बाग्लुङबाट पर्सा पुगेका १४ जनामा कसरी देखियो कोरोनाभाइरस ?
पर्सामा दुई सातासम्म क्वारेन्टिनमा बसेका १४ जना कामदारमा कोरोना संक्रमण पुष्टि भयो। क्वारेन्टिनमा व्यक्तिगत दूरी, सरसफाइ आदिको व्यवस्था नगरी राखिंदा आफूहरूमा संक्रमण सरेको हुनसक्ने उनीहरू बताउँछन्।
११ वैशाखमा बाग्लुङको गलकोट नगरपालिकाले निर्माण क्षेत्रका ८४ कामदारलाई पर्सा, रौतहट लगायत उनीहरूको गृहजिल्ला पठायो।
नगरपालिकाले दुई वटा बसको व्यवस्था गरी उनीहरूलाई पठाएको थियो। कामदारहरू १३ वैशाखमा गन्तव्यमा पुगेका थिए।
तीमध्ये वीरगञ्ज पुगेका १४ कामदारको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो। उनीहरूको बाग्लुङदेखि पर्सासम्मको यात्रा र क्वारेन्टिन बसाइको अवस्थाले संक्रमण फैलिनुको कारण खुट्याउने संकेत गर्छ।
गलकोटदेखि वीरगञ्जसम्मको यात्रा
गलकोटबाट ८४ कामदार बोकेर गुडेको बस बाग्लुङकै रातामाटा भन्ने ठाउँमा रोकियो। त्यहाँ थप दुई मजदूर चढेका थिए। यसपछि बाग्लुङ बजारमा थप दुई जना चढे।
बाग्लुङ बजारबाट पर्वततर्फ अघि बढेको बसमा कुश्माबाट थप चार जना मजदूर चढेका थिए। ती चार जना पर्वतमै क्वारेन्टिनमा बसिरहेका थिए।
९२ जना सवार दुई वटा बस सोही दिन पोखरामा रोकियो। ठूलो संख्यामा कामदार तराई जान लागेको भन्दै स्थानीय प्रशासनले उनीहरूलाई रोकेको थियो। तर, विभिन्न पक्षबाट दबाब आएपछि ती बस भोलिपल्ट साँझ ६ बजे पोखराबाट अघि बढे।
१३ वैशाखमा बाराको अमलेखगञ्जबाट एउटा बस रौतहट लाग्यो, अर्को वीरगञ्ज।
Made with Visme Infographic Maker
वीरगञ्ज गएको बसमा रहेका कामदारलाई घर जान नदिई सीधै क्वारेन्टिनमा लगेर राखियो। तर, रौतहट गएको बसमा सवार कामदारहरू क्वारेन्टिनमा बसे वा बसेनन्, खुलेको छैन।
वीरगञ्जमा क्वारेन्टिनमा बसेका कामदारमध्ये १४ जनामा कोरोनाभाइरस पोजेटिभ देखियो। संक्रमित भएपछि ती कामदारले गलकोट नगरपालिकाका मेयरसँग कुरा गर्दै आफूहरू बाग्लुङमा रहँदा नै सुरक्षित रहेको, वीरगञ्जको क्वारेन्टिनमा उचित व्यवस्थापन नहुँदा संक्रमित हुन पुगेको बताएका छन्।
गलकोटका मेयर भरत गैरे ती कामदारलाई संक्रमण जोखिमको यो वेला नजान सम्झाएको र नमानेपछि बाध्य भएर पठाउनुपरेको बताउँछन्। उनी भन्छन्, “उनीहरुले क्वारेन्टिन स्थलमा खाने, बस्ने र सरसफाइको राम्रो व्यवस्था नभएको र त्यहाँको हेलचेक्र्याइँका कारण संक्रमित भएको गुनासो गरेका थिए।”
वीरगञ्ज पुगेका १४ कामदारमा कोरोना भाइरस देखिएपछि गलकोट नगरपालिकाले उनीहरुको सम्पर्कमा आएका एक सय नौ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरेको थियो। ती सबैको रिपोर्ट नेगेटिभ आएको मेयर गैरेले बताए। “सम्पर्कमा आएकाहरुका परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कामदारहरु वीरगञ्ज पुगेपछि नै संक्रमित भएको देखिन्छ”, उनले भने।
‘क्वारेन्टिन स्थलबाटै संक्रमण’
बाग्लुङबाट आएपछि उनीहरूलाई पर्साको छिपहरमाई गाउँपालिका–५ मा रहेको श्री मंगल माध्यमिक विद्यालयमा क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा बसेको १५ दिनपछि स्वाब परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो। १८ दिनसम्म क्वारेन्टिनमा बसेका उनीहरूको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।
