टोले स्वयंसेवी अर्थात 'भिजिलान्ते'
कीर्तिपुरको नयाँबजार गेटको उकालो सकिने बित्तिकै दायाँपट्टि लाग्ने किनारमा एउटा सानो तरकारी पसल छ । बन्दाबन्दी शुरु भएपछि एक बिहान पसले दम्पती भर्खरै बल्खुदेखि ल्याएको तरकारी मिलाउने सुरसारमा छन् । उनीहरू आउनु अगावै प्रतीक्षा गरिरहेका ग्राहकहरुको भीड सामान मिलाउन दिने पक्षमा देखिंदैन, सबै हतारमा छन् ।
पसलेले सबैलाई दूरी कायम गरेर एकएक गरेर मात्रै आउन आग्रह गरिरहेका छन् । त्यत्तिकैमा सुगठित शरीर, खौरिएको तालुमा कालो चस्मा भिरेका एक अधबैंसे सेतो नम्बर प्लेटको मोटरसाइकलमा आइपुग्छन् ।
"आलु कति रुपैयाँ केजी हो ?" सबैलाई पछार्दै उनी पसलभित्र छिर्छन् ।
" किलोको, पैंतालीस", पसलेले मूल्य सुनाए ।
ती सेतो नम्बर प्लेटमा आएका युवा एकाएक कड्किन शुरु गर्छन्, "खै लकडाउनको पालना गरेको, ठूलो कुरा गर्ने, पसल अगाडि यत्रो भीड लगाउने ?"
पसले बिन्ती गरिरहेका छन् "हैन हजुर, मैले सबैलाई लाइनमा बसेर एकएक गरेर आउनुस् नै भनेको छु ।"
तर उनी मान्ने पक्षमा देखिंदैनन्, "यो पसलमा कसैले किन्दैन, सब घर जा, तिमी पसल बन्द गरिहाल ।"
उनले तरकारी किन्न आएका सबैलाई त्यहाँबाट धपाए । हिमालकर्मी पनि उसैको लखेटाइमा पर्नुपर्यो । भोलिपल्टदेखि उक्त पसल सोही समयमा खुलेको कहिल्यै देखिएन ।
तर ती सेतो नम्बर प्लेटधारी हट्टाकट्टा व्यक्ति भने देखिए, कीर्तिपुरकै नगाउँ दोबाटो चोकमा ।
छेउमा चार जना पुलिस लट्ठी समातेर गफ चुठ्दै छन् । उनी चोकमा एउटा भ्यानमा 'स्वयंसेवक' को कार्ड भिरेका तीनचार जना युवा राखेर बसिरहेका छन्, "ए बहिनी कहाँ गएर आएको ?"
एक सुरले हिंडिरहेकी एक महिला उनको प्रश्नले झस्किन्छिन्, "मेडिकल गएर आएको दाइ ।"
"किन गएको मेडिकल ? के छ झोलामा ?" उनको केरकार र चेकजाँच शुरु भयो ।
स्यानिटरी प्याडदेखि खत्र्याकखुत्रुक सामान बोकेर आएकी महिला बोल्नभन्दा बढी सामान देखाउन सहज ठान्छिन् ।
"हातमा पन्जा खै ?" उनले केही गल्ती नदेखेपछि गाली गर्ने एउटा बहाना भेटे र, मन शान्त पारे ।
आफू यता चेकजाँच गरिरहँदा अरू युवालाई सडकको अर्को किनारामा हिंडिरहेका युवकलाई रोक्न लगाइसकेका थिए ।
त्यहाँ पनि केही गल्ती नभेटिएपछि उनको आँखा ती युवकको खुट्टामा पुग्छ, "जुत्ता लगाएर मात्रै हुन्छ भाइ, मोजा खै ?"
