अमेरिकन आइडलको उपविजेता बने दिवेश, उपाधि जस्ट सामलाई
नेपाली मूलका दिवश पोखरेल १९औँ अमेरिकन आइडलको उपविजेता बनेका छन् । लाइबेरियन मूलकी जस्ट सामले उपाधि जितेकी छिन् ।
उत्कृष्ट दुईमा सामले भोटको आधारमा दिवेशलाई पछाडि पारेकी हुन् । २१ वर्षीया सामको वास्तववि नाम समन्था डियाज हो । उनलाई जिताउन लाइबेरियामा अभियान नै चलाइएको थियो ।
साम र दिवेश उत्कृष्ट सातबाट आजै उत्कृष्ट पाँच र हुँदै फाइनलमा पुगेका थिए । यसअघि उत्कृष्ट पाँचमा उनीहरुसँगै फ्रान्सिस्को मार्टिन, डिलन जेम्स र जोनी वेष्ट पनि पुगेका थिए ।
दिवेशले आर्थर गनको नामबाट अमेरिकन आइडलमा प्रतिस्पर्धा गरेका हुन् । २२ वर्षीय दिवेशले उत्कृष्ट सातमा गोभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बी’ बोलको गीत गाउँदै उत्कृष्ट पाँचमा पुगेका थिए । उत्कृष्ट दुईमा नियमानुसार दुवैले दुई वटा प्रस्तुति दिएका थिए ।
उत्कृष्ट सात, पाँच र फाइनलमा प्रतिस्पर्धीले घरबाटै प्रस्तुति दिएका थिए । कोरोनाभाइरस संक्रमणका कारण प्रतिस्पर्धाको स्वरुप परिवर्तन गरी घरैबाट प्रस्तुति दिने नियम बनाइएको थियो । निर्णायकले पनि घरैबाट उपस्थिति जनाएका थिए ।
काठमाडौँ रविभवनका दिवेश सन् २०१४ मा अध्ययनका लागि अमेरिका पुगेका थिए । उनी परिवारसँगै केन्सासको विचिटामा बस्छन् ।