मरिसकेको छैन ओलम्पिकमा ‘वाइल्ड कार्ड’को आशा
कोरोनाभाइरस महामारीका कारण विश्वभर चलिरहेका ओलम्पिक छनोट खेल रोकिएका छन्, के यसले नेपाली खेलाडीहरुले पाउने ‘वाइल्ड कार्ड’ प्रवेशमा असर पार्ला ?
जीवनमा एकपटक ओलम्पिक खेल्नु, आर्चरी खेलाडी ज्ञानु अवालेको सपना हो । त्यसैका लागि छनोट प्रतिस्पर्धा अर्को महीना जूनमा जर्मनीमा हुँदै थियो । तर, कोरोनाभाइरस संक्रमणको जोखिमका कारण उक्त छनोट खेल रद्द भयो, नयाँ मितिको टुंगो लागिसकेको छैन ।
ज्ञानुसँग छनोट स्पर्धाबाहेक ओलम्पिक पुग्ने अर्को विकल्प पनि छ । नेपालबाट सीधै ओलम्पिक खेल्न पाउने ‘वाइल्ड कार्ड’ सूचीमा उनको नाम पनि समावेश छ ।
तर ज्ञानु अहिले दुवै बाटोमा अनिश्चितता बढेको देख्छिन् । भन्छिन्, “छनोट खेलकै केही टुंगो छैन । छनोट खेल नसकिएसम्म वाइल्ड कार्डको निधो हुन्न । “कोरोनाभाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै २४ जुलाईदेखि ९ अगष्ट, २०२० सम्म टोकियोमा हुने ओलम्पिकको ३२ औं संस्करण एकवर्ष पर धकेलिएको छ । छनोट चरणका खेलहरु पनि रोकिएका छन् ।
विश्वव्यापी खेलकुदमा परेको असर नेपाली खेलकुदमा नपर्ने कुरै भएन । विश्व खेलकुदसँगै नेपाली खेल गतिविधि पनि ठप्प छ । यही बीचमा ओलम्पिक खेलका प्रत्यासी खेलाडीहरुलाई डर छ– कतै ओलम्पिक वाइल्ड कार्डको अवसरबाट वञ्चित होइने त होइन ?
नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकका लागि ७ खेलका १२ खेलाडीको नाम वाइल्ड कार्ड सूचीमा राखेर पठाएको छ । कमिटीले यति धेरै खेलाडीको सूची पठाएको यो पहिलो पटक हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) अन्तर्गत यसपालि ‘ओलम्पिक छात्रवृत्ति’ पाउने १२ खेलाडी छन् । वाइल्ड कार्ड पाएकी दुई खेलाडी बक्सिङकी मिनु गुरुङ र जुडोकी सोनिया भट्ट छात्रवृत्तिमा परेका छैनन् । पौडीका दुई गौरिका सिंह र एलेक्स गाडेगार्ड शाह भने ओलम्पिकका लागि छानिइसकेका छन् ।
त्यसो त सन् १९६४ को टोकियो ओलम्पिकदेखि लगातार सहभागिता जनाउँदै आएको नेपालले सन् १९८८ को सोल ओलम्पिकसम्म चाहे जति खेलाडी सहभागी गराउँदै आएको थियो । तर, आईओसीले छनोट प्रतिस्पर्धा र वाइल्ड कार्डको प्रावधान ल्याएसँगै सहभागिताको संख्या खुम्चियो ।
के हो ‘वाइल्ड कार्ड’
‘वाइल्ड कार्ड’ छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीलाई सीधै ओलम्पिक खेल्न दिने सुविधाजनक कोटा हो । सन् २००४ को ग्रिस ओलम्पिकमा तेक्वान्दोकी संगिना वैद्य र २००८ को बेइजिङ ओलम्पिकमा दीपक विष्टले छनोट चरण पार गरेबाहेक बाँकी सबै नेपालीले वाइल्ड कार्डकै बाटो भएर ओलम्पिकमा सहभागी भइरहेका छन् ।
एथलेटिक्स र पौडीका दुई–दुई जना (एक पुरुष, एक महिला) खेलाडीको सहभागिता सबै देशका खेलाडीहरुलाई दिइने अनिवार्य कोटा हो, जसलाई ओलम्पिकको भाषामा ‘युनिभर्सलिटी प्लेसेस’ भनिन्छ । ओलम्पिक जस्तो उच्च प्रतिस्पर्धामा छनोट चरण पार गर्न नसकेकै कारण कुनै पनि देशको प्रतिनिधित्व नछुटोस् भनेर आईओसीले एथलेटिक्स र पौडीबाट २–२ खेलाडीको सहभागिता निश्चित गरिदिएको हो । तर, यसपालि देखि एथलेटिक्समा एक कोटा मात्र दिइने गरी नियम परिवर्तन गरिएको बताइएको छ ।
