पेरिसको पत्रः आफू र प्रियजनको ख्याल गर्नुहोला
केही दिन अगाडि एउटा नयाँ इमेल आएको रहेछ, वेलकम होटेल पेरिसबाट । म गत जुलाईमा उक्त होटेलको पाहुना भएर केही दिन बसेकी थिएँ ।
पहिला पनि यो होटेलले नयाँ वर्षको शुभकामना पठाएको थियो । र, मैले पनि जवाफ पठाएकी थिएँ । अहिले फेरि दोस्रो इमेल पाएँ । शायद, आफ्ना पुराना पाहुनालाई कोरोनाभाइरसको महामारीमा ‘घरभित्र बस्नू, सुरक्षित बस्नू’ भनी पठाएका होलान् भन्ने सोचें ।
पत्र फ्रान्सेली भाषामा लेखिएको थियो । तर, अंग्रेजीमा पनि हेर्न मिल्ने थियो । पढ्दै गएँ, मनमा अनेक तरङ्ग फैलियो । एउटा होटेलले आफ्ना पुराना पाहुनालाई पठाएको पत्र कलात्मक र मन छुने छ । हरेक शब्दमा आत्मीयताको मिठासले भरिपूर्ण । विश्व नै आक्रान्त भइरहेको अवस्थामा सकारात्मक सोचले मृत्युलाई पनि जीवन दिने खालको पत्र थियो ।
सबैभन्दा प्यारो अतिथि,
हामी सबै कठिन समयमा हिंडिरहेका छौं । तपाईंको न्यानो शब्द र विश्वासप्रति धन्यवाद दिन चाहन्छौं । हामीलाई तपाईं लगायत तपाईंको परिवारका सबै कुशल हुनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।
हामी बन्दाबन्दीमा छौं । हामी सबै घरभित्र सुरक्षित छौं । एरिकले तपाईंसँग बाँड्न मिल्ने जानकारीबारे सोच्दैछन् । कोएर्टले अंग्रेजी, फ्रेन्च, स्पेनिश, जर्मन, डचपछि अर्को नयाँ पेरिसका भाषा सिकिरहेका छन् । वेलकम होटेलमा फेरि तपाईंलाई देख्न पाउनु हाम्रा लागि सबैभन्दा ठूलो प्रेरणा हुनेछ । तपाईंको लागि बिहानीको खाजा पस्किनु, तपाईंबाट दिनभरिकोे पेरिसको कथा सुन्न पाउनु, होटेलको ढोकामा तपाईंको मधुर मुस्कान देख्न पाउनु । हामीले काम गर्नुको मुख्य कारण नै तपाईं हो । हामी तपाईंलाई फेरि पनि स्वागत गर्नका लागि सम्पूर्ण रुपमा तयार छौं ।
जब हाम्रो मनमा शान्ति फर्किएर आउँछ तब जीवन विभिन्न रङ्गले भरिभराउ हुन्छ । हामी तपाईंलाई पेरिसमा भेट्नेछौं । पेरिस उज्यालोको शहर, प्रेमको शहर, कला र साहित्यको पनि... हामी पेरिसलाई प्रेम गर्छौं । तर, हामी तपाईंको आँखामा देखिने त्यो प्रेमलाई अझ प्रेम गर्छौं । लुभ्रको पिरामिड, परशियन बगैंचा, क्याफे, टेरेसका विशेष हरिया कुर्सीहरु ती सबै तपाईंलाई भेट्नका लागि छट्पटिइरहेका छन् । पेरिस सधैं पेरिस रहन्छ र हामी सधैं तपाईंको साथ अद्भूत याद बनाउनका लागि त्यहाँ हुन्छौं । वेलकम होटेलमा फेरि तपाईंलाई स्वागत गर्ने मिठो सोचमा धेरै खुशी छौं । हामीलाई तपाईंको सम्झना आइरहन्छ ।
यसको लागि हामी तयार छौं । आफू र आफ्ना प्रियजनको ख्याल गर्नुहोला ।
तपाईंको
वेलकम होटेल
पेरिसलाई पनि आफ्ना प्रियजनको ख्याल गर्न मेरो आग्रह छ । कोरोनाको महामारी संसारभरि छ । अधिकांश देश बन्दाबन्दीमा छन् । नेपालबाट सुनाउनुपर्ने खबर बाँकी विश्वको जस्तै छ ।
नेपालमा पनि स्वास्थ्य, संचार र सुरक्षा जस्ता अत्यावश्यक सेवाहरु मात्र संचालनमा छन् । शिक्षा, उद्योग, होटेल, यातायात, शिक्षा, निर्माण, मनोरञ्जनका सेवाहरु सबै ठप्प छन् । खाद्यान्न, औषधिका पसलहरु आंशिक रुपमा मात्र खुलेका छन् ।
