सुरजपुरा काण्डः मुश्किलले बाँचेका थिए गिरिजाप्रसाद काेइराला र शेरबहादुर देउवा
साढे तीन दशकअघि रुपन्देहीको सुरजपुरामा नेपाली कांग्रेसको कार्यक्रममा सरकारद्वारा संरक्षित जत्थाले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए। घटनामा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायतका कांग्रेसका नेताहरू भने मुश्किलले जोगिएका थिए।
२० फागुन २०४० को दिन रुपन्देहीका नेपाली कांग्रेसका नेता–कार्यकर्तामा बेग्लै उत्साह थियो। किनकि, प्रजातन्त्र प्राप्तिको लागि कार्यकर्ता प्रशिक्षणका लागि देशव्यापी दौडाहामा निस्किएका कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहित अगुवा नेताहरू रुपन्देही आउँदै थिए।
तर केन्द्रीय नेतासँगको भेटभन्दा पनि अकल्पनीय घटनाका कारण त्यो समयलाई कांग्रेसका पुराना नेताहरू बिर्सिन सक्दैनन्। कांग्रेसको इतिहासमा सुरजपुरा काण्डको नामले चर्चित उक्त घटनाका प्रत्यक्षदर्शी पर्शुराम गिरिका अनुसार गिरिजाप्रसादसँग सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शैलजा आचार्य सहितका नेताहरू आएका थिए।
निजी गाडीमा काठमाडौंबाट हिंडेका गिरिजाप्रसादको गाडी नवलपरासीको गैंडाकोटमा बिग्रियो। गाडी त्यहीं छोडेर कोइरालासहितका कांग्रेस नेताहरू मिनीबस चढेर दिउँसो १ बजे रुपन्देहीको खैरेनी आइपुगे।
सुरजपुरा घटनामा मारिएका यादवनाथ आलोक बायाँ, र घाइते मुन्नु केवट ।
पञ्चायती शासनको त्यो वेला दलमाथि प्रतिबन्ध लगाइएका कारण खुला रूपमा दलीय कार्यक्रम गर्न छूट थिएन। कार्यक्रमको लागि अन्यत्र सुरक्षित स्थान नपाएपछि तत्कालीन कांग्रेस रुपन्देहीका सभापति पुष्पानन्द गिरिले हालको देवदह नगरपालिका–३ स्थित सुरजपुरामा रहेको आफ्नै घरको परिसरमा कार्यक्रम राखे।
पुष्पानन्दका छोरो पर्शुराम गिरि सम्झिन्छन्, “हामी कोइरालासहितका कांग्रेस नेताहरूलाई लिन गोरुगाडा लिएर खैरेनी पुगेका थियौं, तर गिरिजाप्रसाद कोइराला गाडामा चढ्न मान्नुभएन।”
गिरिका अनुसार, खैरेनीदेखि ५ किमि दक्षिणमा पर्ने सुरजपुरासम्म कोइराला हिंडेरै पुगे। उनी पुगेको १५ मिनेट जति भएको थियो, गाउँमा कालो झण्डा बोकेर मानिसहरु आइरहेका छन् भनेर हल्ला चल्यो।
“कालो झण्डा भन्ने सुनेपछि बुवा (पुष्पानन्द गिरि) र गिरिजाप्रसादले विरोधीहरू आएका बुझ्नुभयो,” गिरि भन्छन्, “कार्यक्रमको स्वरूप छोट्याउँदै कोइराला मात्र बोल्ने र छिटो कार्यक्रम टुंग्याउने निर्णय भयो।”
तर, कोइरालाले बोल्न शुरू मात्र के गरेका थिए, भीड कार्यक्रम स्थलमै आइपुग्यो। त्यहाँ उपस्थित पर्शुराम गिरि जस्ता युवाहरू विरोधी समूहको प्रतिरोध गर्ने सोचमा थिए। त्यतिवेला ३५ वर्षका उनीसहित केही युवाले प्रतिरोधको प्रस्ताव नेताहरुसँग राखेका पनि थिए। तर, कोइरालाले हामी भिड्ने होइन, शान्तिपूर्ण रुपमा प्रजातन्त्र मागेको हो भनेर अनुमति नदिएको गिरि बताउँछन्।
भीडले कार्यक्रम बिथोलेपछि कोइरालाले बोल्न पाएनन्। हातमा बाँसका भाला, खुकुरी, बञ्चरोसहित आएको जत्थाले आक्रमण शुरू गरे। कार्यक्रम स्थलमा भागाभाग भयो। कम्पाउण्डभित्र पुष्पानन्दका तीन वटा घर थिए। नेता र केही कार्यकर्ता घरभित्र पसे। गिरिका अनुसार, पहिला घरको पर्खाल बाहिरबाट ढुंगामुढा प्रहार गरेका आक्रमणकारीहरूले पछि भित्रै पसेर आक्रमण गर्न थाले।
