कोरोना संक्रमितको संख्या एक लाख नाघ्ने भारत बन्यो एसियाको दोस्रो देश
भारतको कोरोनाभाइरस संक्रमितको कूल संख्या एक लाख ३२८ पुगेको छ । संक्रमितको संख्या एक लाख नाघ्ने भारत ११औँ देश बनेको छ ।
एक लाखभन्दा बढी संक्रमित हुने एसियाको भने दोस्रो देश हो । इरानमा यसअघि नै एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या एक लाख २२ हजार ४९२ छ । त्यसबाहेक एसियामा चीनमा करीब ८३ हजार र साउदी अरबमा ५७ हजार ३४५ संक्रमित फेला परेका छन् ।
भारतमा कूल संक्रमितमध्ये ३९ हजार २३३ जना निको भएका छन् भने तीन हजार १५६ जनाको मृत्यु भएको छ । त्यहाँ उपचाररत संक्रमितको संख्या ५७ हजार ९३९ छ ।
पछिल्लो तीन सातादेखि त्यहाँ औषतमा दैनिक १०० भन्दा बढीको मृत्यु भइरहेको छ । सबैभन्दा बढी ४ मेमा १७५ जनाको मृत्यु भएको थियो । हिजो सोमबार १३१ र आइतबार १५४ जनाकाृ मृत्यु भएको छ ।
महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँ ३३ हजारभन्दा बढी संक्रमित छन् भने ११ सय ९८ को मृत्यु भएको छ । त्यसपछि गुजरात, तामिलनाडु, दिल्ली र राजस्थान बढी प्रभावित छन् ।