संक्रमित बढेसँगै रुपन्देहीमा कडाइ, बिरामीका लागि बेड अभाव
रुपन्देहीमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै स्थानीय प्रशासनले मानिसहरूको आवतजावतमा कडाइ गरेको छ ।
बन्दाबन्दी भनिए पनि पछिल्लो एकहप्तामा यहाँका कार्यालय, ब्यांक तथा वित्तिय संस्थाका साथै व्यापारिक प्रतिष्ठानहरू खुल्न थालेका थिए । मानिसहरूको चहलपहल बढ्न थालेको थियो ।
भारतबाट लुकिछिपी आएकाहरूको स्वाब परिक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको हो।
मंगलबार सम्म रुपन्देहीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । त्यसैगरी रुपन्देहीसँग सीमा जोडिएको कपिलवस्तुमा २९ जना संक्रमित भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेम बहादुर थापाका अनुसार आजदेखि प्रहरीले मानिसको हिंडडुलमा प्रतिबन्ध लगाएको छ । अत्यावश्यक काम बाहेक अब मानिसहरू घरबाहिर निस्कन पाउने छैनन् ।
कोरोना संक्रमण भएका क्षेत्रहरूलाई सिलबन्दी गर्ने उपाय स्वरुप जिल्लाको भूगोललाई विभिन्न भागमा बाँडेर कडाइ गर्न थालिएको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बनाएको योजना अनुरुप हुलाकी सडक भन्दा दक्षिण तर्फका मानिसहरू हुलाकी सडक कटेर उत्तरतर्फ आउन पाउने छैनन् । हुलाकी सडकभन्दा उत्तरबाट मानिसहरू दक्षिण प्रवेश गर्न पाउने छैनन् ।
अब त्यहाँबाट तरकारी, फलफूल लगायतका कुनैपनि सामान लिएर आउन नपाइने गरी कडाइ गरिएको छ । त्यसैगरी मालवाहक सवारी साधनहरूको आवतजावतमा पनि स्थानीय प्रशासनले कडाइ गरेको छ । खुल्ला रहेको भैरहवा स्थित गल्लामण्डी बजारलाई बन्द गराइएको छ ।
औषधि र एम्वुलेन्स बाहक सवारी साधन बाहेक अन्य कुनै प्रकारका सवारी साधनहरू सञ्चालन हुन नपाइने गरी कडाइ गरिएको प्रहरी उपरीक्षक थापाले बताए । रुपन्देहीको समरीमाई गाउँपालिका, लुम्विनी साँस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिका संवेदनशीलभित्र पर्दछन् । अहिलेसम्म भेटिएका संक्रमित यही तीन पालिकाका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरिका अनुसार २५५ नमूना स्वाब संकलन गरिएकोमा १७४ स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
त्यसमध्ये हिंजो ९० जनाको परीक्षणमा ६ जनाको पोजिटिभ भेटिएको थियो भने बाँकीको ६ जनामा आज पोजिटिभ नतिजा भेटिएको हो । सबै नतिजा प्राप्त हुँदासम्म संक्रमितको संख्या वृद्धि हुनसक्ने गिरी बताउँछन् ।
त्यसैगरी जिल्लाका बुटवल लगायतका अन्य क्षेत्रमा पनि कडाइ गरिएको थापाले बताए ।
त्यसैगरी अर्घाखाँची जिल्लाको छिमेकी कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै अर्घाखाँची जिल्लालाई आजबाट सिल गरिएको छ । कपिलवस्तु हुँदै हुने आवत जावतलाई पूर्ण रुपमा प्रतिवन्ध गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।
संक्रमित बढे, बेडको अभाव
रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमितहरूको संख्यामा वृद्धि भएसँगै उनीहरूको उपचारका लागि राख्न बेडको अभाव भएको छ ।
बु्टवलस्थित धागो कारखानामा ३६ बेड रहेकोमा २७ वटा बेड भरिभराउ छन् । रुपन्देही र कपिलवस्तुमा पछिल्लो पटक संक्रमित भेटिएका १७ जनालाई राख्न पनि बेड संख्या अपुग भएको कोरोना अस्पतालका प्रमुख डा सुदर्शन थापाले बताए।