केन्द्रीय नेता र अगुवा कार्यकर्तालाई जोगाउन घरभित्र लगियो। घरभित्र लैजाने क्रममा आक्रमणकारीले हानेको इँटा शेरबहादुर देउवाको ओठमाथि लाग्यो। देउवाको ओठमाथि अहिले देखिने खत सुरजपुरा घटनाकै निशाना भएको गिरि बताउँछन्।
कार्यक्रममा आक्रमण गर्दै सरकार संरक्षित जत्था ।
उक्त जत्थाले बञ्चरोले हानेर ढोका फोडे। भुइँतलामा भएका कार्यकर्तामाथि आक्रमण गरे। पुष्पानन्दले नेताहरुलाई बचाउन तेस्रो तलामा पुर्याए, र घोप्टे (भर्याङको मुखमा घोप्टो पारेर लगाइने काठको ढोका) लगाए।
तर, जत्थाका आक्रमणकारीले त्यहाँ पनि छोडेनन्। बञ्चरोले घोप्टेमा हाने। फोड्न भने सकेनन्। त्यसपछि कपडा जम्मा गरेर आगो लगाउने प्रयास गरे। धन्न, काठले आगो टिपेन।
त्यसवेला कोइरालासँगै उपल्लो तलामा रहेका गिरि त्यो दिन सम्झिन्छन्, “बाँच्न लेखेको रहेछ र काठले आगो टिपेन। नत्र त हामी सबै एकै ठाउँमा सकिन्थ्यौं।”
गिरिका भनाइमा त्यो जत्था तत्कालीन सरकारद्वारा संरक्षित थियो, जसका नेतृत्वकर्ता दीपक बोहोरा थिए।
उक्त जत्थाले त्यहाँ दुई घण्टासम्म बितण्डा मच्चायो। घरमा भएका सबै चिजबिज लुटपाट भएको गिरि सुनाउँछन्। “भकारीका धान, गहुँ आगो लगाएर नष्ट बनाए। कपडा, गरगहना लुटे। हामीसँग त लगाएको कपडा मात्र बचेको थियो”, उनी भन्छन्।
आक्रमणबाट क्षतिग्रस्त घर ।
घटनास्थल सुरजपुरामा नेपाली काग्रेसद्वारा आयोजित कार्यक्रम ।
उक्त जत्थाको आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भएको थियो। २ सय ७० जना घाइते भएका थिए। आलोकलाई भाग्ने क्रममा जत्थाले नियन्त्रणमा लिएर खुकुरी र भाला प्रहार गरेर मारेको गिरि बताउँछन्। चौधरीको उपचारका क्रममा ९ दिनपछि मुत्यु भएको थियो।
दुई घण्टापछि नेताहरू घरबाट तल भरे। घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइयो।
उक्त घटनामा शैलजाको साहस देखेका गिरि त्यसको प्रशंसा गर्छन्। २६ वैशाखमा कुराकानीका लागि गिरिको निवास पुग्दा संयोगले शैलजाको स्मृति दिवस थियो। २०६० सालसम्म कांग्रेस रुपन्देहीको उपसभापति रहेका गिरि अघिल्तिर शैलजाको तस्वीर राखेर त्यही घटना सम्झिंदै थिए।
“शैलजाले आफूले लगाएको साडी च्यातेर घाइतेहरूको घाउमा पट्टी बाँध्नुभएको थियो। अन्य नेताहरू घटनापछि हिंडे पनि उहाँले भने साँझसम्म बसेर घरपरिवारलाई सम्झाउनुभएको थियो”, उनले भने।
सुरजपुरा काण्डपछि महामन्त्री कोइरालाले देश दौडाहा कार्यक्रम स्थगित गरेका थिए।
गिरिका अनुसार, घटनाको एक महीनापछि तत्कालीन गृहसचिव घटनास्थल आएका थिए। उनलाई गृहसचिवको नाम भने याद छैन। तिनले राजा वीरेन्द्रको तर्फबाट पुष्पानन्द गिरिसँग क्षतिपूर्ति दिने प्रस्ताव गरेका थिए। तर, पुष्पानन्दको जवाफले क्षतिपूर्ति कुरा नै रोकियो।
पर्शुराम गिरि गृहसचिवसामु पिताले भनेका कुरा उद्धृत गर्दै सुनाउँछन्, “क्षतिपूर्ति दिने हो भने मेरा दुई जना साथी दिनुस्, अनि प्रजातन्त्र दिनुस्। मलाई अरु चाहिंदैन।”
नेपाली कांग्रेसको इतिहासमा सुरजपुरा काण्ड विषेश घटना हो । उक्त ऐतिहासिक घरमा नेपाली कांग्रेसका कार्यकर्ता पुग्ने गर्दछन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला सहित कांग्रेस कार्यकर्ता ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलका साथ गिरि परिवार । यो घरलाई संग्रालय बनाउने काँग्रेसको योजना छ ।