सुगौली सन्धि र जारी नक्शाहरूले भन्छ: लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो
अहिलेको विशाल भारत नै नबनेका वेला, २०४ वर्षअघि ब्रिटिश इण्डिया र नेपालबीच भएको सुगौली सन्धि र जारी नक्शाहरूका आधारमा प्रष्ट भन्न सकिन्छ–कालापानी मात्र होइन, लिपुलेक र लिम्पियाधुरा समेत नेपाली भूमि हो।
ऐतिहासिक तथ्य, प्रमाण र आधारहरूले नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुराबाट निस्किने काली नदी हो भन्ने पुष्टि गर्दछन् । तर, समयक्रममा काली नदी वरको लिपुलेक निसृत लिपु खोलालाई सीमा भनियो, अहिले त त्यसभन्दा पनि यताको सानो कृत्रिम खोल्सालाई नै नेपालको सीमा भन्दै नेपाली भूमि कालापानीमा भारतीय सेनाको फौज बसिरहेको छ । भारतले केही महिना अघि जारी राजनीतिक नक्शामा समेत आफ्नो सरहद भित्र पारेको यही नेपाली भूमी भएर चीनको मानसरोवर जाने बाटो निर्माण गरेको छ । कोरोनाभाईरसको संक्रमणविरुद्द दुवै मुलुकमा बन्दाबन्दी रहेकै अवस्थामा यही २६ बैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलादेखि लिपुलेकसम्मको लिंकराेडको उद्घाटन गरेपछी यो मुद्दा पुनः सतहमा आएको छ ।
भारत र नेपालका सीमा सम्झाैतामध्ये सुगौली सन्धि सबैभन्दा महत्वपूर्ण छ । पूर्वमा टिष्टा, पश्चिममा काँगडा र दक्षिणमा गंगा मैदानसम्म फैलिएको नेपाललाई एक तिहाइमा खुम्च्याउने त्यही सन्धि थियो । सन् १८१५ मा हस्ताक्षर भई एक वर्षपछि लागू भएको सुगौली सन्धिपछि पनि पूर्व तथा दक्षिणमा नेपालले केही भूभाग प्राप्त गरेको थियो । सन् १९२० मा शारदा ब्यारेज निर्माण गर्दा केही जमीन आदान–प्रदान भएबाहेक पश्चिमी सीमा फेरबदल भएकै छैन । यस आधारमा सुगौली सन्धिले गरेको प्रबन्धबाहेक दुई देशबीच सीमाबारे कुनै अर्को सन्धि, सम्झाैता वा समझदारी गरिएको छैन ।
सुगौली सन्धिको धारा ५ मा नेपाल र भारतबीचको सीमा प्रष्ट निर्धारण गरिएको छ, जहाँ भनिएकै छ, ‘नेपालका राजा आफ्नो, आफ्ना सन्तानको र उत्तराधिकारीहरूको काली नदीदेखि पश्चिमपट्टिको दावा परित्याग गर्दछन् र कहिल्यै पनि त्यस देशका र त्यहाँका नागरिकका बारेमा अब उप्रान्त सरोकार राख्ने छैनन् ।’ यसको अर्थ सन्धिले काली नदी नै नेपाल–भारतको सीमा भएको प्रष्ट प्रत्याभूत गरेको छ ।
सुगौलीको सत्य
सुगौली सन्धिको १०८ वर्षपछि १९२३ डिसेम्बर २१ मा नेपाल र ब्रिटिश इण्डियाबीच सम्पन्न सन्धिले पनि यो सन्धिको स्वामित्व ग्रहण गरेको थियो । सन्धिको धारा २ मा भनिएको छ, ‘यस सन्धिले खारेज गरेबाहेक १८१५ मा सम्पन्न सुगौली सन्धि र त्यसयता दुई सरकारबीच भएका पूर्व सन्धि, सम्झाैता र सहमतिहरू अनुमोदन गरिएको छ ।’
