अमेरिकामा कोरोना संक्रमित पूर्व भुटानी शरणार्थीको मृत्यु
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा कोरोना संक्रमण भएका ७२ वर्षीय पुर्व भुटानी शरणार्थी पदम रसाइलीको मृत्यु भएको छ ।
दुई साताअघि शरीर दुख्न थालेपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएको १० दिनपछि गएको शुक्रबार उनको निधन भएको छोरा मन रसाइलीले जानकारी दिएका छन् ।
उनी सन् २०११ मा पुर्वी झापाको गोलधापस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका थिए । उनका सात भाइ छोरामध्ये काँइला यम रसाइली झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमै छन् । अरु ६ छोरा र दुई छोरी अमेरिकामा छन् ।
रसाइलीको १६ मे मा क्रिश्चियन परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । अस्पतालले पदमको निधन भएपछि होसियारीपुर्वक अन्त्येष्टी गर्न भनेको थियो । अन्त्येष्टी गर्दा कम्तिमा ६ फुट टाढाबाट बुबाको अन्तिम दर्शन गरेको छोरा मनले बताएका छन् ।
रसाइली परिवार सन् १९९२ मा भुटानको चिराङ जिल्लाको मझुवाबाट आएर नेपालमा शरणार्थी बनेको थियो । उनीहरु नेपालबाट सन् २००८ देखि अमेरिका पुनर्वास भएका थिए । अमेरिका पुगेका भुटानी शरणार्थीमध्ये करीब पाँच सय जना कोरोना संक्रमित भएको भुटानी समुदायका अगुवाहरुले बताएका छन् ।
गोपाल गडतौला, अमेरिका