बन्दाबन्दीको केही समयसम्म कीर्तिपुरतिर पुग्दा यस्ता घटना दिनैपिच्छे देख्न पाइन्थ्यो ।
तर, कीर्तिपुर नजाँदा पनि ती व्यक्तिसँग भर्चुअल भेट हुन्छ । त्रिभुवन विश्वविद्यालयमा राहत बाँडेको निहुँमा एक युवकको डेरामा नगरपालिकाले पुलिससहित छापा मार्यो । डेरावाल केही दिन कोठा आउन सकेनन् । उनका साथीहरूले प्रहरी चौकीमा गएर खोजीदिन आग्रह गरे र नगरपालिका अगाडि नाराबाजी समेत गरे ।
नाराबाजी गर्ने समूहलाई सेतो मोटरसाइकलमा आएका युवाले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा देखियो । यसरी कुटपिट गर्नेको नेतृत्व तिनै कीर्तिपुरका ‘स्वयंसेवक’ युवाले गरेका थिए ।
उपत्यकाका विभिन्न क्षेत्रमा यस्ता 'लकडाउन पालनकर्ता' को बिगबिगी नै छ ।
अर्को उदाहरण हो, वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथिको अपमानजनक सोधपुछ र खानतलासी ।
शुक्रबार अत्यावश्यक कामले नागढुंगा नाका भएर काठमाडौं प्रवेश गर्दैगर्दा निर्देशक कार्कीमाथि अपमानजनक खानतलासी मात्रै भएन, उनको खानतलासी गर्दै गरेको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा भाइरल भयो ।
शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्की सवार गाडी खानतलासी गर्दै उनीमाथि प्रहरीकै सामुन्ने दुर्व्यवहार भयो ।
कार्की चितवन र हेटौंडामा कोरोनाभाइरस परीक्षणको किट सकिएपछि सहयोगीसहित गाडीमा काठमाडौं हिंडेका थिए । करीब १२ बजे उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पुगेपछि सुरक्षाकर्मीसहित एक हुल युवाहरू उनको गाडी रोक्न आए ।
डा. कार्कीले गाडी रोकेपछि चेकिङ गर्न प्रहरीको सट्टा हातमा मोबाइल बोकेर भिडियो खिच्दै नजिकै भएका युवाहरू आइपुगे । उनलाई रोक्न आएका युवाले उनीसँग पास मागे, कार्कीले परिचयसहित पास देखाए ।
भिडियो लाइभ गर्दै सोधपुछ गरिरहेका ती युवाले कार्कीको गाडी खानतलासी गर्नुपर्ने भनेर उनलाई गाडीबाट झारे । तर, प्रहरी हेरेर मात्रै बसेको डा. कार्कीको गुनासो छ ।
सामाजिक सञ्जालमा लाइभ भिडियोसहित गरिएको उक्त दुर्व्यवहारले सबैको ध्यान तान्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले आफ्नो टोलमा पनि यस्तो दुर्व्यवहार सहनुपरेको सार्वजनिक गरे ।
बन्दाबन्दीको बीचमा सर्वसाधारणमाथि गैरव्यावसायिक व्यवहार देखाएको भन्दै आलोचित नेपाल प्रहरी यसमा पनि चोखो रहन सकेन ।
कहिले ग्यास किनेर फर्किएको मानिसलाई टाउकोमा सिलिण्डर राखेर बीच बाटोमा उभ्याएको त कहिले औषधि किनेर फर्किरहेका बिरामीमाथि लाठी प्रहार गरेका घटनाले प्रहरी आलोचित भइरहेको छ ।
पर्याप्त बन्दोबस्तीको व्यवस्था नहुँदा चाउचाउको भरमा ड्युटी गरिरहेको भनेर प्रहरीले सहानुभूति नपाएको पनि होइन । तर, अत्यावश्यक काममा हिंडेका डा. कार्कीमाथि दुर्व्यवहार हुँदा समेत मुकदर्शक भएर बसेको भनेर पुन: आलोचना शुरु भएको छ ।
