संक्रमणबाट बढी प्रभावित प्रदेश-५ सरकारकै वेबसाइटमा पाइँदैन कोरोनाबारे जानकारी
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश-५ मा बिहीबारसम्ममा संक्रमितको संख्या १ सय ९६ पुगिसकेको छ।त्यसमध्ये एक जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भएको छ। अब १ सय ९४ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तर, आफ्नो प्रदेशभित्रको वस्तुस्थितिबारे प्रदेश-५ अन्तर्गतका कुनै पनि निकायले यो सूचना आफ्नो वेबसाइटमा राखेका छैनन् ।
भारतबाट सबैभन्दा बढी नेपाली भित्रिएको पनि प्रदेश-५ मा हो। तर, कति नेपाली प्रदेश-५ अन्तर्गतका नाका हुँदै आए ? कति व्यक्ति क्वारेन्टाइनमा बसेर फिर्ता भए ? अनि कति जनाको आरडीटी र पीसीआर जाँच गरियो ? अनि जिल्लागत रुपमा संक्रमितको अवस्थाको जानकारी पनि प्रदेश-५ सरकारका अफिसियल वेबसाइटहरुमा पाइँदैन।
स्वास्थ्य क्षेत्रको तालुकदार मन्त्रालय सामाजिक विकास मन्त्रालय हो । तर, उक्त मन्त्रालयको वेबसाइटमा आफ्नो प्रदेशभित्रको कोरोना भाइरससँग सम्बन्धी तथ्याङ्क त टाढाको कुरा सचेतनामूलक सन्देश समेत छैन । हामीले प्रदेशभित्रको अवस्था जानकारी पाउनका लागि मन्त्रालयका प्रवक्ता टीकाराम अर्याललाई सम्पर्क गर्यौ । तर, उनले हामीले मागेको सूचना स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर प्रसाद चौधरीलाई जानकारी हुने भन्दै उनको सम्पर्क नम्बर दिए । तर, उनको मोबाइल उठेन।
राष्ट्रिय सूचना आयोगकी पूर्व सूचना आयुक्त यशोदा तिम्सिना महामारीको बेला सम्बन्धित निकायले सूचना माग्नुपर्ने स्थिति बनाउन नहुने बताउँछिन्। “महामारीमा जति सूचना प्रवाह गर्न सक्यो त्यसले झन सहज बनाउँछ । स्थानीय भाषामा समेत सूचना प्रवाह हातहातमा पुर्याउनुपर्ने हो यो समयमा,” उनी भन्छिन्।
प्रदेश-५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा कोभिड–१९ शीर्षक छ । तर, त्यसभित्र प्रदेशभित्रको विवरण भेटिन्न । प्रदेश-५ जस्तै सुदूरपश्चिम प्रदेशका मन्त्रालयका वेबसाइटहरुमा पनि कोभिड–१९ सँग सम्वन्धित उक्त प्रदेशमा भए गरेका क्रियाकलाप भेट्न सकिंदैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको साइटमा कोभिड–१९ को नामोनिसान छैन।
अन्य प्रदेशमा व्यवस्थित
प्रदेश नम्वर पाँच र सदूरपश्चिमा बाहेक अन्य प्रदेशले आफ्नो प्रदेशभित्र कोभिड १९ संक्रमणका बिरामी, क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या, पीसीआर, आरडीटी परीक्षण लगायतका जानकारी आफ्नो वेबसाइटमा अद्याबधिक गरेको भेटिन्छ।
जस्तो प्रदेश नम्वर २ को सामाजिक विकास मन्त्रालयले ७ जेठसम्म जिल्लागत रुपमै सम्पूर्ण विवरण आफ्नो वेबसाइटमा अद्यावधिक गरेको छ। प्रदेश-१ को सामाजिक विकास मन्त्रालयमा पनि कोभिड १९ को प्रायजसो विवरण उपलब्ध छन्। बागमती र गण्डकी प्रदेशले पनि आफ्नो प्रदेशभित्र चेकजाँच भएको विवरण र संक्रमितको अवस्थाबारे अद्याबधिक गरेका छन्।
कर्णााली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइटमा कोभिड १९ को छुट्टै शीर्षक मार्फत दैनिक विवरणलाई अद्यावधिक गर्ने गरेको पाइन्छ । उक्त प्रदेशमा भएका गतिविधिलाई राखिएको छ।