सुगौली सन्धिपछि नेपालले भारतबाट दुई पटक जमीन फिर्ता पाएको छ । २ डिसेम्बर १८१५ मा मस्यौदा भएको यो सन्धिले हरण गरे पनि ८–११ डिसेम्बर १८१६ मा इष्ट इण्डिया कम्पनी र नेपालबीचको पत्रको आदान–प्रदानले नेपाललाई राप्ती र कोशी नदीबीचको समथर भूभाग फिर्ता दिलाएको थियो । यसैगरी सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन जङ्गबहादुर राणाले सहयोग गरेबापत अंग्रेजहरू खुशी भएर १ नोभेम्बर १८६० मा नेपाल र भारतबीच काठमाडौंमा हस्ताक्षरित सन्धिले राप्ती र कालीबीचको समथर भूमि नेपाललाई फिर्ता दिलाएको थियो । तर, यो मितिसम्म पनि पश्चिमको काली नदी सीमा परिवर्तनबारे भने गाइँगुइँसम्म पाइँदैन ।
स्वाभाविक थियो, निर्जन लिम्पियाधुरा क्षेत्रमा लामो समय दुवै देशको चासो थिएन । तर, सन् १९६२ को भारत र चीनबीचको युद्धले भने एकाएक यस क्षेत्रतर्फ मानिसको ध्यान पुग्यो । कालापानीमा रहेको भारतीय सुरक्षा शिविरबारे नेपाललाई कहिले थाहा भयो भन्ने पनि सन्देहमै छ । कतिपयको भनाईमा चीनसँग पराजित भएर फर्केपछि केही भारतीय सेना कालापानीमै शिविर खडा गरेर बसेको भनिए पनि त्यसअघि नै त्यहाँ सुरक्षा फौज रहेको प्रमाण पनि फेला परेका छन् ।
जतिवेला सुगौली सन्धिमा हस्ताक्षर भयो, त्यतिवेला सम्बन्धित कुनै नक्शा संलग्न गरिएको थिएन । नेपालसँग त आफ्नो आधिकारिक नक्शा पनि थिएन । तर, सन् १८१६ देखि १८५६ सम्म प्रकाशित सबै नक्शाहरूले सुगौली सन्धिद्वारा सीमा नदीका रूपमा स्वीकार गरिएको काली नदी लिम्पियाधुराबाट शुरू भएको स्पष्टसँग स्थापित गरेका छन् ।
शाही जल सर्वेक्षक आरोन एरोस्मिथले लण्डनबाट २ जनवरी १८१६ मै प्रकाशित ‘इम्प्रुभ्ड म्याप अफ इण्डिया’ शीर्षकको नक्शामा पनि लिम्पियाधुराबाट आरम्भ हुने नदीलाई काली नदी अर्थात् ‘काली आर. वेस्टर्न ब्रान्च अफ गोग्रा और सोर्जु’ भनिएको छ भने सर्भे अफ इण्डियाले तयार पारेको क्याप्टेन एस.एस. वेब सर्भेयरको ‘स्केच अफ कुमाउ’ नक्शाले पनि लिम्पियाधुराबाट निस्किएकै नदीलाई काली नाम दिएको छ ।
त्यति मात्र होइन, ‘एक्ट अफ पार्लियामेन्ट’ अनुसार १ फेब्रुअरी १८२७ मा जेम्स हर्स्ट सर्ग, हाइड्रोग्राफर टु इष्ट इण्डियाले तयार गरेको ‘गरवाल कुमाउ’ नक्शाले लिम्पियाधुराबाट निस्किएको नदीलाई ‘काली आर.’ भनेर चिनाएको छ । एक इन्च बराबर चार माइलको स्केलमा प्रकाशित यो त्यसवेलाको सबभन्दा ठूलो आकारको नक्शा थियो ।
सर्भेयर जनरल अफ इण्डियाले २४ अप्रिल १८५६ मा ‘प्रिलिमिनरी स्केच अफ नेपाल एण्ड द कन्ट्रिज एड्जोइनिङ इन द साउथ, वेष्ट एण्ड इष्ट’ शीर्षकमा प्रकाशित नक्शाले पनि पहिलेका सरकारी प्रकाशनले झैँ काली नदीलाई प्रष्ट रूपमा स्वीकार गरेको छ । यी थुप्रै वैज्ञानिक आधार र प्रमाणबाट लिम्पियाधुरा मुहान भएको नदी नै काली नदी हो भन्नेमा कुनै द्विविधा छैन ।
