ब्याड राख्ने बेलामा धानकाे बीउ अभाव: दाेब्बर मूल्य तिर्दै किसान
बन्दाबन्दीका कारण सहज रुपले नपाउँदा किसानहरु दोब्बर मूल्यमा तस्करीबाट ल्याइएका बीउ किन्न बाध्य छन् ।
देशभर अहिले धानको बीउका लागि ब्याड राख्ने बेला हो । ब्याडका लागि केही परिमाणमा पानी पर्नुपर्छ र बीउ चाहिन्छ । तर, यही बेला विशेषगरी तराईमा धानको बीउको अभाव छ । र, यही अभावको छेकोमा सीमापारिका भारतीय बजारबाट तस्करी भएर बीउ आइरहेको छ ।
बीउ अभाव हुनुको कारण अरु केही नभएर बन्दाबन्दी नै भएको छ । र, बन्दाबन्दीकै बेला दक्षिणी सीमावर्ती क्षेत्रबाट धानको बीउसँगै मलको पनि तस्करी बढेको छ । अहिले भारततर्फबाट कोरोनाभाइरस संक्रमित प्रवेश गर्ने जोखिम घटाउन सीमामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । तर, पनि भारतीय बजारबाट लुकिछिपी धानको बीउ र मलको तस्करी रोकिएको छैन ।
“तराईका किसान बीउका लागि भारतमै निर्भर हुन बाध्य छन्, दुवैतर्फको बन्दका कारण बीउ सहजै भित्रिएन र तस्करी बढ्यो । व्यापारीहरुले साइकलमा बीउ ओसारेर महँगोमा बेचिरहेका छन् ।”
चन्द्रकिशाेर, पत्रकार
सर्वत्र तस्करी
भारतसँग सीमा जोडिएका तराईका सबैजसो जिल्लामा धान र मलको तस्करी बढेको छ । हाल सर्लाहीको सीमावर्ती गाउँमा रहेका पत्रकार चन्द्रकिशोरका अनुसार जिल्लाका विभिन्न नाकाबाट बीउबिजन र रासायनिक मलको तस्करी निर्बाध भइरहेको छ । “तराईका किसान बीउका लागि भारतमै निर्भर हुन बाध्य छन्,” उनी भन्छन्, “दुवैतर्फको बन्दका कारण बीउ सहजै भित्रिएन र तस्करी बढ्यो । व्यापारीहरुले साइकलमा बीउ ओसारेर महँगोमा बेचिरहेका छन् ।”
सर्लाही मात्र नभई प्रदेश–२ का बारा र पर्सा जिल्लाका नाकाहरुबाट पनि अहिले धमाधम सीमावर्ती भारतीय बजारबाट धानको बीउ र रासायनिक मल ओसारिरहेका भेटिन्छन् । वीरगञ्जस्थित पत्रकार जियालाल साहका अनुसार पर्साको इनर्वा, भिसवा, बाराको मटिअर्वा, घोडासहन, नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।
प्रदेश–५ को रुपन्देही, कपिलवस्तु र परासी जिल्लाका सीमावर्ती गाउँहरुमा साइकलमा राखेर धान तथा रासायनिक मल ओसारेको देख्न सकिन्छ । रुपन्देहीको रोहिणिहवा–४ का ईश्वरी चौधरीका अनुसार सीमापारिबाट ल्याइएको धानको बीउ तथा मल एक ठाउँमा जम्मा गरेर बिक्रीका लागि पसल–पसल पुर्याइन्छ ।
२८ वैशाख, २०७७ मा रुपन्देही र नवलपरासीका सीमाहरुमा पुग्दा मानिसहरुले साइकलमा बीउका लागि धान र रासायनिक मल ओसारेको देखिएको थियो । चौधरीका अनुसार एक बोरा धानको बीउ सीमापार गराउने (स्थानीय चलनचल्तीको भाषामा क्यारिङ गर्ने) व्यक्तिले भा.रु.५० पाउँछन् ।
मूल्य दोब्बर
सहज रुपमा धानको बीउ नपाएपछि किसानहरु अघिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर खरीद गर्न बाध्य छन् ।
