जालोजस्तै जीवन
– बालिका थपलिया
पत्रकार तीर्थ सिग्देलले आफ्नाे सिर्जनशीलतालाई किताबमार्फत बजारमा ल्याएका छन् । उनले कथा सङ्ग्रह मार्फत आफ्नो लेखकीय भावना अभिव्यक्त गरेका छन् । यसमा बाइस वटा कथाहरु समेटिएका छन् ।
लेखकको विचारमा एउटा मनले चाहेको कुरा अर्को मनले कतिपय अवस्थामा अभिव्यक्त नगरी पनि महसुस गर्न सक्छ । उनको कथा सङ्ग्रह मनोनेटमा समावेश गरिएका कथाहरुले हाम्रो समाजको यथार्थ चित्रण गरेका छन् । कुनै कुनै कथाले यौन मनोविज्ञान र मनोसामाजिक परिवेशको व्याख्या गरेका छन् भने कुनैले सामाजिक संरचनाले मानिसको जीवनमा पार्ने प्रभावलाई उत्खनन गरेका छन् ।
‘त्यसपछि उ हराई’ शिर्षकको कथाले यौन व्यवसायी बन्न बाध्य भएकी महिलाको जीवनको उतारचढावलाई प्रस्तुत गरेको छ । महिलाको शरीरसँग मात्र खेल्न चाहने पुरुषको मात्र व्याख्या सुनिरहेका हामी पाठकको लागि यो कथाभित्रको पुरुषको सकारात्मक भूमिकाले दृष्टिकोण परिवर्तन गर्न सहयोगी भूमिका खेल्छ । यो कथामा महिला यौनकर्मीलाई एक पुरुषले यौन व्यवसायको जन्जालबाट मुक्त गरेका छन् ।
अहिलेको समाजलाई बुझ्न सिग्देलका कथाहरुले धेरै सहयोग गर्छन् । आधुनिक समयसँगै परिवर्तन भइरहेको मानिसको मानसिकतालाई उनले छर्लङग्याएका छन् । आम मानिसहरुको जीवनशैलीको सकारात्मक र नकरात्मक पक्षलाई तीर्थले उधिन्ने प्रयास गरेका छन् ।
यस कथा सङ्ग्रहभित्रको शिर्षकथा ‘मनोनेट’ले विदेशमा बसेका नेपालीले एक अर्कालाई गर्ने प्रेमको बारेमा मिठो शैलीमा वर्णन गरेको छ । आफू वुबा भएपछि अरुको बच्चालाई पनि आफ्नै बच्चाजस्तो देख्ने मानसिकतालाई कथाले मुख्य प्राथमिकता दिएको छ । मानवताको नातालाई यो कथामार्फत लेखकले नजिकबाट नियाल्ने प्रयास गरेका छन् । लेखकले यो कथामा महिला पात्रलाई सशक्त भूमिकामा उभ्याएका छन् ।
वर्तमान समाजका कथा व्यथालाई लेखकले समेटने प्रयास गरेका छन् । उनका कथाहरु पढ्दा पत्रकारिताको ह्याङओभर झल्किन्छ । उनको रिपोर्ताज शैलीले यो यथार्थलाई प्रष्ट पारेको छ । कतै साहित्यिक लेखनको आभास हुन्छ । कतै लेखक दार्शनिक भएर उभिएका छन् ।
कलेज पढ्ने उमेरका युवा युवतीको भावनालाई सिग्देलले बोझ शीर्षकको कथामा यसरी व्याख्या गरेका छन् ‘म वास्तवमा पढ्न चाहन्थे । त्यसपछि जागिर खान चाहन्थे । कलेज जीवनले मलाई अलमल्यायो । म कतै रुमल्लिए, अलमलिए । अहिले सोच्छु, त्यो आलोकाँचो उमेरको दोष रहेछ । चिया पकाउन तताएको पानी जस्तो । दूध हालेर खाए पनि हुने, त्यसै खाए पनि हुने ।’ उमेरमा सही निर्णय लिएर काम गर्न नसक्दा जीवनमा झेल्नुपर्ने दुखलाई यो कथामा समेट्न खोजिएको छ ।
समग्रमा तीर्थ सिग्देलका कथाहरु पठनीय छन् । कथित आधुनिक समाजका सकरात्मक र नकरात्मक पक्षहरुलाई कथाले उजागर गरेका छन् ।
पुस्तकः मनोनेट, लेखक: तीर्थ सिग्देल, प्रकाशकः मिडिया रिसर्च सेन्टर, पृष्ठः १७२, मूल्य: रु. २५०।–