चार दिनभित्रै नौ शय्याको आईसीयू बन्ने
कोभिड–१९ का बिरामीको उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ शय्याको सघन उपचार कक्ष (आईसीयू) तयार गरिने भएको छ । यो अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ ।
पछिल्ला दिन कोरोनाको जोखिम बढेसँगै अस्पतालमा सम्भावित गम्भीर अवस्थाका बिरामीको उपचारलाई लक्ष्यित गरी विशेष सुविधासहितको कोभिड उपचारमैत्री शय्या निर्माण भइरहेको जनाइएको छ ।
अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि तीन\चार दिनभित्रमा सुविधासम्पन्न आईसीयू तयार हुने बताए ।
आईसीयूको हाल रहेको ११ शय्या क्षमताबाट घटाएर सहज उपचारका लागि नौ शय्यामा सीमित गर्न लागिएको छ । अस्पतालले रु २० लाख लागतमा विशेषखालको उपचार कक्ष निर्माण गरिरहेको जनाएको छ ।
सरकारले सो अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचारका लागि अस्पताललाई तोकिएको हो ।
हालको मेडिकल वार्डमा समेत २५ शय्या कोरोनाका बिरामीको उपचारका लागि तयार गर्न लागिएको अस्पतालले जनाएको छ । आवश्यकतानुसार सो कक्षमा शय्या विस्तार गर्न सकिने उनले बताए ।
“तत्काल कोरोनाका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गम्भीर अवस्थाका बिरामीका लागि केही दिनमा नै आईसीयू र मेडिकल वार्डमा उपचारको प्रबन्ध गरिने छ, अहिले त्यसको काम भइरहेको छ”, उनले भने ।
डेडिकेटेड अस्पताल तोकिएको गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा १० शय्याको आइसोलेशन यसअघि नै तयारी अवस्थामा छ ।
सरकारले आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा आईसीयू व्यवस्थापनका लागि अस्पताललाई रु ६ करोड बजेट पठाएको थियो ।
लेबल एक कोभिड अस्पतालले सामान्य केस व्यवस्थापन आफै गर्नुपर्छ भने बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने उल्लेख छ ।