यसबाहेक वाइल्ड कार्ड अर्को कोटा हो, जसमा खेलाडीको छनोट आयोजक राष्ट्र, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सम्बन्धित अन्तर्राष्ट्रिय खेल महासंघका प्रतिनिधि समावेश तीन सदस्यीय आयोगले गर्छ । आयोगले देश र खेलको प्राथमिकताका आधारमा यो कोटा वितरण गर्छ ।
खेलाडीहरु स्वयं भने वाइल्ड कार्डका लागि पनि योग्य बन्नु जरुरी छ । जस्तै शुटिङ खेलाडीले १० मिटर एअर राइफलमा वाइल्ड कार्ड दाबी गर्ने हो भने कम्तीमा ५९० अंकको एमक्यूएस (मिनिमम क्वालिफाइङ स्कोर) गरेको हुनुपर्छ । नेपालबाट कल्पना परियार र सुस्मिता नेपालले दोहामा सम्पन्न एसियाली शुटिङमा त्यो एमक्यूएस गरेकाले उनीहरुको नाम वाइल्ड कार्डको सूचीमा परेको छ ।
के खेलाडीहरुले चिन्ता व्यक्त गरेजस्तै कोरोनाभाइरस प्रभावले वाइल्ड कार्ड सम्भावनामा असर पर्छ त ? खेल अधिकारीहरुसँग पनि यसको ठ्याक्कै जवाफ छैन ।
नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार खेलको प्रकृति, खेलाडीको प्रदर्शन र उनीहरुले पाउने गरेको अवसर अनुसार परिस्थिति फरक पनि हुनसक्छ । जस्तै, कराते खेलका खेलाडीले वाइल्ड कार्ड पाउने पहिलो शर्त विश्व वरियताको १०० स्थानभित्र रहनु हो, त्यसपछि अन्य देशका खेलाडीसँग तुलना र खाली कोटाको गणना आधार मानिन्छ । समग्रमा भन्नुपर्दा वाइल्ड कार्ड एक हिसाबमा ‘भाग्य’ पनि हो ।
करातेकी अनु अधिकारी भन्छिन्, “वरियता बढाउन हामीले बढी भन्दा बढी ¥यांकिङ प्रतियोगिता खेल्नु अनिवार्य हुन्छ । मैले यसबीच आफ्नै खर्चमा थुप्रै प्रतियोगितामा भाग लिएँ । अझ खेल्न पाए राम्रो हुनेथियो भन्ने लाग्छ ।”
तयारी अवस्थामा !
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ ओलम्पिक आयोजकले अहिलेसम्म जारी नतिजाकै आधारमा खेलाडी छान्ने प्रस्ताव समेत राखेको छ । “आईओसीले अहिले सबै खेलाडीहरुलाई तयारी अवस्थामा रहन भनेको छ । कुनै पनि बेला प्रतियोगिता आयोजना हुन सक्छ”, उनी भन्छन्, “यो विषम परिस्थितिलाई सबैले मिलेर समाधान गर्नुको विकल्प छैन ।”
हुन त महामारीको संशयमा मानव जीवन नै अनिश्चित छ । तर, ओलम्पिकका बाँकी अभियानका लागि देश र खेलाडीसँग तयारी अवस्थामा रहनुको विकल्प छैन ।
याे पनि पढ्नुहाेस्– कोरोनाको प्रहारमा प्रतियोगिता
वाइल्ड कार्डको सूचीमा परेका खेलाडी
१. ज्ञानु अवाले– आर्चरी
२. तिलक पुनमगर– आर्चरी
३. मिनु गुरुङ– बक्सिङ
४. इन्द्रबहादुर श्रेष्ठ– जुडो
५. सोनिया भट्ट– जुडो
६. अनु अधिकारी– कराते
७. नवीन रसाइली– कराते
८. कल्पना परियार– शुटिङ
९. सुस्मिता नेपाल– शुटिङ
१०. वीरबहादुर महरा– तेक्वान्दो
११. सञ्जु चौधरी– भारोत्तोलन
१२. कमला श्रेष्ठ– भारोत्तोलन
छनोट भइसकेका
गौरिका सिंह र एलेक्स गाडेगार्ड शाह– पौडी