डब्लूएचओलाई स्थायी रुपमा सहयोग रोक्ने ट्रम्पको धम्की, चीनले दुई अर्ब डलर दिने
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ३० दिनभित्र काम गर्ने शैली नसच्याए सबै सहयोग स्थायी रुपमा रोक्ने धम्की राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएकै दिन चीनले दुई अर्ब डलर सहयोगको घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै डब्लूएचओलाई दिइरहेको सहयोग कटौतीको घोषणा गरेका थिए। तर, अब ३० दिनभित्र कार्यशैली नसच्याए आफू डब्लूएचओको सदस्यबाट बाहिर निस्कने ट्रम्पले घोषणा गरेका छन्।
डब्लुएचओ प्रमुख टेड्रोस अधनोम घेब्रेयेसुसलाई पठाएको पत्र ट्रम्पले ट्विटर मार्फत सार्वजनिक गरेका छन्। पत्रमा डिसेम्बरदेखि नै डब्लूएचओले जिम्मेवारीपूर्वक काम नगरेको उल्लेख छ।
ट्रम्पले डब्लूएचओलाई ‘चीनको कठपुतली’ को संज्ञा दिएका छन्। उनले यसअघि पनि डब्लुएचओले चीनको पक्षमा काम गरेको आरोप लगाउँदै आएका थिए। चीनले कोरोनाभाइरससँग सम्बन्धित सूचना लुकाएको र डब्लुएचओले सहयोग गरेको ट्रम्पको आरोप छ।
यता चीनले भने डब्लूएचओलाई विशेष सहयोगको घोषणा गरेको छ। चीनले आगामी दुई वर्ष कोरोनाभाइस विरुद्ध लड्न दुई अर्ब अमेरिकी डलर सहयोगप्रदान गर्ने भएको छ। राष्ट्रपति सि चिन फिङले विश्व स्वास्थ्य सम्मेलनका क्रममा कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण डब्लूएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिएका छन्।