चित्रमा ‘लकडाउन डायरी’
कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले त्रसित बनाएको विश्वलाई कलाकार रवीन्द्र श्रेष्ठ आफ्ना चित्रमार्फत ढाडस दिइरहेका छन् । उनले चित्रबाटै यो संकट क्षणिक भएको र छिट्टै टरेर जाने संकेत दिएका छन् ।
हजारौं वर्षदेखि नेपालमा चलिआएका परम्परा र मठ–मन्दिरमा हुने पूजापाठ पनि अहिले ठप्प छन् । श्रेष्ठ यसको फाइदा र बेफाइदा दुवै देख्छन् । उनले कम्पास विधिको प्रयोग गरेर ३६० डिग्रीमा ‘आर्ट एण्ड कल्चर अन लकडाउन डायरी’ शीर्षकमा वृत्तकार सिर्जना तयार गरेका छन् ।
सेतो क्यानभासमा कालो सर्कलभित्र विभिन्न देवदेवी, जनावरहरूको चित्र छ । ठीक बीचमा खोलिएको चाबी र साँचो छ । २४/२४ इन्चको क्यानभासमा सिर्जना गरेको चित्रमा ०.१ देखि ०.५ सम्मका कलम प्रयोग गरेका छन् ।
उनी रेखा शृङ्खलामा काम गर्दै आइरहेका थिए । यसपटक वृत्ताकारमा काम गर्नुको कारणबारे भन्छन्, “वृत्तकार विज्ञानको प्रतीक हो । विज्ञानले मात्रै हामीलाई यो समस्याबाट बाहिर निकाल्छ ।”
अहिलेको संकट विज्ञानले मात्र हटाउन सक्ने भएकाले छिटो हल होस् भन्ने कामनाका साथ चित्र सिर्जना गरेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “मानव जातिसँगै सम्पूर्ण प्राणीलाई मात्रै नभएर वर्षौंदेखि गहिरो विश्वासका साथ हामीले पुज्दै आएका देवदेवीहरू पनि बन्द छन् । तर, यो लकडाउनको ताल्चा छिट्टै खुल्छ भन्ने चित्रमा देखाउन खोजेको छु । यो वेला सकारात्मक सञ्चार गर्नुपर्छ भनेर यी चित्र बनाएको हुँ ।”
वृत्ताकारमा काम गर्ने चाहना हुँदाहुँदै पनि समय नमिलेर बाँकी रहेको इच्छा बन्दाबन्दीमा पूरा भएको श्रेष्ठ बताउँछन् । उनलाई यो सिर्जना पूरा गर्न करीब एक महीना लाग्यो । उनी भन्छन्, “पेन्टिङ गर्न भन्दा पनि चित्र कोर्न गाह्रो हुन्छ । समय पनि लाग्छ । सानो सानो रेखामा काम गर्नुपर्ने भएकाले एकोहोरो काम गर्न सकिंदैन । धेरै समय काम गर्दा आँखामा समस्या आउन सक्छ ।”
उनले सिर्जना गरेको रेखाशृङ्खला ‘हेरिटेज एन्ड कनेक्सन’ करीब पाँच महीना अगाडि चीनको राजधानी बेइजिङस्थित ‘जिन्ताई आर्ट म्युजियम’ मा प्रदर्शन भएको थियो । श्रेष्ठको सिर्जना ‘हेरिटेज एन्ड कनेक्सन’ चीन सरकारले आफ्नो हुलाक टिकटमा समेत प्रयोगमा ल्याएको छ ।"
बन्दाबन्दीको शुरूका दिन समाचार, साहित्य, डकुमेन्ट्री फिल्महरू, प्रत्यक्ष प्रसारण भएका कार्यक्रममा व्यस्त श्रेष्ठ त्यसपछि चित्रमा व्यस्त भए । उनी भन्छन्, “यो संकटको समय हो, तर यस्तो अवस्थामा पनि हामी सकारात्मक कामहरू गर्न सक्छौं । बन्दाबन्दीको तेस्रो हप्तातिर मैले यो समयमा ऐतिहासिक काम गर्नुपर्छ भन्ने महसूस गरेर सिर्जनामा लागें ।”
यद्यपि उनले चीनको वुहानमा संक्रमण शुरू भएको केही दिनदेखि नै कोरोनाभाइरससँग सम्बन्धित काम शुरू गरेका थिए । चीन भयावहको अवस्थामा हुँदा ‘नेपाल तिम्रो साथमा छ’ भन्ने भिडियो सन्देश पठाएका थिए । उक्त भिडियो चीनका विभिन्न मिडियाले प्रसारण पनि गरेका थिए ।
अब उनी कोरोनाभाइरसको इपिसेन्टर मानिएको वुहानबाट १७५ जना नेपालीको उद्धार गर्ने टोली तथा मानवीय सम्बन्धलाई लिएर कुनै सिर्जनात्मक काम गर्ने योजनामा छन् । त्यसका लागि उद्धारमा खटिएको समूहका सदस्यहरूसँग सम्पर्क गरिरहेका छन् ।