बेलहिया नाकाबाट भित्रिने तयारीमा २० हजार नेपाली, सीमावर्ती जिल्लाका अधिकारीहरु अन्योलमा
भारतका विभिन्न ठाउँमा अलपत्र परेका करीब २० हजार नेपाली आगामी बुधबार र बिहीबार रुपन्देहीको बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्ने तयारीमा छन्।
बुधबार र बिहीबारका लागि १८ हजार नेपालीले गोरखपुरसम्म रेलको टिकट बुकिङ गरेको भन्दै भारतीय सुरक्षा निकायले त्यसको तयारी गर्न नेपाली अधिकारीहरुलाई अनौपचारिक जानकारी दिएका छन्।
“१८ हजार नेपालीले गोरखपुरका लागि रेलको अनलाइन टिकट बुकिङ गरेको जानकारी भारतीय पक्षबाट प्राप्त भएको छ, उनीहरुले यसका लागि पूर्वतयारी गर्न पनि भनेका छन्", आफ्नो नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारीले भने।
सुरक्षा अधिकारीहरुले करीब २० हजार नेपाली आउन सक्ने अनुमान गरेका छन्। भारतबाट भित्रिन लागेकामध्ये सबैभन्दा बढी सुदूरपश्चिमका नागरिक रहेको प्रदेश सरकारको अनुमान छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी आगामी एक सातामा ५० हजार नेपाली भित्रिन सक्ने अनुमान गर्छन्। उनका अनुसार, २३ फागुनदेखि वैशाखभरिमा भारतबाट फर्केका २ लाख मानिस सुदूरपश्चिममा आएका छन्।
अहिले पनि सीमावर्ती भारतीय बजारका क्वारेन्टिनमा केही नेपाली बसिरहेका छन्। धनगढीदेखि ३५ किलोमिटर टाढाको बलिया भन्ने ठाउँमा ३ सय ७० जना क्वारेन्टिनमा छन्।
अब थप नेपालीलाई क्वारेन्टिनमा नराख्ने भारतीय पक्षले नेपालका अधिकारीहरुलाई जानकारी गराइसकेको छ। त्यसैले अब आउने मानिस क्वारेन्टाइन अवधि पूरा नगरी सीधै नेपाल भित्रिनेछन्। यसअघि भारतीय सीमाक्षेत्रमा क्वारेन्टिन अवधि पूरा गरेका आफ्ना नागरिकलाई प्रदेश सरकार र स्थानीय सरकारले नाकाबाट भित्र्याउने गरेका थिए।
भारतमा रेलसेवा सञ्चालन भएपछि विभिन्न ठाउँमा रोकिएका वा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन थालेका हुन्। बिहीबार मात्र नेपालगञ्ज-रुपैडिया नाकाबाट ६ सय ८७ जना नेपाल भित्रिएका छन्। मुख्य नाका बाहेकका अन्य नाकाबाट पनि नेपालीहरु आइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डीएसपी शिवबहादुर सिंह बिहीबार भित्रिएकाहरुलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरेर समस्या नदेखिएको आधारमा उनीहरुको गन्तव्यमा पठाइने बताउँछन्।
प्रदेश-५ को रुपन्देहीसँग सीमा जोडिएको भारतको महाराजगञ्जको नौतनवा र सुनौलीमा अहिले पनि करीब एक हजार नेपाली छन्। यस्तै, प्रदेश-२ को सर्लाहीसँग सीमा जोडिएको भारतीय गाउँमा १ सय ९१, रौतहटसँग सीमा जोडिएको भारतीय बजारमा ४ सय र बाराको सीमावर्ती क्षेत्रमा १ सय जना स्वदेश प्रवेशको पर्खाइमा बसिरहेका छन्।
कसरी गर्ने व्यवस्थापन ?
पछिल्लो समय भारतबाट फर्किएकाहरु नै कोरोनाभाइरस संक्रमित भेटिएका घटना बढिरहेका छन्। त्यसैले अब थप आउनेहरुलाई कसरी व्यवस्थापन गर्ने अन्योल सीमावर्ती जिल्लाका नेपाली सुरक्षा अधिकारीहरुमा छ।
ठूलो संख्यामा आउने नेपालीहरुलाई क्वारेन्टिनमा राख्न सम्भव नहुने भएपछि अन्योलको अवस्था सिर्जना भएको हो।
सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी भारतबाट फर्केर आउनेलाई निजको घर रहेको स्थानीय तहमै सुरक्षित रुपमा पठाउनुको विकल्प नरहेको बताउँछन्। सीमावर्ती जिल्लाका स्थानीय तहमा रहेका क्वारेन्टिनमा मान्छे भरिभराउ भएको जानकारी आइरहेको उनको भनाइ छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ भारतबाट फर्केका नेपालीहरुलाई व्यवस्थापन गर्ने मोडेलको विषयमा छलफल चलिरहेको बताउँछन्।