रोग प्रतिरोधात्मक क्षमता बढाउन भुल्केबासीलाई होमियोप्याथिक औषधि
प्रदेश १ मा कोरोनाभाइरसको संक्रमण बढी भएका व्यक्ति भेटिएको उदयपुरको त्रियुगा ३ भुल्केमा रोग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथिक औषधि वितरण गरिने भएको छ ।
भुल्केका १ हजार ४ सय व्यक्तिलाई पुग्ने होमियोप्याथिक औषधि ३० वैशाखमा उदयपुर त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा र नेपाल होमियोप्याथिक एशोसिएसनले एक समारोहका बीच औषधि दिएको हो।
अखिल नेपाल होमियोप्याथिक एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. घनश्याम सुवेदीका अनुसार, रोगसँग लड्न सक्ने क्षमता बढाउन सो औषधि विहान खाली पेटमा तीन दिनसम्म खानुपर्ने हुन्छ ।
नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम सम्बन्धीको मापदण्ड अनुसारको औषधि भुल्केका बासिन्दाका लागि दिइएको बताइएको छ ।
उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्केमा औषधि लगिएको महाशाखा प्रमुख डा. सरोजप्रसाद विशालले बताए ।
बाहिरबाट आयातित औषधिले नेपालमा कोरोनाको संक्रमणलाई जित्न सम्भव नभएकाले स्थानीय स्रोतसाधन परिचालन गरेर रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा. विशालले जानकारी दिए ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टिनमा बसेका २० जना र भुल्केका बासिन्दालाई सो औषधिले तीन दिन पुग्ने बताइएको छ ।