१०१ वर्ष लागेका सत्यमोहन जोशीको सूत्र- दीर्घ जीवन होइन, सिर्जनात्मक उमेर अर्थपूर्ण
संस्कृतिविद् एवम् वाङ्मय पुरुष सत्यमोहन जोशी मंगलबार १०१ औं जन्मोत्सव मनाइरहेका छन्।
एक शताब्दी उमेर पार गरेका जोशी अहिले पनि उत्तिकै सक्रिय छन्। हिंडडुल र सार्वजनिक कार्यक्रममा सहभागिता छुटेको छैन। घरमा भेट्न आउनेहरुलाई समय दिइरहेका हुन्छन्।
जीवित सम्पदाका रूपमा सम्मान गरिने जोशीको सक्रियता र अध्ययनशीलता प्रेरणादायी छ। दीर्घ तथा सक्रिय जीवनको राजबारे सोध्नेहरूलाई उनी आफ्नो अनुभव र जीवनशैली सुनाइरहेका हुन्छन्।
बुधबार बिहानदेखि हिमालखबरले विभिन्न समयमा पटकपटक टेलिफोन सम्पर्क गर्दा उनको घरको ल्यान्डलाइन फोनले व्यस्त रहेको जनाउ दिइरह्यो। उनी मोबाइल फोन बोक्दैनन्। अन्तत: अपराह्न फोन उठ्यो। टाठो आवाजमा उनले भने, “आज फोन खाली नै छैन, शुभकामना आएको आयै छ।”
आज दिनभर फोनमा शुभकामना लिन र सञ्चारकर्मीलाई अन्तर्वार्ता दिन व्यस्त रहेको उनले सुनाए। "अहिले पनि म शुभकामना दिन आउनेहरुकै बीचमा बसेर कुरा गर्दैछु", हाँस्दै भने। भतिजीको मोबाइलबाट कुरा गर्दै उनले भेट्न आउनेहरुलाई समय दिनुपर्दा ल्यान्डलाइन फोनमा गएर कुरा गर्न नभ्याएको बताए।
हुन पनि, सामान्य अवस्थामा उनको जन्मदिनमा ललितपुरको बखुम्वहालस्थित निवासमै पुगेर शुभकामना दिनेहरुको भीड हुन्थ्यो। तर, यस पटक कोरोनाभाइरसको महामारी र बन्दाबन्दीका कारण फोनबाटै शुभकामनाका शब्द सुनाउनुको विकल्प थिएन। केही आफन्त, संघसंस्थाका व्यक्ति र सञ्चारकर्मी भने उनको घरमै पुगेका थिए।
हामीले पनि १०१ वर्षे सक्रिय जीवनलाई शुभकामना दियौं। शताब्दी पुरुषको व्यस्तता बुझेर संक्षिप्त कुराकानी गर्यौं।
जोशीको जन्मदिनमा नजिकै रहेकी ठूली छोरी बिहानै भेट्न आएकी थिइन्। ताहाचलमा भएका जेठा छोरा, भीमफेदीमा भएकी माइली छोरी र विदेशमा भएका माइला र कान्छा छोरा र कान्छी छोरीले फोनमा शुभकामना दिए। सामान्य समयमा बुवाको जन्मदिन मनाउन पाटन आउने छोराछोरीलाई यो वर्ष कोरोनाभाइरसको जोखिमले रोक्यो।
उनीसामु आहारविहारबारेको प्रश्न थेगो जस्तै बनेर राखिने गर्छ। जसमा उनी आफू सादा जीवन र उच्च विचारमा विश्वास राख्ने र त्यसै अनुसार चल्ने जवाफ दिन्छन्। “मलाई के खाने, के लाउने भन्ने कुराले फरक पार्दैन”, उनी भन्छन्।
चिन्तन-मननको प्रक्रिया चलाइराख्नु नै बाँच्नुको अर्थ भएको उनको विश्वास छ। दीर्घ जीवनभन्दा सक्रिय र सिर्जनात्मक जीवन महत्वपूर्ण ठान्ने उनी भन्छन्, “चेतन तत्व सक्रिय भएन भने बाँच्नुको अर्थ के भयो र ! त्यसैले दीर्घ जीवनभन्दा पनि चेतनायुक्त सिर्जनात्मक जीवन बाँच्नु अर्थपूर्ण हुन्छ।”
पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका छन्।