यसरी महीनौं दिन बन्दाबन्दीमा घरभित्र बस्दा धेरैजसो मानिसमा तनाव सृजना भएको छ । घरभित्र थुनिएको महशुस गरेका छन् ।
कोही भने बन्दाबन्दीलाई आत्मसात गर्दै आफ्ना रुचिलाई सृजनाको पालिस लगाउन थालेका छन् । कतिपयले घरबाट कार्यालयका काम गरिरहेका छन् । कतिपय कामका लागि कार्यालय नै पुग्छन् ।
यही अवस्थामा संगठित तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुको अवस्था नाजुक छ र पछि अवस्था झन भयावह बन्ने स्थिति नआउला भन्न सकिन्न । बन्दाबन्दीले गर्दा होटेल, यातायात, उद्योग, निर्माण कार्य, पर्यटन, मनोरञ्जन आदि क्षेत्रमा कार्यरत कतिपय व्यक्तिको रोजगार गुमिसकेको छ । कोरोनाको महामारीका कारण ती क्षेत्र आफै नै नाजुक अवस्थामा छन् । जसका कारण नेपालकै अर्थतन्त्रमा नराम्रो धक्का लाग्नेछ ।
यी समस्या नेपालका मात्र होइनन् । विश्व नै चपेटामा छ । त्यसकारण विकसित देशहरु विस्तारै आफ्नो पुरानो लयमा फर्किन जमर्को गरिरहेका छन् । कतिपय देशहरुले बन्दाबन्दीलाई खुकुलो पार्दैछन् ।
यी विकसित राष्ट्रहरुको तुलनामा हाम्रो देशको परिस्थिति अलि बेग्लै छ । यूरोप र अमेरिका जस्तो कोरोना महामारीको भयावह स्थिति देखिएको छैन । फाट्टफुट्ट रुपमा संक्रमितको संख्या केही दिनयता अलि बढी देखिएको छ । निको भएर घर फर्किनेको संख्या पनि छ । यसलाई सकारात्मक नै भन्नुपर्छ ।
तर, कोरोना सन्त्रास र बन्दाबन्दीको परिबन्दले विश्वको अर्थतन्त्रलाई धरापमा पारेको छ । अब के हुन्छ भन्ने अन्योलको बादलले झ्याप्प ढाकेको छ । म पनि यसबाट अछुतो छैन । उकुसमुकुस भइरहेको छ । यही उकुसमुकुसमा पेरिसबाट आएको इमेलले आशाको किरण देखाए झैं लाग्यो । अलिकति भए पनि ऊर्जा थपिएको महसुस भयो ।
फ्रान्स कोरोनाको कहरले बेस्सरी गाँजिएको देशमध्ये एक हो । आफ्ना हजारौं नागरिकलाई गुमाउँदै गरेको देश हो । २८ जनवरीमा पेरिसमा एकजना चिनियाँ पर्यटकमा पहिलो संक्रमण देखिएको थियो । ती व्यक्तिको १४ फरवरीमा पेरिसमै मृत्यु भयो । त्यसपछि लगत्तै १६ मार्चदेखि बन्दाबन्दी गरिएको थियो । हाल मृत्युदरमा कमी आएसँगै बन्दाबन्दी केही खुकुलो पारिने संकेत देखिएको छ।
फ्रान्सका नागरिक अहिले आशावादी देखिएको कुरा यो पत्रबाट महशुस गरें । कोरोनाले आक्रान्त पारेका अन्य यूरोपेली मुलुकका जनता पनि जीवनप्रति आशावादी छन् । जीवनलाई उज्यालोतिर डोहोर्याउन लागीपरेका छन् । उनीहरुको दाँजोमा हाम्रो देशमा धेरै गर्नुपर्ने छ । हामीले सावधानी र सतर्कता अपनायौं भने हामीमाथि लागेको बादल चाँडै नै हटेर जान्छ ।
हामी नेपाली अतिथि सत्कारमा सधैं अगाडि छौं । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हाम्रा पूर्खाले हस्तान्तरण गरेको रीतिरिवाज, संस्कृति, सम्पदा हाम्रा धरोहर हुन् । हाम्रो धर्ती उर्वर छ । हामी पौरखमा रमाउँछौं । जति नै पीडा भए पनि मुस्कानका साथ अगाडि बढ्छौं भन्ने उदाहरण हामीसँग प्रशस्त छ । हामी पनि पेरिसको इमेलमा भनिए जस्तै जीवनमा विभिन्न रङ्गले रङ्गाऔं । सपनालाई विपनामा परिणत गर्न अघि सरौं ।