याे पनि हेर्नुहाेस्– प्रधानमन्त्रीलाई ‘कालापानी परीक्षा’
याे पनि हेर्नुहाेस्– कालापानी सुल्झाउने सही बेला
नियोजित तोडमरोड
सन् १८५७ देखि १८८१ सम्मको अवधिमै सूक्ष्म तर नियोजित रूपमा काली नदीको गलत नामकरण कार्यको शुरूआत भएको पाइन्छ । सर्भे अफ इण्डियाद्वारा सन् १८६५–६९ र सन् १८७१–७७ मा सञ्चालन गरिएको नापी अनुसार प्रकाशित ‘डिस्ट्रिक्ट अल्मोरा’ नक्शामा काली नदीलाई पहिलो पटक कुटी याङ्ग्दी भनियो र सानो नदी भएका कारण त्यसअघिका नक्शाहरूमा नाम समेत उल्लेख नगरिएको लिपुलेकबाट निस्किएको सानो खोलालाई काली नदीका रूपमा उल्लेख गरिएको पाइन्छ ।
सर्भेयर जनरल अफ इण्डियाको निर्देशनमा १८७९ मा प्रकाशित एक इन्च बराबर एक माइल हुने ठूलो आकारको नक्शाले ‘डिस्ट्रिक्ट अल्मोरा’ विवरण दुरुस्तै सार्वजनिक ग¥यो । नाम परिवर्तन गरिए पनि मुख्य नदी र सहायक नदी छुट्याउने परम्परागत संकेत चिह्नहरू भने नक्शामा यथावत् रहेको पाइन्छ । नक्शामा लिम्पियाधुराबाट उत्पन्न हुने मुख्य नदीलाई दुई धर्का र लिपुलेकबाट उत्पन्न हुने सानो खोलालाई एक धर्का राखेर संकेत गरियो । सन् १८८१ मा ‘नेपाल, तिब्बत र युनाइटेड प्रोभिन्स’ शीर्षकमा सर्भेयर जनरल अफ इण्डियाबाट प्रकाशित नक्शाले लिम्पियाधुराबाट उत्पन्न हुने नदीलाई ‘कुटी आर.’ नामकरण गर्यो भने सन् १८५७ अघिका नक्शाहरूमा झैं लिपुलेकबाट उत्पन्न हुने खोलालाई कुनै नाम दिएन ।
सन् १८८२ पछि प्रकाशित नक्शाहरू थप अन्योलपूर्ण छन् । सर्भेयर जनरल अफ इण्डियाले सन् १९३०–३१ मा सन् १८७९ मै प्रकाशित नक्शाको अनुसरण गर्दै प्रकाशन गरेको नक्शामा थोरै परिवर्तन गरियो । पहिले कुटी याङ्दी भनिएको काली नदीलाई कुटी याङ्ती बनाइयो । सन् १८५० मा भारतद्वारा प्रकाशित नक्शामा उद्देश्यमूलक रूपमा लिम्पियाधुरा र लिपुलेकबाट निस्किने नदीहरूको कुनै नाम दिइएन । १८५६ मा सर्भेयर जनरल अफ इण्डियाद्वारा प्रकाशित नक्शामा अन्तर्राष्ट्रिय सीमा लिम्पियाधुराबाट निस्किने कालीको साटो लिपु खोलामा सारियो । यद्यपि लिम्पियाधुराबाट निस्किने नदीलाई ‘काली नदी’ नै उल्लेख गरिएको थियो । ‘सर्भे अफ इण्डिया’ द्वारा प्रकाशित ‘डिस्ट्रिक्ट अल्मोरा’ नक्शाले भने सीमालाई लिपु खोलाभन्दा पनि पूर्वतर्फ पांखागाड खोलामा सा¥यो । १८७९ मा सर्भेयर जनरल अफ इण्डियाद्वारा प्रकाशित नक्शाले पनि यसैलाई पछ्यायो ।
१८५० सम्म प्रकाशित नक्शाहरूले सुगौली सन्धिकै अनुसरण गरेका थिए । वेस्टर्न प्रोभिन्स अफ हिन्दुस्तान– १८३०, इण्डिया एक्सआईआई–१८३५, जे.बी. ट्यासन म्याप–१८३७, द एट्लास अफ इण्डिया– १८४६ ले नेपालको भारतसँगको पश्चिमी सिमाना काली नदी हो र त्यो लिम्पियाधुराबाट निस्किन्छ भन्ने कुरा उल्लेख गरेका छन् ।
के हो कालापानी ?