शुक्रबार भएको उक्त घटनाका दोषी एक युवालाई प्रहरीले आइतबार उनकै टोलबाट पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी स्थानीय तहले खटाएका स्वयंसेवी भएको खुलेको छ ।
ती युवक आफैले पनि सामाजिक सञ्जालमा आफूले गल्ती गरेको स्वीकार्दै सोधपुछको बचाउ गरेका छन् । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेर कसुर अनुसार मुद्दा चलाउने जनाएको छ ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा कोरोनाभाइरस संक्रमित देखिएपछि बन्दाबन्दीलाई प्रभावकारी बनाउन शुक्रबार स्थानीयको भीड सडकमा उत्रेको प्रहरीले जनाएको छ ।
उपत्यकाका कपन, सामाखुसी, नयाँबजार र ललितपुरका विभिन्न स्थानमा विभिन्न क्षेत्रमा स्वयंसेवीको कार्ड भिरेर सडकमा सोधपुछ र खानतलासी गरिरहेका यस्ता युवाहरू प्रशस्तै भेटिने गरेका छन् । कपन र सामाखुशी क्षेत्रभित्रका केही गल्लीमा त दिनदिनै यस्ता स्वयंसेवकहरू देखिन्छन् । जोबाट सुरक्षाभन्दा असुरक्षाको खतरा बढी महसुस हुन्छ ।
निर्देशिका बनाएर स्वयंसेवक
यसरी खटिने स्वयंसेवक आफै वा स्थानीय तहको मनोमानीमा मात्रै सञ्चालित छैनन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका नै बनाएर स्थानीय तहहरूलाई पठाएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सोही निर्देशिका बमोजिम आफूले विभिन्न वडामा स्वयंसेवक बनाएर खटाएको जानकारी दिए । तर, मन्त्रालयले पठाएको निर्देशिकामा केही मापदण्ड र क्षेत्राधिकारहरू प्रष्ट तोकिएका छन् ।
'कोभिड-१९ का लागि केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पडताल टीम परिचालन अन्तरिम निर्देशिका २०७७' नाम दिइएको उक्त निर्देशिका बमोजिम नगरपालिकामा २ वटा, उप-महानगरमा ३ वटा र महानगरमा ५ वटासम्म समूह बनाएर परिचालन गर्न सकिन्छ ।
साथै उक्त समूहमा प्रत्येक टीममा एक-एक जना जनस्वास्थ्यमा कम्तीमा स्नातक गरेको अधिकृत, नर्स/पारामेडिक्स तथा ल्याब टेक्निसियन वा ल्याब असिस्टेन्ट गरी तीन जना मात्रै सदस्य रहने व्यवस्था छ ।
साथै यसरी गठन गरिएका टीमलाई प्रदेश सरकारको समन्वयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा राष्ट्रिय तालीम केन्द्रले भर्चुअल विधिबाट तालीम तथा अन्य आवश्यक निर्देशन दिनुपर्ने हुन्छ ।
निर्देशिकामा स्वयंसेवकको कार्यक्षेत्र र जिम्मेवारी के हुने भन्ने पनि प्रष्टै उल्लेख छ । 'केस अनुसन्धान, कन्ट्याक्टमा आएकाको विवरण संकलन, उनीहरूको परीक्षण गर्ने र स्थानीय तहलाई अनुगमनमा सहयोग गरेर तथ्यांक संकलन, विश्लेषण तथा सञ्चार समन्वय गर्न पाउने' भनेर कार्यक्षेत्र तोकिएको छ ।
यसका साथै शंकास्पद र पुष्टि भएका व्यक्तिको सूची बनाउने, क्वारेन्टाइनमा बस्न सहयोग गर्ने र नियम पालना गरे नगरेको अनुगमन गर्नेसम्मको कार्यक्षेत्र तोकिएको छ । तर, सडकमा आवतजावत गर्नेलाई सोधपुछ गर्ने र खानतलासी गर्ने जिम्मेवारी भने कतै उल्लेख गरिएको छैन ।