सीमामा खटिने सशस्त्र प्रहरीलाई स्थानीय तहले भवन बनाइदिने
बर्दिया जिल्लाका स्थानीय तहहरूले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलका लागि भवन बनाइदिने भएका छन् ।
सीमा क्षेत्रमा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई बस्नको लागि भवन नभएको र खुल्ला आकाशमुनि बस्दा सर्पलगायत विषालु जीवहरूको खतरा रहेकाले भवन बनाइदिने निर्णयमा पुगेको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।
उनका अनुसार एक पालिकाले २ वटा भवन बनाइदिने प्रतिबद्धता जनाएका छन् । बर्दिया जिल्लामा आठ वटा पालिका रहेका छन् । सशस्त्र सीमा सुरक्षा गण बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक यादव विकका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय पालिकाले सशस्त्र प्रहरी बलका लागि भवन बनाइदिने प्रतिबद्धता जनाएका हुन् ।
“हिउँदमा त हामीले टेण्टमा बसेर ड्यूटी गरेका छौं, तर बर्खा र झरीमा त्यो सम्भव हुँदैन,” सशस्त्र प्रहरी उपरीक्षक विक भन्छन् “हावाहुरी छेक्नका लागि १०/ १५ जना अट्ने भवन बनाइदिने प्रतिबद्धता पालिकाबाट आएको छ । यो हुँदा सीमामा खटिने सुरक्षाकर्मीका लागि ठूलो राहत हुन्छ ।”
बर्दियाका गुलरिया, मधुवन, बढैयाताल र राजापुर नगरपालिका भारतसँग सिमाना जोडिएका पालिका हुन् । बर्दिया जिल्लाकाे ८३ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ।
बर्दियामा पाँचवटा बाेर्डर आउट पोष्ट रहेका छन् । बन्दाबन्दीको समयमा भारतबाट आउनेक्रम बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रका १०५ ठाउँमा अहिले ड्यूटी गरिरहेको छ।
बर्षा लाग्नासाथ सबै ठाउँमा ड्यूटी गर्न सम्भव नभएकाले सीमा क्षेत्रलाई अधिकतम कभर गर्ने गरी स्थानीय पालिका सशस्त्र प्रहरीको पोष्ट बनाउनका लागि तयार भएको नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए।
“भारततर्फ सुरक्षाकर्मी छन् । तर, हाम्रोतिर सीमा खुला हुँदा सीमा अतिक्रमणदेखि सीमाबाट अवैध काम हुने गरेका घटना पटकपटक दोहोरिएका छन् । सुरक्षाकर्मीको उपस्थितिलाई बलियो बनाउन हामी सुरक्षाकर्मीलाई सहयोग गर्न तयार भएका हौं,” क्षेत्रीले भने।