वास्तविकता के हो भने, सन् १९६० को दशकमा भारतीय सैनिक बसेपछि मात्र कालापानीको नाम सुनिन थालेको हो । कालापानी लिपु खोलाको पूर्वमा छ । तर, सर्भे अफ इण्डियाको सन् १८५६ को नक्शाले कालापानीलाई लिपु खोलाको पश्चिमतर्फ देखाउँछ । ‘डिस्ट्रिक्ट अल्मोरा’ नक्शाले चाहिं कालापानीलाई लिपु खोलाको पूर्वतर्फ नै देखाउँछ ।
खासमा कालापानी हाम्रो मूल मुद्दा होइन । मुद्दा त समग्र सीमा निर्धारण हो । त्यसकारण ‘कालापानीबाट भारतीय सेना फिर्ता पठाउने’ भन्नु अघि सीमा नदी निर्धारण गर्नुपर्छ । त्यसपछि भारतीय सेना फिर्ता नगई सुखै छैन।
नेपालले दुई देशबीचको सीमा निर्धारण सम्बन्धी संयुक्त समितिमा कहिल्यै पनि नेपाली जमीनमाथिको हक छाडेको छैन । नेपाल सरकारले १९५४ र १९६१ मा गुञ्जी, नावी, कुटी, तिंकर र छाँगरु गाउँमा निर्वाध जनगणना गराएको थियो । त्यसका अभिलेख सुरक्षित त छ नै, जनगणनामा संलग्न व्यक्ति समेत साक्षी छन् । हाल भारतीय नक्शामा पारिएका दार्चुलाका छाँगरु, तिंकर र गुञ्जीका बासिन्दाले सुगौली सन्धिपछि व्यास क्षेत्रका ती बासिन्दाले बैतडी माललाई तिरो–तिरान तिरेका अभिलेख छन् ।
सन्धि र नक्शासँगै अन्य प्रमाण पनि छन् । भारत सरकारका कार्यवाहक मुख्य सचिव जे. एडम्सले काठमाडौंस्थित बेलायती रेजिडेन्ट एडवार्ड गार्डनरलाई ४ फेब्रुअरी १८१७ मा लेखेको पत्रमा काली पूर्वको भू–भाग नेपालको भएको उल्लेख गर्दै ती सबै भू–भाग नेपाल सरकारलाई सुम्पिन कुमाउका कार्यवाहक कमिसनरलाई निर्देशन दिने बताएका छन् । २२ मार्च १८१७ मा कुमाउका कार्यवाहक कमिसनर जी.डब्लु. ट्रलकोे पत्रमा ‘काली नदी पूर्वका सबै जमीन’ नेपालको भएको प्रष्ट उल्लेख छ । यसले पनि लिपु खोला पूर्वको कुनै पनि भू–भागमा भारतको दावी अस्वीकार गर्दछ । त्यसैले एकपक्षीय रूपमा भारतले प्रकाशित गरेका नक्शा, दावी सरासर अनधिकृत र असत्य पुष्टि हुन्छ ।
अर्को सत्य पनि के हो भने, नेपालले दुई देशबीचको सीमा निर्धारण सम्बन्धी संयुक्त समितिमा कहिल्यै पनि नेपाली जमीनमाथिको हक छाडेको छैन । नेपाल सरकारले १९५४ र १९६१ मा गुञ्जी, नावी, कुटी, तिंकर र छाँगरु गाउँमा निर्वाध जनगणना गराएको थियो । त्यसका अभिलेख अहिलेसम्म सुरक्षित मात्र छैनन्, गणनामा संलग्न व्यक्ति समेत साक्षी छन् । हाल भारतीय नक्शामा पारिएका दार्चुलाका छाँगरु, तिंकर र गुञ्जीका बासिन्दाले जग्गाको तिरो तिरेका प्रमाणहरू नेपालसँग सुरक्षित छन् । सुगौली सन्धिपछि व्यास क्षेत्रका ती बासिन्दाले बैतडी माललाई तिरो–तिरान तिरेका अभिलेख छन् ।