रोहिणिहवा गाउँपालिकाका गोविन्दप्रसाद चौधरीले १० किलो कृषि प्रसन्न नामको धान बीउ प्रतिकिलो रु.३०० का दरले किने । जबकि त्यही बीउ अघिल्लो वर्ष प्रतिकिलो रु.१३० मा किनेका थिए । “क्यारिङ गरेर ल्याउँदा महँगो पर्यो भन्छन्, नकिनी पनि भएन,” महँगो मूल्य तिर्नुको कारणबारे प्रष्ट्याउँदै चौधरी भन्छन्, “पोहोर परार आफै गएर ल्याइन्थ्यो, अहिले आफू जान सकिन्न, त्यसैले महँगो मूल्य तिर्नुपर्यो ।”
उनले मात्र होइन, ईश्वरीप्रसाद चौधरीले पनि ६५ किलो धानको बीउ खरीद गर्दा रु.२० हजार ८ सय खर्चिए । अघिल्लो वर्ष त्यही बीउलाई उनले रु.९ हजार मात्र तिरेका थिए ।
तराई क्षेत्रका किसानहरुले लगाउने उन्नत जातको बीउ नेपालमा पाइँदैन । अर्का किसान सुवासचन्द्र चौधरी यता नपाइने भएकैले उन्नत जातको धानको बीउ किन्न भारत जानुपर्ने बाध्यता भएको बताउँछन् ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय धानबाली कार्यक्रमका प्रमुख रामवरण यादव पनि हामीकहाँ उन्नत जातको धानको बीउ पर्याप्त नभएको स्वीकार्छन् । “हामीकहाँ उन्नत जातको धानको बीउको उत्पादन एकदमै न्यून छ । गएको वर्ष गोर्खा सिड कम्पनीसँग समन्वय गरेर ७ टन उत्पादन गर्न लगाए पनि त्यसलाई अझै व्यापक बनाउन सकिएको छैन”, यादव भन्छन् ।
स्थानीय बजारमै उन्नत जातका धानको बीउ नपाएका कारण किसानहरु बीउ खरीदका लागि भारतीय बजारमा निर्भर हुनुपरेको हो । धानबाली केन्द्रका प्रमुख यादवका अनुसार हरेक वर्ष भारत र चीनबाट २ हजार ५ सयदेखि ३ हजार टनसम्म धानको बीउ आयात हुन्छ ।
तर, किसानहरुका अनुसार यो भन्दा दोब्बर परिमाणमा धानको बीउ आयात हुने गरेको छ । रुपन्देहीको धकधईका अगुवा किसान सञ्जय गुप्ता किसानहरु आफैले भारतमा गएर ल्याउने धानको बीउको रेकर्ड कतै नहुने बताउँछन् । “थुप्रै किसानहरुले आफै भारतीय बजारमा गएर ल्याएको रेकर्ड कहीँ पनि छैन,” उनी भन्छन्, “त्यसबाहेक यहाँका व्यापारीहरुले तस्करी गरेर ल्याउने बीउ पनि रेकर्डमा जनिदैंन ।”
देशका सबै भौगोलिक क्षेत्रमा उत्पादनका लागि अहिलेसम्म ८७ भन्दा बढी जातका धानको बीउ सिफारिस गरिएको छ । तीमध्ये सावित्री, राधा–४, हर्दिनाथ–१, हर्दिनाथ–४, सुक्खा जातका धानका बीउ, स्वर्ण सवन, सावा मनसुली, राधा–१२, राधा–१३ र राधा–१४ गरी ३५ सामान्य जातका धानका बीउ तराईका लागि सिफारिस गरिएका छन् । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख यादवका अनुसार यसबाहेक एकहप्ता अघि मात्र हर्दिनाथ–१ र हर्दिनाथ–३ नामक उन्नत जातका धानका बीउ तराईका लागि सिफारिस गरिएको हो ।
तराईका लागि सिफारिस गरिएको धानका जातले भन्दा उन्नत जातबाट उत्पादन बढी हुने भएकाले किसानहरुको आकर्षण त्यसतर्फ बढी देखिएको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमका प्रमुख रामवरण यादव बताउँछन् ।
किसानहरु पनि उन्नत बीउ लगाउँदा धेरै उत्पादन हुने बताउँछन् । यहाँ सिफारिस भएका भन्दा भारतबाट ल्याइएका उन्नत जातका बीउबाट धानको उत्पादन झण्डै दोब्बरले फरक पर्ने धकधईका अगुवा किसान सञ्जय गुप्ता बताउँछन् ।