारी जागिर र सुविधाको प्रलोभनमा चापागाईंले सजिलै रकम असुल्दै आएका छन् ।
चापागाईंले २०७२ असोजमा ममिता श्रेष्ठबाट २ लाख ३० हजार, ज्ञानीमाया तामाङबाट ५ लाख २० हजार, रिमा मगरबाट ९३ हजार, विमला शाहबाट १० हजार, रिमा महर्जनबाट ७ लाख, दिपा महर्जनबाट २५ लाख, कुनाल राजथलाबाट ९० हजार र राजकुमार बलामीबाट ५० हजार ठगी गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
२४ असार २०७२ मा चापागाईंले आफूलाई गृह मन्त्रालयको अधिकृत राजेन्द्र थापा बताएर चारजनाबाट ५ लाख ८६ हजार ठगी गरेका थिए । उनले खरिदार पदमा जागिर लगाइदिने भन्दै निलिमा महर्जन र आकृति डंगोलबाट रू ४ लाख ठगी गरेका थिए।
यस्तै त्यतिबेला श्रृष्टि रन्जितलाई स्वास्थ्य मन्त्रालयमा जागिर र सुदिप पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा सहायक पदमा जागिर लगाइदिने भन्दै ठगी गरेका थिए ।
यस्तै १० फागुन २०७१ मा चापागाईंले आफूलाई गृह मन्त्रालयको प्रशासकीय अधिकृत बताउँदै प्रताप लामालाई नायव सुब्बा पदमा जागिर लगाइदिने, कमलबहादुर डंगोललाई सिभिल अस्पतालको क्यान्टिन टेण्डर पारिदिने, पुष्प डंगोललाई असईमा जागिर लगाइदिने, देवराज डंगोललाई राष्ट्रिय अनुसन्धानको प्रहरी निरीक्षकमा जागिर लगाइदिने, अस्मिता डंगोललाई रेडियोग्राफी पदमा जागिर लगाइदिने, जानकी श्रेष्ठलाई सरसफाई र विनिता बस्नेतलाई खरिदार पदमा जागिर लगाइदिन्छु भन्दै ३१ लाख ६२ हजार ठगी गरेका थिए ।
यो घटनामा ४ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर सुन्धारा कारागार गएका उनी पछि धरौटी बुझाएर रिहा भएका थिए ।
पूर्व डीआईजी अधिकारी चापागाईंले उच्च पदस्थ अधिकारीको पहुँच र उनीहरूको नाममा फोन गरेर ठगी गर्ने अपराध शैली अपनाएको बताउँछन् ।
“त्यतिबेला मैले आफैंले समेत बयान लिएको थिएँ” उनले भने, “घरमा सामान्य पारिवारिक समस्या बाहेक उनले अन्य कुनै समस्या बताएका थिएनन् ।” उनका अनुसार यस्तो प्रकृतिको अपराधमा एकपटक सफल भएपछि अपराधीले पटकपटक घटना दोहोर्याउने गर्छन् ।
“शिक्षित नागरिकहरू यस्ता नटवरलालबाट सजग हुन जरुरी हुन्छ,” अधिकारीले भने ।