कुन नदी प्रमुख र कुन सहायक हो भन्ने छुट्याउनका लागि विश्वव्यापी रूपमा तीन वटा मापदण्ड लिइन्छ– नदीको लम्बाइ, पानीको मात्रा र गहिराइ । यी आधारमा पनि लिम्पियाधुराबाट निस्केको नदी नै काली हो र यही नै नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा हो भन्ने सहजै पुष्टि हुन्छ ।
नेपालका चार गल्ती
नेपाली भूमिमा अतिक्रमण गर्नुमा भारतीय रणनीतिक स्वार्थ प्रष्ट देखिन्छ । नदीको दुवैतर्फ ब्रिटिश इण्डियाको नियन्त्रण भएपछि उत्तर–दक्षिण आवतजावतमा रोकतोक हुने भएन । अर्कोचाहिं, २० हजार २७६ फिटको त्यो उँचाइबाट तिब्बती प्लेटो मजाले हेर्न सकिने भयो । स्वतन्त्र भारतले पनि त्यही अवैध र एकपक्षीय नक्शा पछ्यायो । अपवादका रूपमा १९०५ मा काठमाडौंस्थित ब्रिटिश रेजिडेन्सीले प्रकाशित गरेको नक्शामा चाहिं लिपु खोलालाई सीमा नदी उल्लेख गरिएको छ ।
राजा महेन्द्रकाे निर्देशनमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले १९६९ मा नेपालका उत्तरी सीमामा रहेका १८ वटा भारतीय सैनिक चेकपोष्ट हटाउँदा कालापानी भने छोएनन्। बिष्टले त्यतिवेला आफूलाई कालापानीमा पनि भारतीय सेना रहेको थाहा नभएको बताए पनि राजा महेन्द्रले भारतसँग कुनै फाइदाका लागि लचिलो त बनेनन् भन्ने संशय पनि कायम छ ।
काली नदीलाई सीमा निर्धारणको सन्दर्भमा नेपालबाट भिन्न कालखण्डमा चारवटा ठूला गल्ती भएका छन्ः
पहिलो, राजा महेन्द्र चतुर र रणनीतिक राजनीतिज्ञ थिए भन्नेमा शंका छैन । उनकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले १९६९ मा नेपालका उत्तरी सीमामा रहेका १८ वटा भारतीय सैनिक चेकपोष्ट हटाउँदा कालापानी भने छोएनन् । बिष्टले त्यतिवेला आफूलाई कालापानीमा पनि भारतीय सेना रहेको थाहा नभएको बताए पनि राजा महेन्द्रले भारतसँग कुनै फाइदाका लागि लचिलो त बनेनन् भन्ने संशय पनि कायम छ । तर, यतिकै आधारमा ‘महेन्द्रले कालापानी भारतलाई बेचे’ भनेर आरोपित गर्नु नेपाली राष्ट्रवाद कमजोर तुल्याउनु मात्र हुनेछ ।
दोस्रो, नेपाल सरकार स्वयंले पहिलो पटक १९७५ मा प्रकाशन गरेको नक्शा । नक्शामा भारतसँगको सीमा लिम्पियाधुराबाट नभई लिपुलेखबाट निःसृत लिपु खोला बनाइएको थियो ।
वीरेन्द्र भर्खरै राजा भएको र उनका नातेदार अर्जुन बस्नेत नापी विभागको निर्देशक रहेको वेला भारतको देहरादुनमा रहेको भारतीय पहाडी नक्शा मुख्यालयमा यो नक्शा तयार पारिएको बताइन्छ । यो नेपालका तर्फबाट कागजी रूपमा गरिएको ठूलो कमजोरी हो ।
तेस्रो, १९७९ मा चीनसँग जारी सीमा नक्शामा पनि लिपु लेकबाट निस्किएको खोलालाई नै अन्तर्राष्ट्रिय सीमाका रूपमा उल्लेख गरिएको छ । यो नक्शामा पनि नेपालले भूल सुधारको अवसर गुमाएको थियो ।
