मध्यरातमा १५ नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल छिराए
कोरोनाभाइरसको संक्रमण एक देशबाट अर्कोमा फैलन नदिन नेपाल-भारतबीच भएको सहमति विपरीत भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई नेपालतर्फ पठाउने गरेका छन्।
पछिल्लो पटक सोमबार राति भारतीय सुरक्षाकर्मीले जोगबनी नाकाबाट १५ जना युवालाई विराटनगरतर्फ छिराएका छन्। नेपाल प्रवेश गरेका झापा, मोरङ र सुनसरीका ती युवाहरुलाई रोकेर राखेको र सम्बन्धित स्थानीय सरकारहरुलाई खबर गरेर पठाउने तयारी भएको प्रहरीले बताएको छ।
सशस्त्र प्रहरीको ३ नम्बर गण हेडक्वाटर मोरङका एसपी नेत्रबहादुर कार्कीले ती युवालाई सम्बन्धित स्थानीय तहलाई खबर गरेर पठाउने पहल गरिने बताए। “उनीहरुलाई घरछेउकै क्वारेन्टिनमा पठाउने प्रयास हुँदैछ, स्थानीय सरकारहरुले नमाने मोरङकै गोठगाउँमा राखिनेछ”, उनले भने।
भारत उत्तर प्रदेशको नोएडा शहरबाट ११ दिन यात्रा गरेर सुनसरी गढी गाउँपालिकाका ६, इटहरीका २, धरानका १ र मोरङ सुन्दर हरैंचाका २ युवा जोगबनी आएका थिए। यस्तै, झापा सुरुङ्गा घर भएका ४ युवा पनि बिहारको छप्राबाट साइकलबाट तीन दिनको यात्रामा जोगबनी आएका थिए। सोमबार बेलुका जोगबनी आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले राति नेपालतर्फ प्रवेश गराएका हुन्।
नोएडाबाट दिल्ली हुँदै आएका युवाहरु बाटोमा कतै पैदल हिंडेर तथा ट्याक्टर र ट्रकमा चढेर सीमासम्म आइपुगेका हुन्। भवन निर्माणमा मजदुरी गर्ने उनीहरुले कमाएको पैसा सकिएकाले घर फर्किएको बताएका छन्। अझै ठूलो संख्यामा नेपालीहरु पैदल यात्रा गरेर घर फर्किरहेको उनीहरु बताउँछन्।
दुई दिनअघि पनि भारतीय सुरक्षाकर्मीले छाडेका युवाको समूह झापा छिरेको थियो।
नेपालतर्फ भएका भारतीय र भारततर्फ भएका नेपालीलाई त्यहीं ‘क्वारेन्टिन’ गर्ने जिल्ला तहका प्रमुख जिल्ला अधिकारीहरुबीच सहमति भएको थियो। केही दिनअघि मात्रै मोरङका प्रजिअ र भारत बिहार अररिया जिल्लाका प्रमुखबीच क्वारेन्टिनमा राख्ने र उपचारबाट घर फर्किएकालाई सीमा पार गराइदिने सहमति भएको थियो।
सहमति विपरीत भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई नेपाल प्रवेश गराए पनि नेपालतर्फ अलपत्र परेका भारतीयलाई भने आफ्नो मुलुकमा जान दिने गरेका छैनन्। सोमबार धरानको बीपी प्रतिष्ठानमा पेटको शल्यक्रिया गरेर आएका भारतीय बिरामीलाई भने भारतीय सुरक्षाकर्मीले जोगबनी नाकाबाट नेपालतर्फ नै फर्काएको थियो।