संक्रमित कामदारमध्ये पर्सा जिल्ला निवासी एक जनाले हिमालखबरसँग कुरा गर्दै क्वारेन्टिन स्थलमा भएको चरम लापरवाहीका कारण आफूहरू संक्रमित भएको बताएका छन्।
छिपहरमाई गाउँपालिका–५ को क्वारेन्टिनमा ६० जनालाई राखिएको थियो। ती संक्रमितका अनुसार, क्वारेन्टिनमा व्यक्तिगत दूरी कायम गरेर बस्ने व्यवस्था नै मिलाइएको थिएन। सबै जनाबीच एक–आपसमा राम्ररी घुलमिल हुन्थ्यो। एउटा कोठामा २० जना सँगै सुत्नुपथ्र्यो।
त्यहाँ भारतबाट आएका जमातीहरूसहितको समूह पनि थियो। तिनैबाट संक्रमण फैलिएको हुनसक्ने संक्रमितहरू बताउँछन्।
संक्रमितहरुका अनुसार, क्वारेन्टिन स्थलमा स्वच्छ खानेपानीको व्यवस्था पनि थिएन। सबै शंकास्पद व्यक्तिले एउटै धारामा गएर नुहाउने र लुगा धुने गर्थे।
क्वारेन्टिन स्थलमा एउटा प्लाष्टिकको पाल बिछ्याइएको थियो। त्यसैमा सबै जना एकै ठाउँमा बसेर खाना खानुपर्थ्यो। खानेकुरा पनि गुणस्तरीय नभएको संक्रमितहरुको गुनासो छ।
एक संक्रमितले क्वारेन्टिनमा आफूहरूलाई स्वच्छ खानेकुरा दिएको भए र व्यक्तिगत दूरी कायम गरेर बस्ने व्यवस्था मिलाइएको भए संक्रमणको सम्भावना कम हुने बताए। “तर हामीलाई मानवीय व्यवहार नै गरिएन, गाईबस्तुलाई गोठमा कोचे जसरी राखियो”, उनी भन्छन्।
उनीहरूले क्वारेन्टिन स्थलमा राम्रो व्यवस्थापन नभएको भन्दै छिकहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, वडा नम्बर ३ का वडाध्यक्ष विनोद साह र वडा नम्बर ३ का वडाध्यक्ष मउदीलाल शाहसँग गुनासो पनि गरेका थिए।
अध्यक्ष र वडाध्यक्षहरूसँग क्वारेन्टिनको मापदण्ड अनुसार सरसफाइ, व्यक्तिगत दूरी कायम गरेर बस्ने व्यवस्था आदि गर्नुपर्ने माग गरेको एक संक्रमितले बताए। “तर, उनीहरूले उल्टै तपाईंहरुले भनेको मान्न तपाईं यहाँको मेयर हो, तपाईंहरुलाई चाहिएको जति सबै दिनुपर्छ भन्ने के छ भन्दै हामीलाई थर्काए”, आइसोलेसनमा उपचारत उनी भन्छन्।
बाग्लुङमा यसरी गरियो कन्ट्याक्ट ट्रेसिङ
वीरगञ्जमा संक्रमण पुष्टि भएका कामदारहरू बाग्लुङको गलकोट नगरपालिकामा सवारी साधन मर्मत गर्ने वर्कसप, ग्रिल उद्योगदेखि घर तथा विद्यालय भवन निर्माणको काम गर्थे। उनीहरूमा संक्रमण देखिएपछि नगरपालिकाले उनीहरूको सम्पर्कमा पुगेका व्यक्तिहरू पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ शुरू गर्यो।
कन्ट्याक्ट ट्रेसिङ गर्न नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य चौकीका एक इञ्चार्ज, वडा अध्यक्ष र एक जना सुरक्षाकर्मीसहितको टोली परिचालन गरेको थियो। नगरपालिकाले १ र २ जेठमा उक्त टोली पाँच वटा वडामा परिचालन गरेको थियो।
त्यस क्रममा कामदारहरू बस्ने घरका परिवारका सदस्य, ठेकेदार, रकम लिन पुगेका ब्याङ्कका कर्मचारी, सामान खरीद गर्न गएका पसलका सञ्चालक, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता समितिका सदस्य लगायत एक सय नौ जना पहिचान गरियो।
ती शंकास्पद व्यक्तिहरूको कोरोना संक्रमणको परीक्षण गर्न ३ र ४ जेठमा स्वाब संकलन गरिएको थियो। तर, उनीहरू कसैमा पनि संक्रमण देखिएन।