प्रशस्त प्रमाण, वैज्ञानिक, आर्थिक र सामाजिक तथ्य तथ्याङ्कले पनि कालापानी मात्र होइन, लिम्पियाधुरासम्म नै नेपालको दावी हुनुपर्छ । र, यसलाई स्थापित गर्न होहल्ला होइन, गतिलो कूटनीति र वैधानिक बाटो रोज्नुको विकल्प छैन ।
चौथो, नेपालले जनगणना गरेका, तिरो असुल गरेका र इस्तिहार समेत जारी भएका नेपाली गाउँबारे लामो समयदेखि सरकार बेखबर छ । हाल अतिक्रमित भूभागमा पर्ने गुञ्जी, नावी र कुटीका स्थानीयसँग नेपाली हुनुको प्रमाण छन्/छैनन् ? उनीहरूको अवस्था कस्तो छ ? स्थानीयलाई धपाएर अन्यत्रैबाट मानिस ल्याएर त राखिएको छैन ? यस्ता अहम् प्रश्नमा नेपालले ध्यान दिनसकेको छैन ।
यी प्रशस्त प्रमाण, वैज्ञानिक, आर्थिक र सामाजिक तथ्य तथ्याङ्कले पनि कालापानी मात्र होइन, लिम्पियाधुरासम्म नै नेपालको दावी हुनुपर्छ । र, यसलाई स्थापित गर्न होहल्ला होइन, गतिलो कूटनीति र वैधानिक बाटो रोज्नुको विकल्प छैन ।
लिम्पियाधुराबाट निस्केको नदी नै काली नदी भएको पुष्टि गर्ने नक्शाहरू
१. वेस्टर्न प्रोभिन्स अफ हिन्दुस्तान (कन्स्ट्रक्टेड फ्रम द रिसेन्ट सर्भे), १८३०, पार्बुरी अलेन एण्ड को., लण्डन ।
२. मर्डर–इण्डियन वर्डडास इण्डो–ब्रिटिश रिच, १८३४, स्टेलर्स ह्याण्ड एट्लास, जर्मनी ।
३. इण्डिया एक्सआईआई, इण्डेक्स म्याप, १८३५, बाल्डविन एण्ड क््रयाडक, ४७ पुक्रुस्टर रो, लण्डन ।
४. जे.बी. टासिन, एङ्ग्लो एशियन म्याप, १८३७, कलकत्ता ।
५. म्याप अफ इण्डिया (ड्रन एन्ड इन्ग्रेभ्डः जे.सी. वाल्कर), १८४१, जोन मुरे अल्बर्मेल स्ट्रिट, लण्डन ।
६. द एट्लास अफ इण्डिया, प्लेट टेन एण्ड इलेभेन, १८४६, चार्ल्स नाइट एण्ड को. २२ लुडगेट्स स्ट्रिट, लण्डन ।
लिम्पियाधुराबाट निस्केका नदीलाई काली नदी पुष्टि गर्ने दस्तावेजहरू
१. नेपाल र इष्ट इण्डिया कम्पनीबीच ८–११ डिसेम्बर १८६० मा आदान–प्रदान भएको पत्र ।
२. नेपाल र भारत सरकारबीच १ नोभेम्बर १८६० मा काठमाडौंमा सम्पन्न सन्धि ।
३. नेपाल र बेलायतबीच २१ डिसेम्बर १९२३ मा सम्पन्न मैत्री सन्धि ।
४. नेपाल र इष्ट इण्डिया कम्पनीबीच २ डिसेम्बर १८१५ मा सम्पन्न शान्ति सन्धि (सुगौली)
५. भारत सरकारका कार्यवाहक मुख्य सचिव जे.एडम्सले कुमाउका कार्यवाहक कमिसनर जी. डब्लु. टेल इस्कलाई ४ फेब्रुअरी १८१७ मा लेखेको पत्र ।
६. भारत सरकारका कार्यवाहक मुख्य सचिव जे. एडम्सले काठमाडौंस्थित ब्रिटिश रेजिडेन्ट एडवार्ड गार्डनरलाई २२ मार्च १८१७ मा लेखेको पत्र ।
याे पनि हेर्नुहाेस्– बल्झिरहने कालापानी